Comments Add Comment

वीरगञ्जमा मृत्यु भएका बाराका २ जनामा कोरोना पुष्टि

२९ साउन, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा बिहीबार विहान मृत्यु भएका बाराका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रसौनी गाउँपालिकाका ६५ वर्षका र जीतपुर–सिमरा उपमहानगरपालिकाका ५० वर्षका पुरुषमा मृत्यु भइसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै बारामा कोरोना संक्रमणबाट मर्नेको संख्या ५ पुगेको छ ।

नारायणी अस्पतालकै प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

प्रसौनी गाउँपालिका–२ प्रसौनी टोलका ६५ बर्षका पुरुष पहिलेदेखि नै दमका रोगी थिए । ३/४ दिनदेखि ज्वरो र खोकी लागेपछि उनलाई अचानक स्वास प्रश्वासमा समस्या भएपछि बिहीबार बिहान नारायणी बयोधा अस्पताल लगिएको थियो ।

बयोधाले नारायणी अस्पतालका डा. उदय नारायण सिंहसँग समन्वय गरेर साढे ३ बजे नारायणी अस्पताल पठायो । आकस्मिक कक्षमा उपचारको क्रममा साढे ८ बजे उनको मृत्यु भएको थियो ।

त्यस्तै जीतपुर सिमरा उपमहानगरपालिका–४ सिमरा टोल बस्ने ५० वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी थिए । उनलाई ४/५ दिनदेखि ज्वरो र खोकीको समस्या देखिएको थियो ।

बुधबार बिहान अचानक स्वास फेर्न गाह्रो भएपछि उपचारका लागि नेशनल मेडिकल कलेज लगियो । नेशनलले आईसीयू खाली नभएको भन्दै बुधबार मध्यान्ह नारायणी अस्पतलमा रिफर गरियो ।

नारायणी अस्पतालको आईसीयुमा राखेर उपचार हुँदै गर्दा उनमा बिहीबार विहान स्वास प्रश्वासमा झन् समस्या थपिदै गयो । अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गरिरहेका बेला बिहीबार बिहान ९ बजेतिर उनको मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए । उनको छातीको एक्सरे रिपोर्ट हेर्दा निमोनिया देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment