Comments Add Comment

सिराहा नगरपालिकामा सिरानीको खोलको मूल्य २८ सय ७७ !

२५ साउन, जनकपुरधाम । एउटा सिरानीको खोलको मूल्य कति पर्ला ? सामान्य खालको १०० रुपैयाँमै पाइने यस्ता कभर राम्रै खरिद गर्दा पनि ५०० भन्दा धेरै नपर्ला भन्ने धेरैले अनुमान गर्छन् ।

तर, सिराहा नगरपालिकाले एउटा सिरानीको खोललाई २८७७ रुपैयाँ तिरेर किनेको पाइएको छ । नगरपालिकाले जिल्ला स्तरीय कोभिड–१९ नियन्त्रण समितिलाई बुझाएको खर्च विवरण सिरानीको खोलमात्र ३ लाख १९ हजार २ सय ७५ रुपैयाँको किनेको देखिएको छ ।

यो मूल्यमा १ सय ११ वटा खोल खरीद भएको खर्च विवरण नगरपालिकाले सार्वजनिक गरेको छ । यसरी हेर्दा एउटा सिरानीको कोभरको मूल्य २८ सय ७७ रुपैयाँ पर्न जान्छ ।

सिरानी र त्यसको खोलमात्र होइन, अन्य सामानको मूल्य पनि अस्वाभाविक रुपमा बढी देखाइएको छ ।

बजारमा १० रुपैयाँमा पाइने मास्कलाई नगरपालिकाले २२ रुपैयाँ ८७ पैसामा खरिद गरेको देखाएको छ । ८७ हजार ५ सय ७५ थान मास्क खरिद गर्दा २० लाख २ हजार ९ सय ९७ रुपैयाँ खर्च भएको नगरपालिकाले देखाएको छ ।

नगरपालिकाले ५ सय ५८ थान तन्ना अर्थात् बेडसिट खरिदमा ४५ लाख ३ हजार ७ सय ७५ रुपैयाँ खर्च भएको देखाएको छ । यसरी हेर्दा एउटा तन्नाको मूल्य ८ हजार ७१ रुपैयाँ तिरिएको छ ।

यो नगरपालिकाले कोभिड १९ नियन्त्रणको नाममा ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रुपैयाँ खर्च भएको जनाएको छ ।

मेयर भन्छन्–प्रिन्ट मिस्टेक भयो

सिराहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवले खर्चको विवरण तयार गर्दा त्यसमा प्रिन्ट मिस्टेक भएको प्रतिक्रियादिएका छन् । बढी खर्च देखाइएको सन्दर्भमा अनलाइनखबरले राखेको जिज्ञासामा मेयर यादवले रुपैयाँ र पैसालाई नछुट्टयाएर सीधै लेखेका कारण रकम बढी देखिएको प्रतिक्रिया दिए ।

‘हामी त्यो खर्च विवरणलाई चाँडै सच्याउँछौं’ मेयर यादवले भने, ‘हामीले बढी खर्च गरेकै छैनौं । यथार्थ खर्चलाई मात्रै विवरणमा समावेश गरेका छौं । तर, त्यो प्रिन्ट मिस्टेक भएकाले यसलाई सच्याएर अर्काे विवरण तयार पार्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment