Comments Add Comment

रत्ननगर अस्पतालका मेसुले जिते कोरोना, प्लाजामा दिन तयार

६ भदौ, चितवन । पूर्वी चितवनको बकुलहर रत्नननगर अस्पताल टाँडीका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. विश्वबन्धु बगाले, कोरोना जित्न सफल भएका छन् ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा डा. बगालेको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।

भरतपुर अस्पतालबाट लिइएको स्वाबमा ३९ वर्षीय डा.बगालेको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ । डा. बगाले र उनकी श्रीमतीलाई साउन २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

होम आइसोलेसनमा बस्दै आएका डा. बगाले र छोराको रिपोर्ट नेगेटिभ आए पनि उनको श्रीमतीको भने पोजेटिभ नै आएको छ । उनी पनि डाक्टर हुन् । डा. बगालेलाई कार्यक्षेत्रमै खटिएका बेलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमणमुक्त भएपछि डा. बगालेले अनलाइनखबरसँग कुरा गर्दै कोरोना संक्रमित गम्भिर प्रकृतिका बिरामीका लागि प्लाज्मा थेरापीबाट उपचार गराउनुपर्ने अवस्था आएमा आफू तयार रहेको बताएका छन् । ‘प्लाजामा थेरापीबाट कसैको उपचार गराउनुपर्ने भए म रगत दिन तयार छु,’ डा. बगालेले भने ।

कोरोना संक्रमित भएर घरमा नै बसेको बेलामा डा. बगाले दम्पतिलाई टोल सुधार समितिका केही व्यक्तिहरुले कोरोना संक्रमितको घर भनेर ब्यानर टाँस्न खोजेका थिए । उनले आफूलाई त्यस घटनाले निकै दुःखी बनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment