Comments Add Comment

रानीपोखरीमा डिप बोरिङ नगर्न प्राधिकरणलाई अभियान्ताको सुझाव

२१ साउन, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सम्पदा जोगाउँ अभियानका अभियान्ताहरुले डिपबोरिङ गरेर रानीपोखरीमा पानी नभर्न सुझाव दिएका छन् । बुधबार प्राधिकरणमा भएको छलफलमा अभियान्ताहरुले यस्तो सुझाव दिएका हुन् ।

बुधबार प्राधिकरणले केहि विज्ञ र अभियान्ताहरुलाई छलफलका लागि बोलाएको थियो । छलफलमा सम्पदाविद् सुदर्शनराज तिवारीले आकाशे तथा रानीपोखरी वरिपरिको सतह तथा खेर गएको पानी प्रशोधन गरी पानी प्रयोग गर्न सुझाव दिए । उनले डिप ट्युवेलहरु प्रयोग नगर्न सुझाव दिए ।

संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरले परम्परागत इन्जिनियरिङलाई अवलम्बन गर्न आग्रह गर्दै डिप बोरिङको सट्टा प्राकृतिक उपायहरु अपनाउँदै पानी भर्न आग्रह गरे । यस्तै सुशील श्रेष्ठले पोखरी सफा गर्न दुईवटा निकास राख्न सुझाव दिए ।

स्थानीय गणपतिलाल श्रेष्ठले केही समय लागे पनि सम्भव भएसम्मका परम्परागत विधिहरू व्युँताउने उपायतिर लाग्न आग्रह गरे । पूर्वसचिव एवं जलस्रोत विज्ञ सुमन शर्माले रानीपोखरी वरिपरिका विभिन्न सार्वजनिक भवनको छतको पानी संकलनलाई प्राथमिकता दिँदै विकल्पमा मेलम्चीको पानी पनि राख्न सुझाव दिए । उनले डिप बोरिङको पानीलाई अन्तिम विकल्पका रुपमा राख्न सकिने बताए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका आयोजना निर्देशक भोजविक्रम थापाले उपत्यकामा पानी वितरण गर्ने पाइप प्रणालीको परीक्षण गर्नेक्रममा मेलम्चीको पानी प्रयोग गर्न सकिने बताए ।

छलफलमा सहभागीहरुको जवाफ दिदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीमा पानी जम्मा गर्न प्राकृतिक हिसाबले सम्भव सबै उपाय प्रयोग गरिने बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अधिकारी, विज्ञ, अभियन्ता र स्थानीयहरुबीच आज भएको अन्तरक्रियामा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले रानीपोखरीमा आकाशे पानीलाई पहिलो प्राथमिकता दिइएको बताए ।

रानीपोखरीको पिंध र वरिपरीको पर्खाल पुनर्निर्माण सम्पन्न भएपछि आकाशे पानी जम्मा हुन थालेको छ । दरबार हाइस्कूल, त्रिचन्ऽ कलेज लगायतका क्षेत्रबाट पानी हार्भेस्टिङका लागि काम जारी छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विकल्पका रुपमा मात्र टुँडिखेल क्षेत्रमा रहेका इनारको पानी, डिप बोरिङ र मेलम्चीको पानी रहेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment