 
																						१९ साउन, काठमाडौं । एसिड पीडितहरूले पीडकलाई कारवाही गर्ने कानून फितलो हुँदा नै पटक पटक एसिड आक्रमणका घट्ना हुने गरेको बताएका छन् । एसिड हान्नेलाई कडा कानूनी कारवाही नगरेसम्म यस्तो अपराध नरोकिने उनीहरूको धारणा छ ।
गतवर्ष वीरगन्जमा एसिड आक्रमणमा परेकी मुस्कान खातुनले आफुलाई एसिड छ्याप्ने व्यक्ति तीन–चार महिनामै जेलबाट बाहिर निस्किएको भन्दै त्यसरी घुम्न नदिन माग गरिन् ।
सोमबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको बैठकमा खातुनले भनिन्, ‘कोरोनाको कारण अपराधी बाहिर निस्किएको छ । त्यो कोरोनाभन्दा ठूलो भाइरस हो ।’
पढ्न जाँदा आक्रमणमा परेकी खातुन अपराधीले मुख जलाए पनि सपना जलाउन नसकेको बताउँछिन् । उनी भन्छिन्, ‘तर त्यो सपना पूरा गर्न तपाईहरूको हौसला र सहयोग चाहिन्छ ।’
खातुनले खर्च अभावमा आफ्नो राम्रो उपचार हुन नसकेको बताइन् । ‘पैसा नभएर अपरेसन गर्न सकेकी छैन, औषधि पनि डाक्टरले दैनिक ४÷५ पटक लगाउनुपर्छ भनेका छन् तर, पैसा नभएर एकपटक मात्रै लगाउने गरेकी छु ।’
महिला तथा सामाजिक समितिको बैठकमा उपस्थित अर्की एसिड पीडित जेनी खड्काले अप्रेसन गर्दा लिएको ऋण तिर्न सकेकी छैनन् । उपचार खर्च तिर्न नसक्दा आफू १५ दिन बढी अस्पतालमा बस्नु परेको तीतो अनुभव सुनाइन् ।
कमजोर दण्ड सजायका कारण बारम्बार एसिड आक्रमण हुने गरेको खड्काको बुझाइ छ । उनी भन्छिन्, ‘अरुको जीवन बर्बाद पार्नेहरुलाई जन्मकैदले पुग्दैन । उनीहरुलाई पनि एसिड नै हान्नुपर्छ ।’
अनुहारमा एसिड लागेपछि निजी क्षेत्रमा रोजगारी नपाइने भएकाले सरकारी जागिरको व्यवस्था गर्नुपर्ने खड्को माग छ ।
कक्षा १० मा पढ्दापढ्दै एसिड आक्रमण परेकी संगीता थापा मगरले पनि कानुन बलियो नहुँदा यस्तो घटना दोहोरिरहेको बताइन् । ‘कानुन बलियो बनाइदिएको भए मुस्कान खातुन, जेनी खड्का, पवित्रा कार्कीमाथि आक्रमण हुने थिएन । देशको कानुन बलियो छैन मैले जे गर्दा पनि हुन्छ भन्ने परेको छ ।’
एसिड हान्नेलाई जन्मकैदको माग
विद्यमान कानुनअनुसार अनुहार नै कुरुप हुने गरी कसैले एसिड आक्रमण गरेको रहेछ भने ५ देखि ८ वर्षसम्म जेल सजाय हुन्छ । अनुहार कुरुप भएको रहेनछ र अन्य भागमा एसिड आक्रमण गरेको रहेछ भने ३ वर्षदेखि देखि ५ वर्षसम्म कैद सजायको व्यवस्था छ ।
यसलाई बढाएर कम्तीमा जन्मकैद हुने गरी कानुनी व्यवस्था गर्नुपर्नेमा सांसदहरूको जोड छ । कानुन समिति सदस्य समेत रहेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले भने, ‘एसिड हान्नेलाई गरिने सजाय समयाअनुकुल छैन । यससम्बन्धी छुट्टै ऐन ल्याउनुपर्छ ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले पनि समयाअनुकुल हुनेगरी कानुनी व्यवस्था हुनुपर्नेमा जोड दिए । कानूनसँग सँगै एसिडलाई सर्वसाधारणको पहुँचबाट टाढा राख्नुपर्ने बताए ।
उत्पादन गर्ने, बिक्री–वितरण गर्नेले लाइसेन्स लिनुपर्ने र किन्नेले कारण खुलाएर परिचयपत्रका आधारमा अभिलेख रहने गरी मात्रै लिन सक्ने गरी कानुनी व्यवस्था गर्न सक्दा यस्ता घटना कम भएर जाने उनको भनाइ छ ।
यसैगरी, महिला समिति सदस्यहरुले पनि एसिड आक्रमणकारीलाई हदैसम्मको सजाय माग गरेका छन् ।
महिला समिति सदस्य एवं नेकपा सांसद खेमप्रसाद लोहनीले आगोको बदला आगो भनेझैँ एक लिटर एसिड हान्नेको टाउकोबाट दुई लिटर एसिड खन्याउनु मानव अधिकार विपरीत हुने भएकाले कम्तीमा जन्मकैद हुनुपर्ने धारणा राखे ।
नेकपाकै सांसद कृष्ण राईले एसिड हान्नेलाई एसिड नै छ्याप्ने सजाय दिने भन्ने संभव नरहेको बताए ।
नातेदारबाटै आक्रमण
गृह मन्त्रालयका अनुसार नेपालमा २० वटा एसिड आक्रमणका घटना भएका छन् । जसबाट १८ जना महिला र दुई जना पुरुष पीडित छन् ।
यसमा नातेदारबाट एसिड आक्रमणमा पर्नेको संख्या उच्च रहेको प्रहरी महानिरीक्षक शैलेश थापाले बताए ।
उनका अनुसार परिवारका सदस्य, आफन्त र नजिकका नातेदारबाट एसिड आक्रमण हुने गरेको पाइएको छ । थापाका अनुसार बदला लिन वा प्रेम सम्बन्ध राखेर असफल हुने अवस्थामा पुगेपछि यस्ता घटना भएका छन् ।
आठ वटा बदलाको भावना, पाँच वटा प्रेम सम्बन्धमा खटपट आएका कारण भएको पाइएको उनले बताए । अनुहार कुरुप बनाइदिने उद्देश्यले दुई वटा एसिड आक्रमणका घटना भएको जानकारी दिए ।
 
                









 
                     
                                     
                                 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4