Comments Add Comment

दादुरा रुबेला खोप अभियानमा नेपाल सफल

३ भदौ, काठमाडौं । विश्वनै कोरोना महामारीले आक्रान्त भएर विभिन्न क्षेत्रमा व्यापक असर पारिरेहको हालको अवस्थामा नेपालले भने दादुरा रुबेला खोप अभियानमा सफल भएको छ । सरकारले संचालन गरेको यो अभियानमा लक्ष्य भन्दा झण्डै १५ हजार ५०० बढि बालबालिकाले खोप पाएका छन् ।

सरकारले दुई चरणमा संचालन गरको यो खोप अभियानमा कुल २५ लाख ६३ हजार ८१० जना बालबालिकाले खोप पाएको स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको तथ्याङ्कले देखाएकोछ । यो अभियानमा ९ महिनादेखि ५ वर्ष मुनिका २५ लाख ४८ हजार ३३६ बालबालिकालाई खोप लगाउने उद्धेश्य थियो ।

प्रदेश १ मा ४ लाख १४ हजार ६९४, प्रदेश २ मा ७ लाख १७ हजार २४३, बागमती प्रदेशमा ४ लाख ५ हजार ३१८ र गण्डकी प्रदेशमा १ लाख ८३ हजार ४७३ बालबालिकाले खोप पाएका छन् । त्यसैगरी कर्णाली प्रदेशमा १ लाख ६० हजार ८४८ र प्रदेश ५ मा ४ लाख ४९ हजार ५०९ र सुदूरपश्चिममा २ लाख ३२ हजार ७२५ बालबालिकाले यो खोप लगाएका छन् ।

परिवार कल्याण महाशाखा अन्तर्गत खोपशाखा प्रमुख डा.झलक शर्मा गौतमले असहज परिस्थितिका बाबजुद सरकारले लागु गरेको सुरक्षा मापढण्ड अपनाई लक्ष्यअनुसार खोप कार्यक्रम सम्पन्न गर्न सफल भएको बताए । उनका अनुसार यो अभियान अन्य मुलकका लागिसमेत उदाहरण भएको छ ।

परिवार कल्याण महाशाखाका अनुसार यस अभियानमा खोप लगाउन छुटेका बालबालिकालाई घर–घर खोजेर १४ हजार ८०१ जनालाई खोप लगाइएको थियो । साथै महाशाखाले खोप कार्यक्रमलाई सफल बनाउन योगदान पुर्याउने ९ हजार स्वास्थ्यकर्मी, १ लाख स्वयमसेवक, ५ हजार सुपरभाइजर र विकास साझेदार संस्थाहरु (गाभी, विश्व स्वास्थ्य संगठन, युनिसेफ, रोटरी, लायन्स इन्टरन्यासनल, नेपाल रेडक्रस सोसाइटी, वाटर एड, एनसेल र अन्य सञ्चार माध्यम) संस्थाहरुलाई  धन्यवाद दिएको छ ।

यस राष्ट्रिय दादुरा–रुबेला खोप अभियानमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत जनचेतना अभिवृद्धि तथा प्रचार प्रसारमा सहयोग पुर्याएको थियो ।

प्रदेशगत रुपमा हेर्ने हो भने सबै भन्दाबढि १३४ प्रतिशत अर्थात ७ लाख १७ हजार ४२३ बालबालिकाले यो खोप प्रदेश २ मा लगाएका छन् । यहाँ सरकारको ५ लाख ३६ हजार ८५ बालबालिकालाई खोप दिने लक्ष्य थियो । प्रगति प्रतिशतका हिसाबले सबैभन्दा कम बागमति प्रदेशमा ४ लाख ५ हजार ३१८ बालबालिकाले यो खोप पाए । यो लक्ष्यको ७४ प्रतिशत हो । बागमति प्रदेशमा दोस्रो चरण अर्थात चैत्र २०७६ मा यो अभियान संचालन भएको थियो र चैत्र ११ बाट बन्दाबन्दी शुरु भएको थियो ।

गत फागुन र चैतमा दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भनिएकोमा ३४ जिल्लामा पहिलो चरणको खोप निर्धारित कार्यक्रम अनुसार सम्पन्न भएको थियो भने ४३ जिल्लामा कोरोनाका कारण रोकिएको थियो । कोरोना संक्रमण बढेपछि जोखिम न्यूनीकरणका लागि स्वास्थ्य मन्त्रालयले चैत १० गते दादुरा रुबेला अभियान स्थगित गर्ने निर्णय गर्यो । जसका कारण खोप अभियान करिब एक महिना प्रभावित भएको थियो ।

यसैगरी खोप अभियानसँगै तराईका १९ जिल्लामा सञ्चालन गरिएको पोलियो थोपा कार्यक्रममा १६ लाख ३७ हजार २६५ बालबालिका सहभागी भएका थिए ।  खोपबाट बालबालिकाहरु छुट्दा देशका विभिन्न स्थानमा दादुराका बिरामी भेटिन थालेपछि छुटेका बालबाालिकालाई खोज्न महाशाखाले ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकाका लागि अभियान नै सञ्चालन गरेको थियो ।

खोप कार्यक्रम रोकिँदा बालबालिकामा अन्य स्वास्थ्य समस्या बढ्ने जोखिम देखिएपछि सर्वोच्च अदालत र मन्त्रिपरिषद्को निर्णय अनुसार वैशाख १९ गते दादुरा रुबेला खोप कार्यक्रम अघि बढाउन आदेश दियो  । त्यसपछि रोकिएको दादुरा रुबेला कार्यक्रम पुनः सञ्चालनमा आएको थियो ।

यसै अनुरुप परिवार कल्याण महाशाखाले असार ११ देखि २१ सम्म काठमाडौं महानगरपालिका भित्र भौतिक दूरी कायम गर्दै र अन्य आवश्यक सबै सुरक्षा मापढण्ड अपनाई यो खोप अभियान चलाएको थियो ।

दादुरा रुबेला खोप अभियान असार २३ गते सकिएको थियो । नेपालमा पहिलोपटक सन् २००४ देखि दादुरा रुबेला खोप सञ्चालन भएको थियो । त्यसयता प्रत्येक ४र४ वर्षमा खोप अभियान हुँदै आएको छ । सन् २००४ मा १०४ प्रतिशत, २००८ मा ९३ प्रतिशत, २०१२ मा १०१ प्रतिशत, २०१५ मा १४ वटा भुकम्प प्रभावित जिल्लामा ९१ र २०१६ मा बाँकी ६१ वटा जिल्लामा १०१  प्रतिशत बालबालिकाले खोप पाएका थिए ।

सरकारले सन् २०१९ मा नेपालबाट दादुरा रुवेला निवारण गर्ने लक्ष्य लिए पनि बालबालिकाहरु दादुरा रुबेला खोपबाट छुटेपछि यो लक्ष्य पूरा हुन सकेको थिएन । त्यसैले सरकारले यो खोप अभियान संचालन गरेको थियो । नियमित खोपमा  दादुरा रुवेला खोप ९ महिना र १५ महिनामा दुई मात्रा दिने गरिन्छ । नेपाल सरकारले प्रदान गरेका नियमित खोपहरु सुरक्षित, प्रभावकारी र निःशुल्क छन् । सहज वा असहज परिस्थितीमा पनि सबै अभिभावकहरुले  आफ्ना बालबालिकालाई अनिवार्य रुपमा खोप लगाउन आवश्यक छ ।

सरकारले जसरी पनि सन् २०२३ सम्ममा नेपालबाट दादुरा र रुवेला निवारण गर्नुपर्नेछ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरु जस्तै आँखामा समस्या भई अन्धोपन हुने, झाडापखाला लाग्ने, कान पाक्ने, श्वासप्रश्वासको कडा संक्रमण ९न्युमोनिया० हुने, मस्तिष्कमा कडा खालको सुजन हुने, मस्तिष्क ज्वरो आउने, कम्पन हुने र जटिलताका कारण मृत्यु पनि हुन सक्ने हुन्छ ।

रुबेलाले हाडजोर्नीहरु सुन्निने वा दुख्ने, रक्तश्राव हुने, गर्भावस्थामा संक्रमण भए गर्भपतन हुने वा मृत शिशु जन्मिने, जन्मजात बहिरोपना, अन्धोपना हुने, मुटुमा विकृतिका समस्याहरु देखिने, मस्तिष्क पूर्णरुपले वृद्धि नहुने, सुस्त मनस्थिती हुने र कलेजो र फियोमा असर जस्ता जटिलताका कारण मृत्यु पनि हुन सक्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

अलविदा राष्ट्रकवि

Advertisment