Comments Add Comment

उपचार नपाएर मर्ने क्रम बढेको भन्दै वीरगञ्जमा प्रदर्शन

तोडफोडमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

२५ साउन, वीरगञ्ज । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको बहानामा उपचार सेवा नपाएर सर्वसाधरण मर्ने क्रम बढेको भन्दै वीरगञ्जमा आइतबार प्रदर्शन भएको छ ।

वीरगञ्ज महानगरपालिका-२ छपकैयाका स्थानीयले वीरगञ्जस्थित नारायणी अस्पतालमा प्रदर्शन तथा तोडफोड गरेका छन् । प्रदर्शनकारीले प्रसुति गृह अगाडि पार्किङ गरी राखिएको डा. उदयनारायण सिंहको बा १२ च ६९६६ नम्बरको कार, सेनिटाइजेसन र स्वाब कलेक्सन बुथमा पनि तोडफोड गरेका छन् ।

प्रदर्शनको क्रममा गाडी तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्ज-२ छपकैयाका २० वर्षिय शेख माजिललाई पक्राउ गरेको छ । उनलाई वडा प्रहरी कार्यालय विर्तामा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

वीरगञ्ज-२ छपकैयाकी २० वर्षीय महिलालाई शुक्रबार श्वास प्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो । आधा दर्जन अस्पताल डुलाउँदा समेत उनको उपचार हुन सकेन । अटोमा अस्पताल डुलाउँदा डुलाउँदै उनको मृत्यु भएको थियो । शनिबार नै वीरगञ्ज–१३ राधेमाईकी ६० वर्षीय महिलाको पनि उपचार नपाएरै मृत्यु भएको थियो ।

अस्पतालमा उपचार सेवा नपाएर धमाधम मानिसको मृत्यु हुँदा समेत सम्बन्धित निकायले ती अस्पताललाई कारबाही नगरेकोले प्रदर्शनमा उत्रिएको प्रदर्शनकारीको भनाइ छ । उनीहरुले उपचारको अभावमा अबका दिनमा कुनैपनि मानिसको ज्यान जान नहुने र विभिन्न बहानामा उपचार नगर्ने अस्पतालका चिकित्सकलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।

नारायणी अस्पतालका विभिन्न वार्डमा संक्रमति भेटिएपछि इमर्जेन्सी बाहेकको सेवा बन्द गरिएको छ । भने अन्य केही निजी अस्पतालको अवस्था पनि उस्तै छ । तर कतिपय निजी अस्पतालले सामान्य अवस्थामा जस्तै सेवा दिइरहेको भएपनि उपचारका लागि पुगेका बिरामीलाई कोभिड संक्रमितको आशंकामा उपचार नगर्ने गरेको छ । जसका कारण पछिल्लो ३ दिनमा ६ जना मानिसको मृत्यु भइसकेको छ ।

पीडित परिवार मात्रै नआएर ठूलो संख्यामा अस्पताल परिसरमा मानिसहरु जम्मा भएर प्रदर्शन र तोडफोडमा उत्रिएपछि लाठी चार्ज गर्नुपरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए । उनले तोडफोडमा संलग्न एक युवकलाई समेत नियन्त्रणमा लिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment