Comments Add Comment
बालाजु बाइपास सडक बिस्तार  :

‘जनतालाई सुकुम्बासी बनाउने यो कसको सरकार ?’

२१ साउन, काठमाडौ । सर्वोच्च अदालतको अन्तरिम आदेश विपरित सडक छेउको घर भत्काइएको भन्दै बालाजु बाइपास क्षेत्रका बासिन्दा आन्दोलित भएका छन् ।

बिना पूर्व सूचना गाईजात्रा पर्वकै दिन जनताको घरमा डोजर लगाएको भन्दै स्थानीयवासीले प्रहरी बृत बालाजुमा रिले अनशन समेत थालेका छन् ।

पीडित भीमदेव श्रेष्ठ ।

घर भत्काइएका मध्येका एक भीमदेव श्रेष्ठले अदालतको आदेश समेत नटेरी सरकार उठीबास लगाएको बताए । ‘अदालतबाट नभत्काउनु भन्ने आदेश आएको छ, फेरि कसको आदेशमा हाम्रो घर भत्काएको भन्दा प्रहरी माथिको आदेश भन्छ’, उनले भने, ‘साउने झरीमा जनताको घरमा डोजर चलाउने आदेश दिने यो सरकार कसको हो ?’

घर भत्काउन थालिएपछि प्रतिरोध गर्दा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर रातभर हिरासतमा राखेको श्रेष्ठले बताए । सरकारले बाइपासका रैथानेलाई अनेक वहनामा सुकुम्बासी बनाउन खोजेको भगवानदास मानन्धरले बताए ।

उनका अनुसार, सडकको मापदण्ड अनुसार जग्गा छाडेर बनाइएको ४८ वटा घर पछिल्लो सात वर्षमा भत्काइएको छ । ‘पर्वको दिनमा राज्यशक्ति प्रयोग गरेर हाम्रो घर भत्काइयो’, मानन्धरले भने, ‘हामीमाथि फेरि अन्यय भयो ।’

अर्का बाइपासवासी रवीन्द्रकुमार श्रेष्ठले सडकको सेन्टरबाट दायाँ–बायाँ ७–७ मिटर सडक बिस्तार गरिने बताइए पनि सरकारले पश्चिमतर्फ मात्र ४८ वटा घर छानिछानि भत्काइएको बताए । उनले भने, ‘अदालतको आदेश त पालना हुनपर्छ भन्दै विरोध गर्दा हामीमाथि कुट्पिट समेत भयो ।’

महानगरिय प्रहरी बृत बालाजुले भने सडक बिस्तारको काममा सुरक्षा मात्र दिएको जनाएको छ । ‘सडक बिस्तारमा सहयोग गर्न आदेश आएपछि आफ्नो क्षेत्रमा सुरक्षा दिएका हौं’, बृत प्रमुख प्रहरी नायव उपरीक्षक रन्जीत सिंह राठौरले भने, ‘मानिस नबसेका तीनवटा घर र केही भग्नावशेस सफा गरिएको हो ।’

 

बालाजु बाइपास लिंक रोडको करिब ५०० मिटर क्षेत्र बिस्तारमा अवरोध भएको थियो । त्यो क्षेत्रका अधिकांश घरले मुआब्जा लिइसकेको काठमाडौं उपत्यका विकास प्राधिकरकणका आयुक्त डा. भाइकाजी तिवारीले बताउँछन् ।

घरहरु नभत्काउन सर्वोच्च अदालतबाट अन्तरिम आदेश भएको रहेछ नि भन्ने प्रश्नमा उनले भने, ‘सडक विस्तार गर्ने क्रममा यस्ता सयौं आदेश भएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment