Comments Add Comment

अनुराधाको शानदार बलिङ, एकै ओभरमा लगातार ४ विकेट, दिइनन् कुनै रन

३१ साउन, काठमाडौं । जर्मनी महिला क्रिकेट टिमकी खेलाडी अनुराधा दोद्दाबाल्लापुरले अनौठो कीर्तिमान राखेकी छिन् । अष्ट्रियाविरुद्धको चौथो टी-२० खेलमा अनुराधाले एकै ओभरमा लगातार ४ विकेट लिइन् भने कुनै रन दिइनन् ।

उनले ३ ओभर मात्र बलिङ गर्दा २ ओभर मेडन राखिन् भने जम्मा १ रन खर्चेर ५ विकेट लिइन् ।

महिला टी-२० क्रिकेटमा उनी लगातार चार बलमा ४ विकेट लिने पहिलो खेलाडी समेत बनेकी छिन् । समग्रमा भने उनी ह्याट्रिक लिने १९ औं खेलाडी बनेकी छिन् । यस्तै जर्मनीको दोस्रो खेलाडी बनिन् । यसअघि जारी सिरिजमै जर्मनकी अन्ने बेरविसले अष्ट्रियाविरुद्ध ह्याट्रिक विकेट लिएकी थिइन् ।

टी-२० महिला क्रिकेटमा नेपालका रुबिना क्षेत्री र अन्जली चन्दले पनि ह्याट्रिक विकेट लिएका छन् ।

अष्ट्रेलिया भ्रमणमा रहेको रहेको जर्मनीले लगातार चार खेल्दै जित्दै सिरिजमा ४-० को अग्रता बनाइसकेको छ । क्रिस्टिना गउफको शतक अनि अनुराधाको ५ विकेटपछि जर्मनीले अष्ट्रियालाई १३७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

जर्मनीले पहिले ब्याटिङ गर्दै कुनै विकेट नगुमाई २० ओभरमा १९८ रन बनाएको थियो । क्रिस्टिनाले ७० बलमा १३ चौकाको मद्दतमा अविजित १०१ रन बनाइन् । यस्तै जानेट रोनाल्ड्सले ६८ रन जोडिन् ।

१९९ रनको उच्च लक्ष्य पछ्याएको अष्ट्रिया जर्मनीको बलिङसामु खुलेर खेल्न सकेन । पूरै २० ओभर ब्याटिङ गरे पनि अष्ट्रियाले ९ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो ।

अष्ट्रियाका लागि कप्तान आन्द्रे माए जेपेडाले सर्वाधिक २५ रन बनाइन् भने बुर्सा उचाले १२ रन जोडिन् । अरु खेलाडीले दोहोरो अंक छुन सकेनन् । अनुराधाले कसिलो बलिङ गर्दै लगातार विकेट झारेपछि अष्ट्रिया कम स्कोरमा रोकियो ।

अनुराधाले १५औं ओभरमा आफ्नो स्पेल शुरु गरेकी थिइन् । १४ ओभरसम्म अष्ट्रियाले ३ विकेट गुमाएर ४० रन बनाएको थियो । तर १५औं ओभरमा अनुराधाले खेलको माहोल नै फेरिदिइन् । उनले पहिलो बलमा रन दिइनन् । त्यसपछि लगातार ४ विकेट लिइन् भने अन्तिम बलमा पनि रन दिइनन् । पहिलो ओभरमा उनले कुनै रन नदिई ४ विकेट लिइन् ।

अनुराधाले ४ विकेट लिएपछि अष्ट्रिया ४०-७ को स्थितिमा पुग्यो ।

यस्तै १७औं ओभरमा उनले जम्मा १ रन दिइन् । १९औं ओभरमा अनुराधाले कुनै रन नदिई १ विकेट लिइन् । ३ ओभरमा उनले कुल ५ विकेट लिँदा १ रन मात्र खर्च गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment