Comments Add Comment

पोखरामा कर्मचारीलाई कोरोना संक्रमण, २ वटा वडा सिल

२६ साउन, पोखरा । पोखरा महानगरमा सोमबार २ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये एकजना पोखरा महानगरकै कर्मचारी हुन् भने अर्का एक जना बागबानी केन्द्रका कर्मचारी हुन् । पोखरा २७ का वडा कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय सिल गर्ने तयारीमा महानगर लागेको छ ।

‘अस्ति (शुक्रबार) यो वडाका ३ जनाले स्वाब परीक्षणका लागि दिएका थियौं । त्यसमध्ये उहाँकोमात्रै केस पोजेटिभ आयो,’ वडाध्यक्ष पूर्णबहादुर गुरुङले अनलाइनखबरसँग भने, ‘जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने उहाँमा कोरोना भेटिएपछि वडा नै सिल गर्ने तयारीमा छौं ।’

वडाध्यक्ष गुरुङले वडा कार्यालयबाट हुने सम्पूर्ण कामकारबाही असोज ३० गतेसम्मका लागि बन्द गर्न महानगरले पत्र पठाइसकेको जानकारी दिए । ‘महानगरबाट स्वीकृत पत्र पाइसकेका छौं । अब सिल गरेर कन्ट्याक ट्रेसिङ सुरु गर्छौं,’ उनले भने ।

वडाध्यक्ष गुरुङका अनुसार ती कर्मचारीको कुनै पनि बाह्य यात्रा र सम्पर्क छैन । ‘उहाँ बिहानै कार्यालयमा आउने हो । महानगरले चलाउने सेवा केन्द्रमा उहाँ कार्यरत हुनुहुन्थ्यो । हामी संक्रमण स्रोतको खोजी गर्ने तयारीमा छौं,’ उनले संक्रमित महिलाको स्वास्थ्यावस्था सामान्य रहेको र आइसोलेसन लैजाने तयारी भइरहेको जानकारी दिए ।

पोखरा मालेपाटनमा रहेको बागबानी केन्द्रका एक कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । केन्द्रका ३७ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । संक्रमित पुरुष करिब २ हप्ताअघि काठमाडौं गएर फर्किएको पाइएको पोखरा महानगर स्वास्थ्य महाशाखा अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।

‘ललितपुरमा उहाँ एउटा गेस्ट हाउसमा बसेर फर्किनु भएको रहेछ,’ आचार्यले अनलाइनखबरसँग भने, ‘त्यहाँ होटलको कुकलाई कोरोना संक्रमण पुष्टि भएको थाहा पाएपछि आफैं स्वाब दिन आउनु भएको हो ।’ उनी काठमाडौंबाट आएर घरमै बसेको आचार्यले बताए । उनले संक्रमितको कन्ट्याक ट्रेसिङ प्रक्रिया पनि सुरु गरिसकेको जानकारी दिएका छन् ।

वृद्धको मृत्यु भएपछि वडा सिल

पोखरा महानगरपालिका– १९ मा कोरोना संक्रमित ६२ वर्षीय एक पुरुषको आइतबार मृत्यु भएपछि १ हप्तासम्मका लागि वडा क्षेत्र सिल गरिएको छ । वडाध्यक्ष शोभामोहन पौडेलले संक्रमितसँग सम्पर्कमा आएका ६ जनामा कोरोना पुष्टि भएपछि वडा सिल गर्नु परेको बताए ।

पहिलो चरणमा संक्रमितसँग सम्पर्कमा आएका ६७ जनाको स्वाब परीक्षण गरिएको थियो । जसमध्ये ६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । आइतबारमात्रै संक्रमितको सम्पर्कमा आएका ८३ जनाको स्वाब संकलन गरिएको वडाध्यक्ष पौडेले जानकारी दिए ।

‘कोरोना समुदायस्तरमा फैलिने डर छ । अहिलेलाई अघोषित रुपमै वडा सिल गरेका छौं । पछिल्लो पटकको रिपोर्टको आधारमा अर्काे कदम चाल्ने योजनामा छौं,’ वडाध्यक्ष पौडेलले भने, ‘अहिले दिएका स्वाबमा पनि कोरोना संक्रमित फेला परे भने तत्काल वडालाई पूर्णरुपमा सिल गरेर अघि बढ्नुको अर्को विकल्प छैन ।’

बाह्य यात्रा र सम्पर्क नभएका ती संक्रमित धर्म प्रवर्तक थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment