Comments Add Comment

अस्ट्रेलियामा कोरोनाबाट एकैदिन १९ जनाको मृत्यु

२६ साउन, काठमाडौं । अस्ट्रेलियामा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । सोमबार दिइएको जानकारी अनुसार अस्ट्रेलियाको भिक्टोरिया राज्यमा पछिल्लो २४ घण्टामा १९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

कोरोना भाइरसको दोस्रो लहरको सामना गरिरहेको भिक्टोरिया राज्यमा कोरोना नियन्त्रणको लागि कडा लकडाउन गरिएको छ । अस्ट्रेलियामा अहिलेसम्म कोरोना भाइरसको कारण ३१४ जनाको मृत्यु भइसकेको छ । मत्यु हुनेमध्ये दुई तिहाइ भिक्टोरिया राज्यका छन् । अहिलेसम्म अस्ट्रेलियामा कोरोना भाइरसका करिब २१ हजार चारसय संक्रमित फेला परेका छन् ।

पछिल्लो केही दिनयता भने अस्ट्रेलियामा नयाँ संक्रमितको संख्यामा कमी आएको छ । तर, दैनिक नयाँ संक्रमितको संख्या अझै एक सयभन्दा कममा भने आउन सकेको छैन । पछिल्लो समय नयाँ संक्रमितको संख्यामा कमी आउनुलाई दोस्रो लकडाउन प्रभावकारी भएको हुन सक्ने बताइएको छ । मेलबर्नमा दोस्रो लकडाउन एक महिनाअघि सुरु भएको थियो । यद्यपि अगस्ट ३ देखि भने लकडाउन थप कडा पार्ने र रातको समयमा कर्फ्यु लगाउने घोषणा गरिएको थियो ।

यससँगै अहिले यो क्षेत्रमा मानिसहरुले आफ्नो घरबाट बाहिर निस्किनको लागि अनिवार्यरुपमा अनुमति लिनुपर्नेछ । साथै सार्वजनिक स्थलमा मास्क लगाउनु पनि अनिवार्य गरिएको छ । भिक्टोरियामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३२२ नयाँ संक्रमित फेला परेका थिए । पाँच दिनअघि भिक्टोरियामा एकैदिन ७२५ नयाँ संक्रमित फेला पारेका थिए ।

गएको एक सातामा मात्र भिक्टोरियामा एक सयभन्दा धेरैको मृत्यु भइसकेको छ । साथै अस्पतालमा भर्ना हुनेको संख्या पनि बढेको छ । भिक्टोरियाका प्रिमियर ड्यानिअल एन्ड्र्युजले अहिले नै भिक्टोरिया कुन अवस्थामा छ भनेर भन्न सकिने अवस्था नरहेको बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment