Comments Add Comment
दुबईका नेपाली उद्धार स्थगन प्रकरण :

सरकारविरुद्ध प्रवासी नेपालीको आक्रोश- अब हुन्डीबाट पैसा पठाउँछौं !

४ भदौ, काठमाडौं । नेपाली श्रमिक लिन दुबई गएको नेपाल एयरलाइन्स मंगलबार रित्तै फर्कियो । स्वदेश र्फकनका लागि विमानस्थलमा आइपुगेका १०० भन्दा बढी नेपाली अलपत्र परे । त्यसै दिन सरकारले टर्कीको इस्तानबुलसम्म युरोप र अमेरिकाबाट आएका २०१ यात्रुलाई टर्किस एयरलाइन्सबाट नेपाल आउन दियो ।

त्यसलगत्तै दुबईमा प्रवासी नेपालीको समाजिक सञ्जालका ग्रुपतिर सन्देश फैलियो, ‘सरकारले नेपाली कामदारको उद्धारमा चरम बेवास्ता गर्‍यो, अब सरकारलाई असहयोग गरौं, रेमिट्यान्सबाट हैन, हुन्डीमार्फत पैसा पठाऔं ।’

सरकारले सोमबार नै होटल क्वारेन्टिनको व्यवस्था नभएको भन्दै विदेशबाट भइरहेको चार्टर्ड उडान रोकेलगत्तै यस्ता सन्देशहरु छिटपुटरुपमा फैलिन थालेको थियो । सोही दिनदेखि दिनमा २ सय जना श्रमिकलाई सरकारी खर्चमा उद्धार गर्न सुरु गर्ने भनिएको थियो ।

मंगलबार दुबईमा पुगेको विमान पनि खाली फर्किएपछि भने ‘हुन्डी गरौं’ भन्ने अभियानमा श्रमिकहरुको समर्थन बढ्दै गएको छ । श्रमिकलाई आएका सन्देशहरुमा मनी ट्रान्सफरमार्फत पठाउँदा भन्दा ३/४ रुपैयाँ बढी पैसा आफन्तको हातमै पुग्ने उल्लेख छ ।

यो सन्देश दुबईमा बस्ने नेपालीमाझ डढेलोजस्तै फैलिएको छ । अहिले दुबईमा रहेका धेरै नेपालीले सामाजिक सञ्जालमा खुलारुपमै हुन्डीमार्फत पैसा पठाउन आग्रह गरिरहेका छन् ।

सरकारविरुद्धको रोष

हुन्डीमार्फत पैसाको कारोबार गर्नु अवैधानिक हुन्छ । सरकारले लामो समयदेखि हुन्डीको प्रयोगलाई कम गर्न भनेर मनी ट्रान्सफर सेवालाई बढावा दिँदै आएको छ । विगतमा भन्दा हुन्डीको प्रयोग कम हुँदै गएको पनि छ ।

तर, सरकारले विदशेमा अलपत्र नेपाली कामदारको उद्धारलाई बेवास्ता गरेपछि विदेशमा रहने नेपालीमाझ हुन्डी प्रवर्द्धन हुने जोखिम बढेको छ । दुबईमा ‘हुन्डीमार्फत पैसा पठाएर सरकारलाई असहयोग गर्ने’ बहकाउ अभियान छेडिएको छ ।

यो स्वतःस्फुर्तरुपमा अघि बढेको हो वा हुन्डीका कारोबारीले श्रमिकलाई बहकाएर लाभ लिन खोजेको हो भन्ने स्पष्ट नभएको यूएईमा कार्यरत श्रमिकले बताए ।

‘ग्रुपहरुमा हाम्रै साथीहरु पनि लेखिरहनुभएको छ, समाजिक सञ्जालमा जताततै सरकारले हेरेन, अब घाटा खाएर सरकारलाई किन रेमट्यान्स पठाउने? भन्नेखालका पोस्ट देखिएका छन्,’उनले भने,’यो अवैध हो भन्ने जान्दाजान्दै पनि सरकारलाई सबक सिकाउन रेमिट्यान्सको वैधानिक आप्रवाह रोक्नुपर्छ भनेर भड्काउन खोजिएको छ ।’

विदेशमा बसेका हजारौं कामदारको भावनामा सरकारले ठेस पुर्‍याएको मौका बनाएर हुन्डीलाई फेरि प्रवर्द्धन गर्न खोजिएको आशंका उनलाई छ ।

अर्थतन्त्रलाई हानीको जोखिम

रेमिट्यान्स सीधै सरकारको खातामा आउने रकम हैन । विदेशमा रहेका नेपालीले आफ्नो आफन्तलाई बैंक तथा रेमिट्यान्स कम्पनीमार्फत पठाउने रकम विदेशी मुद्राको सटही दरअनुसार नेपालमा भुक्तानी गरिन्छ ।

त्यसरी पैसा पठाउँदा तोकिएको शुल्क भने लाग्छ । रेमिट्यान्स शुल्क भने महंगो छ । यसले गर्दा धेरैले रकम धेरै पाइलो लोभमा हुन्डी रोज्छन् । हुन्डीका कारोबारीले रेमिट्यान्स कम्पनीको भन्दा राम्रो विनिमय दरमा नेपालमा रकम भुक्तानी गर्ने लोभ देखाएर कारोबार गराउन प्रोत्साहित गर्ने गरेका छन् ।

वैदेशिक हुण्डीका कारण बाह्य मुलुकबाट देशमा आउनुपर्ने जति परिमाणमा विदेशी मुद्रा आउँदैन र राष्ट्रिय अर्थतन्त्रमा अभिलेखको रुपमा पनि देखिँदैन । विप्रेषण खाता घाटामा रहन्छ ।

अर्कातिर देशबाट गैरकानूनीरुपमा राष्ट्रिय सम्पत्ति वा पूँजी पलायन भएर विदेश जान्छ । कतिपय अवस्थामा यही विदेश गएको रकम वैदेशिक लगानीको रुपमा फेरि अर्को बाटोबाट नेपाल भित्रिएर सम्पत्ति शुद्धीकरणको माध्यम पनि बन्न सक्छ ।

लकडाउनपछि एजेन्टहरु सक्रिय हुन नपाएकाले प्रक्षेपित भन्दा कम दरमा रेमिट्यान्स घटेको अनुमान गरिँदै आएको छ । जेठ महिनासम्म नेपालमा गत वर्षको भन्दा ३ प्रतिशत मात्रै रेमिट्यान्स घटेको छ । जबकि सरकारले महामारीपछि रेमिट्यान्स आगमन १८ प्रतिशतसम्म घट्ने अनुमान गरेको थियो ।

यो पनि पढ्नुस्- विदेशबाट हुने उद्धार उडान अनिश्चितकालका लागि स्थगित

तर, अहिले मलेसिया, दुबई लगायतका श्रम गन्तब्यमा महामारी नियन्त्रणउन्मुख छ । यही बेलामा नेपालमा हुन्डीमार्फत पैसा पठाउने अभियान चल्नुले कारोबारीहरु सक्रिय भएको हो कि भन्ने अनुमान गरिएको छ ।

यद्यपि श्रमिकहरुले भने सरकारले देखिएको गैरजिम्मेवारीपूर्ण व्यवहारको जवाफका रुपमा यसलाई ब्याख्या गरेका छन् । दुबईको एक एयरपोर्टमा कार्यरत कामदार भन्छन्,’रेमिट्यान्सको महत्व सरकारले बुझेन, अब नेपालीहरुले बुझाउनुपर्छ भनेर अभिमान सुरु भएको, बुझेका छौं, यसमा म र मेरा साथीहरुको समर्थन छ ।’

हुन्डी कारोबारीले विनिमय दर पनि राम्रो दिने र घरमा पैसा लिएपछि मात्रै आफूलाई पैसा दिए हुने भनेकाले ठगिने खतरा नरहेको उनले दावी गरे ।

विगतमा हुन्डी गर्दा धेरै नेपाली कामदारको पैसा लिएर कारोबारीहरु भागेका छन् । हुन्डी मौलाएमा ठगी पनि बढ्ने जोखिम हुन्छ ।

यसरी सरकारलाई दबाब दिने नाममा हुन्डी कारोबार बढेमा त्यसले अर्थतन्त्रमा क्षति पुग्ने बताउँछन् वैदेशिक रोजगारका जानकार मधुविलास पण्डित । सरकारले आफ्नो खर्चमा फर्किन नसक्ने बेखर्ची कामदारको उद्धारमा चासो नदिएपछि सरकारप्रति श्रमिकको वितृष्णाका बढेकाले त्यसलाई हुन्डी कारोबारीले दुरुपयोग गर्ने खतरा रहेको औंल्याए ।

‘सरकारले आफ्ना विदेशमा रहेका श्रमिकलाई हामी यो संकटमा साथै छौं भन्ने सन्देश दिने गरी उद्धारमा तीव्रता दिनुपर्छ,’ उनी भन्छन्, ‘उद्धारको उडान पनि बन्द गरेर बसेपछि कामदारहरुमा मनोवैज्ञानिक विचलन आएको हुनसक्छ ।’

हुन्डीका प्रयोग हुने रकमले राज्यलाई उल्टो हानी नोक्सानी गर्नसक्ने जोखिम हुने भएकाले समेत हुनुपर्ने पण्डितले बताए ।

नेपालमा आउने हुण्डीको रकम प्रायः हाम्रा विदेशी मुलुकमा काम गर्न गएका कामदारको पारिश्रमिक नै हो । जुन रकममा प्राप्त हुने विदेशी मुद्रा नेपालको बैंकिङ प्रक्रियामा नआई उतै रहने र सो रकमबाट तस्करी गरेर चोरी-पैठारी गरेका मालसामानको मूल्य भुक्तानीमा प्रयोग गरिन्छ ।

त्यसैगरी अवैध हातहतियारको भुक्तानी, लागुपदार्थको भुक्तानी, नेपालबाट पूँजी पलायन गरी विदेश पठाउनुपर्ने रकमको भुक्तानी र सम्पत्ति शुद्धीकरणका लागि विदेशी लगानीका रुपमा नेपालका व्यापार व्यवसायमा हुने लगानीमा समेत प्रयोग भएको पाइन्छ । यसका अलावा न्यून बिजकीकरण गरी भन्सारमा कम मूल्य घोषणा गरेर ल्याइने सामानको यथार्थ मूल्य भुक्तानी गर्नसमेत प्रयोग गरिन्छ ।

पर्यटन मन्त्रीलाई थाहै नदिई उडान स्थगित

कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले संक्रमण बढेको र होटल क्वारेन्टिनको व्यवस्था नभएको भन्दै सोमबार दुबईको उद्धार उडान स्थगित गर्न पत्र लेखेको थियो । जसका कारण सोमबार राति दुबई पुगेको नेपाल एयरलाइन्सको विमान मंगलबार विहान रित्तै फर्कियो ।

तर, दिउँसो इस्तानबुलबाट भने टर्किस एयर भने भीआईपी यात्रुहरु लिएर फर्कियो । यसबारे समाजिक सञ्जालमा प्रश्न उठेपछि सीसीएमसी निर्देशक समितिको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्रालयसँग परामर्श नै नगरी उद्धार उडान स्थगित गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

मन्त्री भट्टराईले ईश्वर पोखरेललाई लक्षित गर्दै सोधेका थिए, ‘के आधारमा यो निर्णय गरिएको हो ? हामीसँग सरसल्लाह गर्नुपर्दैन ?’

यात्रु लिन नेपालबाट विमान उडिसकेको र यात्रुहरु विमानस्थलमा आइसकेको अवस्थामा सीसीएमसीले गरेको निर्णयले सरकारविरुद्ध नाराबाजी गर्ने अवस्था आएको भन्दै उनले बैठकमा भनेका थिए, ‘यहीँभित्रबाट कसले षड्यन्त्र गर्दैछ ?’

बैठकमा सीसीएमसी निर्देशक समितिका संयोजक एवं रक्षामन्त्री ईश्वर पोखरेलले भने समन्वय नहुनु कमजोरी भएको स्वीकारेका थिए ।

यो पनि पढ्नुस्-

बेखर्चीको उद्धार सुरु नहुँदै चार्टर्ड उडानको ‘ब्यापार’ पनि बन्द !

दुबईबाट रित्तै फर्किंदै नेपाल एयरलाइन्स, एयरपोर्टमा करिब १०० नेपाली यात्रु अलपत्र

दुबईबाट नेपाल एयरलाइन्स रित्तै आयो, इस्तानबुलबाट टर्किसले २०१ यात्रु ल्यायो

पर्यटनमन्त्रीलाई थाहै नदिई उद्धार उडान स्थगित !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment