३० साउन काठमाडौं । स्व. लक्ष्मी नारायण ट्रष्टले नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडीको कोरोना बिमा गर्ने भएको छ ।
ट्रष्टले शुक्रबार विज्ञप्ति जारी गर्दै १३ औं दक्षिण एसियाली खेलकुद सागमा खेलेका महिला र पुरुष भलिबल खेलाडीको कोरोना बिमा गर्ने जनाएको हो ।
कोरोना भाइरसविरुद्ध भलिबल खेलाडीको आत्मबल बढाउने उदेश्यले बिमा गराउने निर्णय गरेको ट्रष्टले जनाएको छ ।
ट्रष्टको विज्ञप्तीमा भनिएको छ, ‘भाइरसको भ्यक्सिन टुङ्गो नलाग्दासम्म खेलाडीको आत्मबल बढाउन ट्रष्टले गरिदिने कोरोना बिमाले खेलाडीमा सानो भएपनि राहत महसुस हुन्छ भन्ने विश्वास लिएका छौँ ।’
गत मंसिरमा नेपालमै आयोजना भएको १३ औं सागमा नेपालको महिला टोलीले ऐतिहासिक रजत पदक जितेको थियो । पहिलो पटक फाइनल पुगेको महिला टोली स्वर्ण भिडन्तमा भारतसंग ३-२ सेटमा पराजित भएको थियो । पुरुष टोली भने पदक जित्न असफल रह्यो ।
लक्ष्मी नारायण श्रेष्ठ नेपालको पहिलो अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेट थिए । जापानबाट १० महिना भलिबल प्रशिक्षण पूरा गरी प्रशिक्षक बनेका श्रेष्ठ जावालाखेल भलिबल प्रशिक्षण केन्द्रको स्स्थापक उपाध्यक्ष र प्रशिक्षक थिए ।
उनकै नामबाट २०६० सालदेखि ट्रष्ट हरेक वर्ष राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने महिला तथा पुरुष खेलाडीलाई नगद १० हजारका दरले सम्मान समेत गर्दै आएको छ ।
प्रतिक्रिया 4