Comments Add Comment

आइसोलेसन बनाउन प्रदेश १ सरकारबाट १ करोड ६० लाख निकासा

२९ साउन, विराटनगर । आइसोलेसन निर्माण र व्यवस्थापनका लागि प्रदेश १ सरकारले १ करोड ६० लाख रुपैयाँ निकासा गरेको छ । कोरोना भाइरस नियन्त्रण तथा उपचारको व्यवस्था मिलाउन स्थानीय तह र अस्पतालका लागि रकम निकासा गरेको हो ।

प्रदेश सरकारले ११ वटा जिल्ला अस्पताललाई कम्तीमा १० बेड क्षमताको आइसोलेसन केन्द्र बनाउन बजेट उपलब्ध गराएको हो । प्रदेश सरकारले विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५० बेड क्षमताको आइसोलन केन्द्र बनाउनका लागि महानगरपालिकालाई १० लाख रुपैयाँ दिएको छ ।

रंगेली नगरपालिका वडा नं–७ स्थित जनता क्याम्पसको भवनमा १०० बेड क्षमताको आइसोलेसन बनाउन रंगेली नगरपालिकालाई १५ लाख, सुनसरी जिल्लाको बी जनरल अस्पतालमा ५० बेड क्षमताको आइसोलेसन बनाउन हरिनगर गाउँपालिकालाई १० लाख, बराहक्षेत्र नगरपालिकास्थित रामानन्द आचार्य सेवा पीठ, चतरामा १०० बेड क्षमताको आइसोलेसनको लागि १५ लाख रुपैयाँ दिएको छ ।

त्यस्तै सोलु दूधकुण्ड नगरपालिकालाई आइसोलेसन केन्द्र स्थापना र सञ्चालन गर्न पाँच लाख प्रदेश सरकारले उपलब्ध गराएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जानकारी दिए ।

प्रदेश १ का ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्ला अस्पताललाई कम्तीमा १० बेड क्षमताको आइसोलेसन स्थापना र सञ्चालन गर्न पाँच लाखका दरले एकमुष्ट ५५ लाख रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराएको छ ।

कोभिड–१९ आइसोलेसन अस्पताल गोठगाउँ मोरङलाई २० लाख, कोभिड–१९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरलाई पाँच लाख र मेची अस्पताल, झापालाई १० लाख रुपैयाँ आइसोलेसन सञ्चालनका लागि उपलब्ध गराएको छ ।

बेलबारी नगरपालिका, उर्लाबारी नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकालाई क्वारेन्टिन व्यवस्थापन र सञ्चालनका लागि पाँच–पाँच लाख प्रदेश सरकारले निकासा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment