Comments Add Comment

फुटबल खेलाडीको कोरोना परीक्षण भोलि

२५ साउन, काठमाडौं । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बस्ने फुटबल खेलाडीको कोरोना प्रशिक्षण सोमबार हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोट खेलका लागि गरिने बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीको कोरोना संक्रमण परीक्षण गर्न लागेको हो ।

बन्द प्रशिक्षणमा बस्ने खेलाडी, प्रशिक्षक, अफिसियल र होस्टलका कर्मचारीको कोरोना परीक्षण गरिने एन्फाले जनाएको छ ।

एन्फाले कोरोना संक्रमण रोकथामका लागि खेलाडीहरुको पोषणसम्बन्धी निर्देशिका पनि बनाएको छ ।  बिहीबार एन्फाले सुन्दर ढोका साथी सेवासंगको सहकार्यमा एन्फा होस्टल, एन्फा कार्यालय लगायत स्थानलाई डिसइन्फेक्सन गरेको थियो ।

खेलाडीको कोरोना परीक्षण गर्न दुई दिन लाग्ने पनि एन्फाले जनाएको छ । परीक्षणको नतिजा आएपछि एन्फाले खेलाडीलाई होस्टलमा राख्नेछ ।

कोरोना महामारी रोकथामका लागि गरिएको लकडाउनका कारण चैतदेखि राष्ट्रिय टिमको प्रशिक्षण स्थगित भएको थियो । नेपाल सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय प्रशिक्षण सुरु गर्न सकिने निर्णय गरेपछि एन्फाले फुटबल खेलाडीको प्रशिक्षणका लागि विभिन्न चरणमा तयारी गरिरहेको छ ।

बन्द प्रशिक्षणमा रहने ३४ मध्ये ३३ खेलाडी अहिले उपत्यकामा क्वारेन्टिनमा छन् । कोही खेलाडी घरमै क्वारेन्टिनमा छन् भने कोही खेलाडीलाई एन्फाले होस्टलमा राखेको छ । रन्जित धिमाल भने पारिवारिक कारण केही समयपछि मात्रै प्रशिक्षणमा सहभागी हुनेछन् ।

फिफा र डब्ल्युएचओका साथै नेपाल सरकारको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिकाअनुसार नै एन्फाले खेलाडीको प्रशिक्षण गर्ने जनाएको छ । यस्तै एन्फाले आफ्नै मेडिकल टिमसंग सहकार्य गरेर छुट्टै मेडिकल गाइडलाइनसमेत तयार पारेको छ ।

विश्वकप छनोट अन्तर्गत समूह बी मा रहेको नेपालले ३ खेल खेल्न बाँकी छ । अक्टोबर-नोभेम्बरमा प्रस्ताव गरिएको उक्त खेलहरु नेपालले घरेलु मैदान दशरथ रंगशालमा खेल्ने तालिका छ । नेपालले चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसंग घरेलु मैदानमा खेल्न बाँकी छ ।

यो पनि पढ्नुहोस फुटबल प्रशिक्षणको तयारीमा एन्फा, खेलाडीले आफ्ना लुगा आफैं धुनुपर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment