+
+

बारामा फेरि निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ३२ गते १७:३१

३२ साउन, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय बाराले सोमबारदेखि लागु हुने गरी पुनः अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।  जिल्ला कोभिड समन्वय समितिको निर्णय अनुसार सोमबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी भएको हो । बारामा यसअघि साउन १८ गतेदेखि लागु हुने गरी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको थियो ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएकोले संक्रमण फैलनबाट रोक्न अनिश्चितकालिन निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम बारा जिल्लामा निषेधाज्ञा जारी गरिएको उनले बताए ।

प्रशासनले आइतबार जारी गरेको सूचनामा पुरै जिल्लामा अत्यावश्यक कामबाहेक कुनैपनि व्यक्ति घर तथा कम्पाउन्ड बाहिर निस्कन नहुने, पर्सा र बारा जिल्ला जोड्ने हुलाकी राजमार्गमा पर्ने सबै स्थानीय तहहरु, कलैया बजार क्षेत्र, पथलैया वीरगञ्ज औद्योगिक करिडोरमा पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हबी, सिम्रौनगढ, बरियारपुर, पचरौता, देवताल, करैयामाई लगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने क्षेत्रहरुमा मानिसको आवागमनलाई पूर्ण रुपमा रोक लगाइएको उल्लेख छ ।

अत्यावश्यक सेवामा संलग्न सरकारी तथा सार्वजनिक संस्थान बाहेकका अन्य सेवा प्रवाह गर्ने कार्यालयहरु बन्द रहने, सबै प्रकारका मेला, पर्व, जात्रा, जुलुस, महोत्सव भेला गर्न नपाइने, ग्याँस, इन्धन, दूध, डेरी तथा तरकारी पसल बिहान ८ बजेसम्म मात्रै खुल्ने, तरकारी पसलहरु मुख्य बजार क्षेत्रमा नराखी साइकल तथा ठेलागाडामा राखेर स्थानीय क्षेत्रमा बिहान ८ बजेअघि नै वितरण गरिसक्नुपर्ने सूचनामा उल्लेख छ ।

त्यस्तै भारतसँग जोडिएको सीमा नाकाहरुबाट भदौ मसान्तसम्म आवतजावत पूर्ण रुपमा बन्द गर्ने निर्णय पनि कोभिड समन्वय समितिले गरेको छ ।

बारामा थप ६५ जनामा कोरोना संक्रमण देखिएपछि जोखिम बढेको महसुस गर्दै समन्वय समितिले अनिश्चितकालिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

पर्सामा पनि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञालाई थप प्रभावकारी बनाउन आइतबारदेखि सेना परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?