Comments Add Comment

क्वाटर छाड्न स्वास्थ्यकर्मीलाई नगरपालिकाको पत्र

४ भदौ, काठमाडौं । दक्षिणकाली नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) को महामारीको समयमा स्वास्थ्यकर्मीहरु सात दिनभित्र स्वास्थ्य केन्द्रको आवास खाली गर्न निर्देशन दिएको छ ।

नगरपालिकाले आइसोलेसन कक्ष बनाउन चाल्नखेल प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरु बस्दै आएको भवन सात दिनभित्र खाली गर्न निर्देशन दिएको हो ।

संक्रमितहरुको चौबिसै घण्टा निगरानी गर्नुपर्ने भएकाले स्वास्थ्य केन्द्रका डा. सरिता विकलाई भने नगरपालिकाले क्वाटर उपलब्ध गराएको छ । तर लामो समयदेखि बस्दै आएका चार जना स्वास्थ्यकर्मीलाई भने क्वाटर खाली गर्न भनिएको छ ।

यसले आफूहरु समस्यामा परेको स्वास्थ्यकर्मीहरु बताउँछन् । ‘यो महामारीको समयमा बाहिर गएर कोठा खोज्दा सहजै पाउन मुश्किल छ । स्वास्थ्य केन्द्रमा दुई जना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई स्थानीयले सहजै कोठा दिने अवस्था पनि छैन’ अस्पतालका डा. सरिता विकले भनिन्, ‘त्यसैले यो संकटको घडीमा स्वास्थ्यकर्मीलाई क्वाटर छोड्न निर्देशन दिने कार्य व्यवहारिक छैन । यसले स्वास्थ्यकर्मीहरुको मनोवल गिराउने काम गरेको छ ।’

‘स्वास्थ्यकर्मीले भाडा तिर्ने गरी कि त नगरपालिका स्वयंमले बस्ने ठाउँको व्यवस्था मिलाएर कोठा छा्ड्न भनेको भए हुन्थ्यो । संकटको समयमा हामी पनि सहयोग गर्न तयार नै थियौं । समय धेरै छोटो भएका कारण पनि स्वास्थ्यकर्मीहरु समस्यमा छन् ।’

नगरपालिकाको निर्देशन आएको दिनदेखि कोठा खोजेको तर नपाएको हेल्थ असिस्टेन्ट सुशिला काप्रीले बताइन् । ‘एक ठाउँमा कोठा पाएको पनि थिएँ । तर पछि जाँदा अरुलाई दिइसक्यो भनेर टारे,’ उनले भनिन्, ‘संक्रमितको उपचारमा संलग्न भएकै कारण हामीले बाहिर सहज कोठा पाउन मुश्किल छ । रुम पाए छिट्टै छाडेर सहयोग गर्ने पक्षमा छौं ।’

नगरपालिकाका सूचना अधिकारी दिपककुमार केसीले मौखिक रुपमा भन्दा कोठा खाली नगरेपछि संकटको घडीमा क्वार्टर खाली गर्न निर्देशन दिनुपर्ने अवस्था आएको उनले बताए । केसीले भने, ‘यसअघि हामीले वडा नम्बर ५ मा रहेको त्रिभुवन माविको भवनलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्दै आइरहेका थियौं । तर सरकारले विद्यालयबाट क्वारेन्टिन हटाउने निर्णय गर्‍यो । विद्यालयले पनि पटक पटक क्वारेन्टिन हटाउन अनुरोध गरेपछि स्वास्थ्य केन्द्रको भवन प्रयोग गर्ने गरी आइसोलेसन बनाउने निर्णय नगरपालिकाले गरेको हो ।’

नगरपालिकास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको साउन ३२ गतेको बैठकले स्वास्थ्य केन्द्रको क्वाटरमा बस्दै आएका एकजना हेल्थ असिस्टेन्ट, दुई जना अनमी र एक जना सिनियर अहेवलाई क्वाटर खाली गर्न निर्देशन दिएको हो ।

‘स्वाथ्य केन्द्रलाई आवश्यक नहुन्जेल हामीले उहाँहरुलाई बस्न दिएकै हौं । उहाँहरुलाई स्वास्थ्य केन्द्रले क्वाटर उपलब्ध गराउनु पर्छ नै भन्ने पनि छैन । उपयोग विहीन अवस्थामा रहेकाले बस्न दिएका हौं,’ सूचना अधिकारी केसीले भने, ‘तर अब नगरपालिकालाई आवश्यक पर्न गयो र छोड्न भनेका हौं । उहाँहरुले पनि यो संकटको घडीमा क्वाटर खाली गरेर नगरपालिकालाई सहयोग गर्नुपर्छ ।’

पछिल्लो एक हप्तामा नगरपालिकाभित्र ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई जना संक्रमितको स्वास्थ्य केन्द्रको आइसोलेसनमा उपचाररत छन् । ६ जना होम आइसोलेसनमा छन् । एक जना ह्याम्स अस्पतालमा उपचाररत छन् । र, अब स्वास्थ्य केन्द्रको भवनमा ३० बेडको आइसोलेसन विस्तार गर्ने नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment