+
+
Shares
प्रतीकराज पहारीसँग वार्ता :

६ दशक लामो सपना २ घण्टामै खरानी भयो

एक वर्ष बितिसक्दा पनि हाम्रो संघर्ष समाप्त भएको छैन । हामीले अझैसम्म बीमा दाबीको रकम प्राप्त गरेका छैनौँ र सरकारबाट पनि कुनै सहयोग पाएका छैनौँ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते ८:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनको क्रममा अराजक समूहले पोखराको होटल सरोबर जलाएर ध्वस्त पारेको एक वर्षपछि पनि होटल पुनर्निर्माणमै रहेको छ।
  • होटल सञ्चालक प्रतीकराज पहारीले पुनः सञ्चालनका लागि ५५ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने र नोभेम्बरमा खोल्ने प्रयास भइरहेको बताए।
  • पहारीले घटना पछि बीमा दाबी र सरकारी सहयोग नपाएको, अनि अनुसन्धान र कारबाही अपेक्षाअनुसार नभएको गुनासो गरे।

गत वर्ष २४ भदौमा काठमाडौंबाट सल्किएको आगो पोखराका निजी व्यवसायमा पनि झोसियो । अराजक भिडले सरकारी कार्यालय, व्यवसायीका घर, होटल, रिसोर्ट ध्वस्त पार्‍यो । त्यस दिन ध्वस्त पारिएकोमध्ये एक हो, पोखराको होटल सरोबर ।

यो होटल एमाले नेता तथा प्राध्यापक भरतराज पहारीको हो । यो होटल विदेशमा पढेर फर्किएका भरतराजका छोरा प्रतीकराज पहारीले सञ्चालनको नेतृत्व गरिरहेका थिए ।

सन् २०१८ मा सञ्चालनमा आएको चारतारे स्तरको होटल सरोबर अराजक समूहले जलाएर पूरै ध्वस्त पारेका थिए । आगलागी र विध्वंशपछि होटललाई पुन: पूर्ण रूपमा फर्काउन ५५ करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।

जेनजी आन्दोलनको क्रममा होटल सरोबर किन निशानामा पर्‍यो ? जेनजी आन्दोलनले के परिवर्तन ल्यायो र कसले के पायो ? जेनजी आन्दोलनमा ध्वस्त भएको होटल फेरि कहिलेबाट सञ्चालनमा आउँछ ? जेनजी आन्दोलन र त्यसले पारेको प्रभावकै सेरोफेरोमा रहेर प्रतिकराजसँग अनलाइनखबरकर्मी अमृत सुवेदीले गरेको कुराकानी :

तपाईंको होटल सरोबर जलेर ध्वस्त भएको एक वर्ष भयो । फर्केर हेर्दा अहिले कस्तो महसुस हुन्छ ?

त्यो मेरो जीवनकै सबैभन्दा अँध्यारो दिन थियो । हामी पूर्ण रूपमा असहाय भएका थियौँ । आफ्नै सम्पत्ति जलिरहेको फोटो र भिडियोहरू हेर्न बाध्य थियौं । त्यस क्षणमा कुनै प्रभावकारी संस्थागत सहयोग प्राप्त भएन । कानुनी शासन सबैभन्दा कमजोर अवस्थामा पुगेको महसुस भएको थियो ।

हामी आफ्नै सुरक्षाका विषयमा पनि अत्यन्त चिन्तित थियौँ । त्यो दिन हामीले कस्तो अनुभूति गरेका थियौँ भन्ने कुरा शब्दमा व्यक्त गर्न निकै कठिन छ ।

हाम्रो परिवारले ६ दशकभन्दा बढी समय लगाएर, तीन पुस्ताको श्रम र पसिनाबाट, यो सपना निर्माण गरेको थियो । यस क्रममा हामीले ठूलो आर्थिक जोखिम मोलेका थियौँ र वर्षौंको मिहिनेत मेहनत तथा लगानी गरेका थियौँ । पुस्तौं लगाएर निर्माण गरेको यो सम्पत्ति ध्वस्त गर्न करिब दुई घण्टा पर्याप्त भयो ।

एक वर्ष बितिसक्दा पनि हाम्रो संघर्ष समाप्त भएको छैन । हामीले अझैसम्म बीमा दाबीको रकम प्राप्त गरेका छैनौँ र सरकारबाट पनि कुनै सहयोग पाएका छैनौँ ।

सबैभन्दा पीडादायी कुरा के हो भने, हामीले फोटो, भिडियो तथा केही अवस्थामा लुटपाट र विनाशमा संलग्न व्यक्तिहरूको पहिचानसमेत सम्बन्धित निकायमा उपलब्ध गराएका थियौं । तर अपेक्षाअनुसारको अनुसन्धान र कारबाही भएको देख्न र महसुस गर्न पाएका छैनौँ ।

जलेर ध्वस्त भएको होटल अझै सञ्चालनमा आउन सकेको छैन । कहिलेबाट सञ्चालनमा आउँछ ?

यस अनुभवले नेपालमा संस्थागत सहयोग कति कमजोर हुनसक्छ भन्ने कुरा मलाई गहिरो रूपमा महसुस गराएको छ । जब कोही पीडित बन्छ, उसले आफूलाई अत्यन्त एक्लो महसुस सक्छ र आफ्नो समस्या समाधानका लागि प्राय: आफैले संघर्ष गर्नुपर्ने अवस्था आउने रहेछ ।

तर, हामीले हार मानेका छैनौँ । बैंकहरूबाट थप ऋण लिएका छौं । साथीभाइ तथा परिवारबाट आर्थिक सहयोग पनि प्राप्त गरेका छौँ । र, पुनर्निर्माणको काम अघि बढिरहेको छ । होटललाई नोभेम्बर महिनामा पुन: सञ्चालनमा ल्याउन सक्दो प्रयास गरिरहेका छौं ।

जेनजी आन्दोलनले कस्तो परिवर्तन गर्‍यो जस्तो लाग्छ ?

नेपालको अर्थतन्त्र र राजनीति ऐतिहासिक रूपमा सबैलाई समेट्दै समावेशी बनाउने किसिमको हुन सकेको छैन । धेरै क्षेत्रमा हाम्रो प्रणाली शोषणमुखी तथा सीमित समूहहरूको हितमा रहँदै आएको छ । यद्यपि, समयक्रममा क्रमश: केही राम्रा सुधारहरू पनि हुँदै आएका छन् भन्ने मेरो विश्वास छ ।

विशेषगरी सन् २०२० पछि नेपालको आर्थिक वृद्धि कमजोर रह्यो र जनतामा निराशा बढ्दै गइरहेको थियो । राजनीतिक तथा सामाजिक परिवर्तन कुनै न कुनै रूपमा अपरिहार्य छ भन्ने मलाई लागेको थियो । तर त्यस्तो परिवर्तन लोकतान्त्रिक माध्यमबाटै हुनेछ भन्ने मेरो विश्वास थियो ।

जेनजी आन्दोलनले त्यो परिवर्तनलाई हठात ल्याइदियो र दुर्भाग्यवश, परिस्थितिसमेत अत्यन्त तीव्र गतिमा बिग्रँदै गयो ।

यसको एउटा सकारात्मक परिणाम पनि दिएको छ, नयाँ पुस्ताका लागि नेतृत्वमा स्थान सिर्जना गरेको छ र स्थापित राजनीतिक दलहरूलाई आफ्ना कमजोरीहरूको बारेमा आत्मसमीक्षा गर्न बाध्य बनाएको छ ।

नयाँ तथा स्थापित दुवै राजनीतिक शक्तिहरूले विद्यमान परिस्थितिलाई अवसरको रूपमा ग्रहण गर्दै आफूलाई सुधार गर्न प्रयोग गर्ने छन् र योग्यताका आधारमा अवसर दिने प्रणाली (मेरिटोक्रेसी) लाई अझ बढी प्राथमिकता दिने छन् भन्ने मेरो आशा छ ।

तर, कानुनी शासन, संस्थागत जवाफदेहिता तथा व्यवसाय सञ्चालनका लागि आवश्यक वातावरण जस्ता आधारभूत विषयहरू अझै पर्याप्त रूपमा सम्बोधन भएका छैनन् । व्यवसायी र लगानीकर्ताका लागि महत्वपूर्ण कुरा भनेको राजकीय संस्थाहरूले नागरिक, सम्पत्ति र लगानीको सुरक्षा गर्न सक्छन् कि सक्दैनन् भन्ने हो । यस सन्दर्भमा हामीले अझै पर्याप्त र स्पष्ट सुधार भएको देख्न बाँकी छ ।

यो होटल कसरी सुरु गर्नुभएको थियो र यो बीचमा कस्ता अप्ठ्याराबाट गुज्रनुभयो ?

यो होटल निर्माणमा ६ दशकभन्दा लामो कथा जोडिएको छ । सन् १९६० को दशकमा पर्यटकहरू पोखरा आउन थालेपछि उनीहरू लेकसाइडस्थित हाम्रो पारिवारिक जग्गामा पाल टाँगेर बस्ने गर्थे । समय क्रममा हामीले टहरा बनाएर पाहुनाहरू राख्यौं ।

सन् १९८० को दशकमा हाम्रो परिवारले औपचारिक रूपमा ८ वटा कोठासहितको होटल सरोवर सञ्चालनमा ल्यायो । जहाँ सामान्य बेड तथा ब्रेकफास्टको सुविधा उपलब्ध थियो ।

सन् १९९५ मा हाम्रो परिवारले पाँचतारे होटल विकास गर्ने परिकल्पना गर्‍यो । तर त्यस समयमा बैंकले पर्याप्त विश्वास नगरेकाले उक्त परियोजना कार्यान्वयन गर्न सकेनौँ ।

सन् २०११ मा चारतारे होटल निर्माण गर्ने नयाँ दृष्टिकोण अघि सार्‍यौं । डिजाइन तयार गर्न, वित्तीय स्रोतको व्यवस्था गर्न र आवश्यक सम्पूर्ण तयारी पूरा गर्न थप चार वर्ष लाग्यो ।

हामीले पुन: लेकसाइडमा रहेको आफ्नो पुर्ख्यौली सम्पत्तिको केही हिस्सा बिक्री गरेर पूँजी जुटायौँ र बैंकहरूसँग वित्तीय सहयोगका लागि सम्पर्क गर्‍यौं । समयक्रम अनुसार लेकसाइडमा रहेको हाम्रो जग्गाको मूल्य निककै बढिसकेको कारण हामीलाई सहज भयो ।

यस पटक बैंकले हामीमाथि विश्वास गर्‍यो र अन्तत: सन् २०१५ मा होटल निर्माण सुरु भयो । निर्माण सम्पन्न गर्न करिब तीन वर्ष लाग्यो । सन् २०१८ को डिसेम्बरमा हामीले चारतारे होटल सरोवरको सफ्ट ओपनिङ गर्‍यौं ।

होटल सरोबरलाई किन निशाना बनाए होलान् ? फेरि सञ्चालनमा ल्याउन कति लगानी गर्दै हुनुहुन्छ ?

होटललाई पहिलेकै स्वरूपमा पुनर्स्थापना गर्न ५५ करोड रुपैयाँभन्दा बढी खर्च हुने हाम्रो अनुमान छ । पुनर्निर्माणको काम पूरा गरी नोभेम्बरमा होटल पुन: सञ्चालनमा ल्याउने दिशामा काम गरिरहेका छौँ ।

होटललाई किन निशाना बनाइयो र किन जलाइयो मलाई थाहा छैन । धेरै मानिसबाट विभिन्न व्याख्या र तर्कहरू सुनेको छु । तर खास कारण के थियो, म भन्न सक्दिनँ ।

प्राय: उल्लेख गरिने एउटा कारण भनेको मेरा बुबाआमाको लामो समयदेखिको निश्चित राजनीतिक वैचारिक आस्थासँगको सम्बन्ध हो । तर त्यो नै वास्तविक कारण थियो वा थिएन भन्ने कुरा मलाई थाहा छैन । यद्यपि, म केमा स्पष्ट छु भने, राजनीतिक वा वैचारिक मतभेदका कारण कसैको सम्पत्ति, व्यवसाय, मिहिनेतलाई नष्ट गर्नु कुनै पनि हालतमा उचित हुन सक्दैन ।

हामीले आफ्नो ठूलो परिमाणको पूँजी लगानी गरेका थियौँ, उल्लेखनीय ऋण लिएका थियौँ र करिब १४० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने एउटा प्रतिष्ठान निर्माण गरेका थियौँ ।

मेरो लागि यस दु:खद घटनाबाट सबैभन्दा ठूलो शिक्षा प्राप्त भएको छ– नेपाललाई समृद्ध बनाउन अझ बलिया संस्थाहरू, अझ सुदृढ कानुनी शासन र लगानी तथा रोजगारी सिर्जना गर्ने जोखिम मोल्न सक्ने मानिसहरूको अझ बढी संरक्षण आवश्यक छ ।

हामीले होटल पुनर्निर्माण गर्ने निर्णय गरेका छौं । किनभने हामी अझै पनि नेपालमा अनुकूल वातावरण बन्न सक्छ भन्ने विश्वास गर्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?