१५ जेठ, काठमाडौं । सरकारले चुरोट, रक्सी र बियरको अन्त:शुल्क बढाएको छ ।
आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले ती वस्तुुको अन्त:शुल्क बढाएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चुरोटमा अन्त:शुल्क करिब १० प्रतिशतसम्म बढाएका छन् । रक्सी र बियरमा बढाइएको अन्त:शुल्क बजेट भाषणमा वाग्लेले समावेश गरेका छैनन् ।
त्यसैगरी सरकारले गैरकर राजस्व परिचालन प्रभावकारी बनाउन छाता कानुन ल्याउने समेत वाग्लेले बताए । सरकारले नेपालभित्र कृत्रिम हातखुट्टा र अपाङ्गता सहयोगी सामग्री उत्पादन गर्ने उद्योगको नाममा पैठारी हुने कच्चापदार्थ आयातमा भन्सार महसुल छुट दिने व्यवस्था बजेटमा गरेको छ ।
त्यस्तै आवासीय भवनको बीमाबापत अधिकतम १० हजार रुपैयाँसम्म आयकर प्रयोजनका लागि कट्टी गर्न पाउने व्यवस्था बजेटले गरेको छ ।
विकास निर्माण आयोजना सञ्चालनका लागि जग्गाप्राप्ति गर्दा घरजग्गा रजिस्ट्रेसनका लागि तोकिएको सरकारी मूल्यांकनसम्मको रकममा पूँजीगत लाभकर नलाग्ने व्यवस्था गरेको वाग्लेले बताए ।
कृषि प्रशोधन उद्योगमा पहिलो १० वर्षको आयकर पूर्णरूपमा छुट र कोल्ड स्टोर, प्याकेजिङ तथा टेस्टिङ ल्याबसहित मेसिनरी उपकरण आयातमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) छुट हुने व्यवस्था गरिएको उनले बताए ।
प्रतिक्रिया 4