Comments Add Comment

अन्तःशुल्क इजाजत असोज मसान्तसम्म नवीकरण गर्न सकिने

१ भदौ, काठमाडौं । सरकारले अन्तःशुल्क इजाजत लिएका करदाताका लागि समय थप गरिदिएको छ । अन्तःशुल्क ऐनअनुसार अन्तःशुल्क इजाजत पत्र साउन भित्र नवीकरण गरिसक्नु पर्छ । तर, कोरोना भाइरसको महामारीका यो वर्ष सरकारले अन्तःशुल्क नविकरण असोज मशान्तसम्म गर्न सकिने निर्णय गरेको हो । अर्थ मन्त्रालयबाट शुक्रबार यस्तो निर्णय भएको हो ।

यसअघि अर्थ मन्त्रालयले निकासी तथा पैठारी गर्ने कम्पनी तथा र्फमहरुले लिने एक्जिम कोड नविकरणको अवधि समेत असोजसम्म सारेको थियो । एक्जिम कोड नविकरण गर्नुपर्ने म्याद असार मसान्त हो । अर्थ मन्त्रालयले कोरोना भाइरसका कारण उत्पन्न कठिन परिस्थिति भन्दै एक्जिम कोड नवीकरण गर्ने अवधि थप गरेको छ  ।

मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०७७/७८ का कारोबार गर्ने र्फमहरुले अब असोज मसान्तसम्म एक्जिम कोड नविकरण गरिसक्नु पर्छ । अर्कोतर्फ कुनै र्फमको १० चैत २०७६ अगाडी नै अवधि सकिएर नवीकरण गर्न नसकेको अवस्था भएमा समेत आगामी असोजसम्म नवीकरण गर्न सकिने गरी समय तोकिएको छ । सरकारले कोरोना भाइरसको रोकथामका लागि ११ चैतबाट लकडाउन थालेको थियो । सरकारले अघिल्लो आव २०७६/७७ बाट एक्जिम कोर्ड कार्यान्वयनमा ल्याएको हो ।

एक्जिम कोड नवीकरण भने घरबाटै गर्न सकिने गरी प्रणाली विकास गरिएको छ । ‘भन्सार नियमावलीअनुसार नवीकरणका लागि बैंक जमानत र कर चुक्ता प्रमाणपत्र सहित भन्सार विभाग वा कार्यलयमै उपस्थित हुनु पर्दथ्यो । तर अब सबै काम डिजिटल माध्यमबाट घरबाटै गर्न सकिने भएको छ ।

एक्जीम कोड नविकरणकालागि विभागको वेबसाइटबाटै सेवाग्राहीले फर्म भर्न मिल्ने र कनेक्ट आईपीएसमार्फत विद्युतीय माध्यमबाट नगद भुक्तानी गर्न सकिने व्यवस्था भन्सार विभागले मिलाएको छ । एक्जिम कोड लिएर कारोबार गर्ने व्यवसायी ३० हजारभन्दा बढी छन् ।

चावहिलको काम अब जोरपाटीबाट

यता, सरकारले जोरपाटीमा नयाँ आन्तरिक राजस्व कार्यालय संचालनमा ल्याएको छ । यो कार्यक्रम चालु आवबाट सञ्चालनमा आएको हो । आन्तरिक राजस्व विभागका अनुसार साविकमा आन्तरिक राजस्व चावहिलबाट सेवा लिइरहेका करदाताले अब जोरपाटीबाट सेवा लिनु पर्ने भएको छ ।

यो आर्थिक वर्षमा करिव दुई दर्जन राजस्व कार्यालय थप्ने क्रममा जोरपाटीमा आन्तरिक राजस्व कार्यालय खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment