Comments Add Comment

श्रीकृष्ण जन्माष्टमीले नेपालीहरुमा आपसी प्रेम र मैत्रीभावना जागृत गरोस् : राष्ट्रपति

२७ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरी भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भनी शुभकामना दिएकी छन् ।

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना पनि गरेकी छन् ।

विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो सभ्यता र सम्पन्नताका सूचक भएको बताउँदै राष्ट्रपतिले यस प्रकारका ऐतिहासिक सांस्कृतिक परम्पराले हाम्रो समाजलाई एकताका सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्णाष्टमीको मध्यरातमा भएको सम्झनामा आज उनको पूजाआराधना गरी जन्माष्टमी पर्व मनाउने गरिन्छ ।

द्वापरयुगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानवजातिको उद्धार गर्न वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment