Comments Add Comment

कालीगढ र डिजाइनरहरूको अनिच्छित विश्राम !

तस्वीर : फाइल

काठमाडौं । कुनै बेला पर्यटकको आउजाउ भइरहने काठमाडौं उपत्यकाका तीनवटा दरबार क्षेत्रको आसपासमा आफ्नो कला कोर्नेहरू यतिबेला फुर्सदिला छन् । आकर्षक झ्याल ढोका, तोरण र टुँडालहरूमा आफ्नो कला खोप्नेहरूदेखि घरको झ्याल ढोका हुँदै इन्टेरियर डिजाइन गर्नेहरु समेत यतिबेला पुरानो दिनको पर्खाइमा बसिरहेका छन् । समग्रमा कालीगढ र डिजाइनरहरु कोभिडका कारण गरिएको पहिलो चरणको लकडाउन सुरु भएदेखि नै कामविहीन बनेका छन् । यसले गर्दा सिंगो काष्ठकला क्षेत्र नै यतिबेला विश्राममा छ ।

पाटनका मन्दिरमा सजिने टुँडालको डिजाइन गर्ने भक्तपुरका राजेन्द्र श्रेष्ठले यतिबेला काष्ठकलाको डिजाइनको माग नआएको बताउँछन् । चित्रकला र डिजाइनमा दखल राख्ने उनलाई घरमै कोर्ने चित्रकलाका कारण फुसर्दिलो बन्नु परेको त छैन । तर काष्ठकलालाई मात्रै आफ्नो मुख्य पेसाको रूपमा अघि बढाएकाहरू भने यतिबेला कामविहीन बनेका छन् ।

नेपाल काष्ठकला संघका निवर्तमान अध्यक्ष सानु राजा शिल्पकारले लकडाउनको एक साताअघिमात्रै दुई ठाउँमा घरका लागि आवश्यक पर्ने कामको सबै जिम्मा लिएका थिए । टोखामा निर्माणाधीन घर र हात्तीगौणामा गरिएको सम्झौता चैत ११ गते लकडाउन भएपछि रोकियो । पछि सम्पर्क गर्दा लकडाउन सकिएपछि मात्रै घरको काम अघि बढाउने जानकारी आएको शिल्पकार बताउँछन् ।

शिल्पकार यतिबेला काष्ठकला क्षेत्रको काम शून्यप्रायः रहेको बताउँछन् । काठमाडौंबाहिरका कालीगढहरू लकडाउनपछि यावत कष्ट झेलेर आफ्नै घर फर्किए । उनीहरू अहिलेसम्म फर्किएका छैनन् । धेरै कालीगढ एवं डिजाइनरहरू काठमाडौं उपत्यकामा नै छन् । तर उनीहरूले पनि अहिलेसम्म काष्ठकलाको काम अघि बढाउन नसकेको शिल्पकार बताउँछन् ।

अवसरको रूपमा विकास गर्नेबारे छलफल

शिल्पकार लकडाउनलाई सदुपयोग गरेर अवसरको रूपमा विकास गर्नुपर्ने बताउँछन् । ‘धेरैले हाम्रा सांस्कृतिक काष्ठकलाको बारेमा जानकारी लिएका छैनन् । हाम्रा कालीगढ र शिल्पकारले सिक्नुपर्ने अझै धेरै छ । काममा समय बिताउन नपाएको बेलामा पूर्वतयारीका काम गर्नसके यसलाई अवसरको रूपमा विकास गराउन सक्ने आधार छ । हामी त्यही तयारीमा जुटिरहेका छौं ।’

काष्ठकलालाई नै मुख्य पेसा मान्ने कालीगढ र डिजाइनरहरू लकडाउनका कारण मानसिक दबाबमा छन् । त्यसैले लकडाउन सकिएलगत्तै देशभरका काष्ठकलासम्बन्धी कालीगढ, श्रमिक, डिजाइनरलगायतलाई उत्प्रेरणामूलक तालिम दिने विषयमा समेत छलफल चलिरहेको शिल्पकार बताउँछन् । उनले अनलाइनखबरसँग भने ‘हामीले जुम मिटिङ या टेलिफोनमा वार्ता गरेर देशभरका काष्ठकलासम्बन्धी डिजाइनर, कालीगढ वा अरूसँग पनि सम्पर्क राखिरहेका छौं । उहाँहरूलाई उत्प्रेरणाको खाँचो देखेका छौं । हामीले लकडाउन सकिएलगत्तै उत्प्रेरणामूलक तालिम दिने तयारी गरिरहेका छौं ।’ साथै, आफ्नो व्यवसाय विस्तार योजना निर्माणसम्बन्धी तालिम समेत दिने तयारी भइरहेको उनी बताउँछन् ।

फल्ट प्रोडक्टको जस्तो लकडाउनको समयमा समेत काष्ठकलाले पनि अवसर पाउन सकेन । ५३ वर्षदेखि उड कार्भिङको काम गर्दै आएका शिल्पकार अहिलेजस्तो अवस्था काष्ठकला क्षेत्रले कहिलै नभोगेको बताउँछन् ।

अहिले काष्ठकला संघले काष्ठकला क्षेत्रले भोगेको क्षतिबारे विवरण संकलन गरेको छैन । तर क्षतिका कारण मानसिक रुपमा विक्षिप्त भएकाहरुलाई हौसला र उत्प्रेरणाको खाँचो भने देखेको संघका अधिकारीहरु बताउँछन् ।

काष्ठकलाको खरिद गर्ने भनेको या त विदेशी पर्यटक हुन् या त निर्माणको लागि हो । अहिले विदेशी पर्यटक पनि नआएको र निर्माणको काम पनि रोकिएकोले समस्या सिर्जना भएको कालीगढहरु बताउँछन् । त्यसैले अब आन्तरिक रुपमा समेत बजार विस्तारको लागि सम्भावनाको खोजी गरिरहेको शिल्पकारले जानकारी दिए ।

शिल्पकार भन्छन् ‘सोभेनियर, बेडजस्ता इन्टेरियर आदिको व्यवसाय अहिले चौपट छ । सबै कालीगढहरु चिन्तामा छन् । त्यसैले लकडाउन सकिनासाथ मानव स्रोतलाई साइको सोसियो माइण्ड सेटिङ कार्यक्रम र विजिनेस ग्रोथको ट्रेनिङ दिने तयारीमा छौं हामी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment