Comments Add Comment

प्रदेश २ का सामाजिक विकास मन्त्री भन्छन्– भारतीय सीमावर्ती जिल्लामा कोरोनाको जोखिम उच्च छ

अहिले केन्द्रको विरोध गर्ने समय होइन, दुश्मनीको फाइदा छैन

२१ साउन, काठमाडौं । प्रदेश २ कोरोना भाइरसको हटस्पट बनेको छ । प्रदेशको मुख्यालयदेखि अस्पतालसम्म कोरोना भाइरस फैलिँदै गएको छ । वीरगञ्ज सबैभन्दा बढी आक्रान्त छ ।

सोमबारसम्मको अवस्था हेर्ने हो भने कोरोना संक्रमणका कारण प्रदेशमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । सबैभन्दा बढी पर्सामा १२ जनाको मृत्यु भएको छ । रौतहट र बारामा २/२ जना, महोत्तरी, धनुषा र सप्तरीमा १/१ जनाको मृत्यु भइसकेको छ ।

मृत्यु हुने क्रम दिनहुँ थपिइरहेको छ । बुधबारसम्म आइपुग्दा सप्तरीमा कोरोना भाइरस जस्तै लक्षण देखापरेका थप तीनजनाको मृत्यु भएको छ

प्रदेश २ मा संक्रमितको संख्या ५ हजार नाघेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सोमबारसम्म ५ हजार ९ जना संक्रमित देखिएका छन् । ६१ हजार ६ सय ९२ जनाको स्वाब संकलन गरेकोमा २ हजार ७ सय ९७ जनाको नतिजा आउन बाँकी छ ।

सोमबार ११ जना निको भई घर फर्किएसँगै डिस्जार्च हुनेको संख्या ३ हजार १ सय ८४ पुगेको छ ।

अहिले प्रदेशको पर्सा, धनुषा र सप्तरी जिल्ला बढी प्रभावित देखिएका छन् । कोरोना संक्रमणबाट बच्न पर्सा र सप्तरी जिल्लाले निषेधाज्ञा जारी गरिसकेको छ भने जनकपुरधाम, जलेश्वरमा पनि निषेधाज्ञा जारी गरिएको छ ।

के भन्छ प्रदेश सरकार ?

प्रदेश सरकार कोरोना नियन्त्रण गर्न आफ्नो तर्फबाट काम गरिरहेको बताउँछन् सामाजिक विकास मन्त्री नवलकिशोर साह । उनी तीनवटै सरकारबीच राम्रो समन्वय नभए कोरोना नियन्त्रण गर्न नसकिने बताउँछन् ।

प्रदेश सरकार आफूले सकेसम्म यो काममा लागिपरेको बताउँदै उनी बर्षौंदेखि खराब स्थितिबाट गुज्रिरहेको यहाँका अस्पताललाई सुधार गर्न नै धेरै समय लागेको बताउँछन् ।

‘यहाँका अस्पतालको अवस्था धेरै खराब रहेको कुरा कसैसँग लुकको छैन’ उनी भन्छन्, “त्यसलाई सुधारेर उपचार गर्ने योग्य बनाएका छौं ।”

प्रत्येक जिल्लामा २ सयदेखि ३ सय बेडसम्मको आइसोलेसन बनाएर संक्रमितको उपचार गरिरहेको साह बताउँछन् ।

प्रदेशमा धेरैभन्दा धेरै व्यक्तिको पीसीआर टेस्ट गराउने लक्ष्य प्रदेश सरकारको रहेकाले प्रदेशमा थप १/१ वटा मेसिन थप्न लागिपरेको साहले बताए । बीरगत्तज, जनकपुरधाम र राजविराजमा १/१ वटा मेसिन चाँडै थपिने उनको भनाइ छ ।

भ्याक्सिन नबनेसम्म कोरोना नियन्त्रण सम्भव नभएको भन्दै उनी यसबीचमा आम जनतालाई आफैं पनि सतर्कता अपनाउनुपर्नेमा जोड् दिन्छन् ।

यो प्रदेश २ र नेपालको मात्र समस्या नभई समग्र विश्वकै समस्या रहेको बताउँदै मन्त्री साह भन्छन्, ‘हामीसँग भएको साधन, स्रोत र तन, मन, धनले लागिपरेका छौं । यो भाइरसबाट आफैं पनि बच्न, सामाजिक दुरीको पालना गर्न, पटक–पटक हात धुन र मास्कको प्रयोग गर्न सबैसँग दुबै हात जोडेर अनुरोध गर्दछु ।’

अमेरिका, इंगल्याण्ड, जापान, जर्मनजस्ता देशले केही गर्न नसकेको सन्दर्भमा हामीले लापरबाही गर्न नहुने साहको भनाइ छ ।

अहिले कसैको विरोध गर्ने समय होइन

मन्त्री साह अहिले कसैको विरोध गर्ने समय नभएको भन्दै सबै मिलेर काम गर्नुपर्ने बताउँछन् । ‘केन्द्रले यसो गरिदिएन, उसो गरिदिएन भन्ने समय नै होइन अहिले’ उनी भन्छन्, ‘हामी केन्द्रको नाम लिएर किन विरोध गर्ने ? तीनवटै सरकारबीच समन्वय हुनु जरुरी छ । समन्वय नभए यसको समाधान हुन सक्दैन । सबैको सहकार्यले नै यो नियन्त्रण हुन सक्छ ।’

जे सहयोग गरेको छ, त्यसका लागि केन्द्रलाई धन्यवाद दिँदै मन्त्री साह भन्छन्, ‘ईच्छा त धेरै हुन्छ । तर, त्यो कहाँ पूर्ति हुन्छ ? त्यसैले बोलेर दुश्मनी गर्नुको फाइदा के ?’

लकडाउन जरुरी छ

कोरोना संक्रमण अनपेक्षित बढ्न थालेपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिको बैठकले प्रदेश २ का केही जिल्लामा निषेधाज्ञा सुरु गरिएको छ । मन्त्री साह पनि यसको आवश्यकता रहेको बताउँछन् ।

‘अहिले त सबैभन्दा ठूलो कुरा जनताको ज्यान कसरी बच्छ भन्ने कुरा हो’ उनी भन्छन्, ‘त्यसैले केही दिनका लागि टाइट गर्नु जरुरी छ ।’

भारतबाट आवत–जावत बढेको, सामाजिक दुरी पालना नभएको सन्दर्भमा केही दिनका लागि लकडाउन जरुरी भएको उनको भनाइ छ । ‘यसले अर्थतन्त्रलाई समस्यामा त पार्छ, तर जीवन नै नरहे कसका लागि अर्थतन्त्र ?’ उनी भन्छन्, ‘पहिला ज्यान बचाउनु आवश्यक छ ।’

‘लकडाउन भएपछि प्रदेशका विपन्न वर्ग त भोकले छटपटाउँछ नि ? भन्ने अनलाइनखबरको जिज्ञासामा मन्त्री साहले भने, ‘हामी यो बिषयमा गम्भीर छौं ।’

यसअघिको लकडाउनमा प्रदेश सरकारले २ पटक राहत वितरण गरेको जनाउँदै उनले अब बस्ने बैठकमा यो बिषयमा छलफल हुने बताए ।

उनी जनसंख्याको दृष्टिकोणले प्रदेश २ सबैभन्दा ठूलो भएको तथा सबै जिल्लाहरु भारतीय सीमासँग जोडिएका कारण यो प्रदेशमा कोरोनाको जोखिम उच्च रहेको बताउँछन् ।

‘एकातिर प्रदेशको स्रोत, साधन एकदमै न्यून र अर्काेतर्फ कोरोनाको उच्च जोखिम रहेकाले यहाँ ठूलो सहयोगको आवश्यकता छ’ मन्त्री साहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

रियाशाको खुशी

Advertisment