Comments Add Comment

लकडाउन खुलेपछि बजारमा फुक्काफाल ! (भिडियोसहित)

२१ साउन, काठमाडौं । महेन्द्रनगरका दीपेन्द्र तिरुवा काठमाडौंको नयाँवानेश्वर चोकस्थित सडक पेटीमा मास्क र मोबाइलका चार्जरहरु बेच्छन् । उनलाई ग्राहकसँगको हेलमेलले कोरोना भाइरस सर्छ कि भन्ने डर छ ।

तिरुवाको अनुभवमा मानिसहरुले सामान र पैसा लेनदेन गर्दा हातलाई स्यानिटाइज गरिरहेका छैनन् । बाटो हिँड्ने तीनजना मध्ये एकजनाले मास्क नलगाएको उनले हिसाब सुनाए ।

दिपेन्द्रले भनेजस्तै नयाँ वानेश्वरमा बाटो क्रस गर्दा मानिसहरु एक अर्कासँग ठोक्किइरहेका भेटिए । यसरी नजिकिएकाहरुमा कोरोना संक्रमण देखियो भने ‘कन्ट्र्याक ट्रेसिङ’ सम्भव छैन ।

सडक पेटीमा पैदल हिड्नेहरुको हालत त्यस्तै छ । नयाँ बानेश्वर, भद्रकाली, न्युरोड, रत्नपार्क, भृकुटीमण्डप क्षेत्रमा मानिसहरु माक्स नै नलगाई ठाँटले हिँडिरहेका देखिन्छन् । कसैले च्यापुमा मास्क झुण्ड्याएका छन् । हिँड्दा सामाजिक दुरी कायम गरेको देखिँदैन ।

पसलमा समान खरिद गर्दाको दृश्य पनि उस्तै छ ।

राजधानीका धेरै चलहपहल हुने स्थानमध्ये एक हो, न्युरोड । आजकल यस क्षेत्रमा चहल–पहल बढेको छ । व्यापार व्यावसाय सुरु भएको छ । तर, सामान खरिद गरिरहेकाहरुमध्ये वा व्यापारी कसैलाई कोरोना संक्रमण भएको रहेछ भने सहजै अर्कोलाई सर्न सक्ने देखिन्छ । क्रेता र विक्रेताका बीचमा खासै दुरी रहने गरेको पाइँदैन ।

लकडाउन खुलेको भएर हो कि कोरोना पचाइन्छ भनेर हो, नागरिकमा त्रास कम देखिएको छ ।

सार्वजनिक सवारीमा यात्रा गर्नेहरुले पनि कोरोनाको जोखिमको ख्याल गरेको पाइँदैन ।

आर्थिक क्रियाकलाप बन्द भयो भनेर सरकारले लकडाउन खोलिदिए पनि परीक्षण बढाउन सकेको छैन । असार १५ देखि दैनिक १० हजारको टेष्ट गर्ने सरकारको योजना पूरा भएको छैन ।

काठमाडौंमा कोरोना संक्रमितहरु दिनानुदिन थपिन थाल्यो । ट्राफिक प्रहरी, सांसद, सभामुखका ड्राइभर जो बढी भन्दा बढी मान्छेहरुको सम्पर्कमा पुगिरहेका हुन्छन् उनीहरुमा नै संक्रमण फेला पर्न थालेको छ ।

यो सबै देख्दा काठमाडौंमै बस्ने गणेशप्रसाद घिमिरेलाई भने दिक्क लागेको छ । उनी एउटा होटलमा काम गर्छन् । दैनिक सार्वजनिक सवारी प्रयोग गर्छन् । उनी भन्छन्, ‘आफ्नो ख्याल आफैँ गर्ने हो । म त स्यानिटाइजर लिएर हिँड्छु । यात्रामा दुरी कायम गर्छु । कोरोनाबाट जोगिने यो नै उत्तम उपाय रहेछ ।’

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment