
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा मंकीपक्सको चौथो पुष्टि भएको छ, संक्रमित व्यक्ति साउदी अरबबाट फर्किएका थिए।
- चिकित्सकका अनुसार संक्रमण मुख्यत: असुरक्षित यौन सम्पर्क र साझा वस्तु प्रयोगबाट सर्छ।
- चिकित्सकहरूले जोखिमयुक्त क्षेत्रमा जाने व्यक्तिहरूलाई सचेत रहन र संक्रमणको जोखिम कम गर्न सुझाव दिएका छन्।
८ असार, काठमाडौं । रोजगारीका लागि साउदी अरब गएका ३७ वर्षीय एक युवामा गत बिहीबार मंकीपक्स संक्रमण पुष्टि भयो । ती युवा १० दिनअघि मात्रै नेपाल फर्किएका थिए ।
बूढानीलकण्ठमा अस्थायी रूपमा बसेका ती व्यक्तिमा नेपाल फर्किएको भोलिपल्टै गुप्ताङ्ग, पेट, टाउकोमा र हातमा स–साना बिबिरा देखापरेको थियो ।
ज्वरो आउनुका साथै शरीर भारी भएपछि उनले नजिकैको प्राइभेट क्लिनिकमा देखाए । तर साउदी अरबबाट आएको भनेपछि चिकित्सकले शंका गर्दै टेकु अस्पताल रेफर गरे ।
नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षण गरिएपछि बिहीबार मंकीपक्स पुष्टि भयो ।
उनी साउदी अरबमा मजदुरी गर्थे । उपचारमा संलग्न चिकित्सकका अनुसार तीन–चार महिना अगाडि ती व्यक्तिले असुरक्षित यौनसम्पर्क गरेका थिए ।
‘केही हप्ताअघि मात्रै पनि ती संक्रमित व्यक्तिका साथीले असुरक्षित यौनसम्पर्क गरेका रहेछन्,’ चिकित्सकले अनलाइनखबरसँग भने, ‘कोठामा सँगै बस्दा थुकको छिटा र खुला छालाबाट सरेको हो कि भन्ने आशंका छ ।’
संक्रमित युवा अहिले टेकु अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
‘अहिले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । केही दिनमा डिस्चार्ज हुनुहुन्छ,’ ती चिकित्सकले भने ।
यो नेपालमा मंकीपक्स पुष्टि भएको यो चौथो केस हो । जसमध्ये ३ जना प्रवासी नेपाली नै कामदार छन् । सन् २०२३ मा नेपालमा पहिलो पटक ६० वर्षकी महिलामा मंकीपक्स पुष्टि भएको थियो ।
०००
गत पुसमा पनि ३६ वर्षीय युवा गुप्ताङ्ग नजिकै स–साना बिमिरा देखिएपछि साउदी अरबबाट नेपाल फर्किएका थिए । विमानस्थलबाट सिधै निजी अस्पताल पुगेका ती युवालाई मंकीपक्सको शंका गर्दै चिकित्सकले टेकु अस्पतालमा रेफर गरे । थप परीक्षणपछि मंकीपक्स पुष्टि भयो ।
‘असुरक्षित यौन सम्पर्क गरेको केही दिनमै गुप्ताङ्ग नजिकै स–साना बिमिरा आएको बताएका थिए,’ टेकु अस्पतालका चिकित्सक भन्छन्, ‘ती व्यक्तिमा संक्रमण हुनुमा असुरक्षित यौनसम्पर्क नै थियो ।’
शरीरमा बिबिरा देखिन थालेपछि सुरुमा ज्यान तातेको र ज्वरो बढेको ती युवाले चिकित्सकलाई सुनाएका थिए ।
शरीरका विभिन्न ठाउँमा बिबिरा बढ्दै गएपछि उनले साउदीमै चिकित्सकलाई देखाए । शरीर तात्तिँदै गएपछि उपचारका लागि नेपाल नै सहज हुने ठानेर कम्पनीमा कुराकानी गरेर फर्किएका थिए ।
आउट ब्रेकको संकेत
उपचारमा संलग्न चिकित्सकका अनुसार संक्रमण सर्नुको कारणमध्ये असुरक्षित यौनसम्पर्क एक हो ।
‘सबै केस सुन्दा संक्रमित व्यक्ति असुरक्षित यौन सम्पर्कका लागि जाने गरेको देखियो,’ ती चिकित्सक भन्छन्, ‘साथीभाइ पनि जाने गरेको संक्रमित व्यक्तिले बताएका छन् ।’
३७ वर्षीय ती युवकले आफू काम गर्ने कम्पनीमा ८० प्रतिशत नेपाली भएको बताएका छन् । ‘लेबर काम गर्ने व्यक्ति बेला–बेलामा यौनसम्पर्क लागि जाने गरेको देखियो,’ ती चिकित्सक भन्छन्, ‘जोखिमयुक्त क्षेत्रमा यौनसम्पर्क गर्दा संक्रमण सरेको देखिन्छ ।’
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन साउदी अरेबियालगायत मध्यपूर्वी देशमा मंकीपक्सको बढ्दो संक्रमणले नेपाली समुदायलाई गम्भीर जोखिममा पारेको बताउँछन् ।

नेपालीका लागि मध्यपूर्वका देशहरू रोजगारीको प्रमुख गन्तव्य हुन् । दैनिक सयौं व्यक्ति साउदी अरब, यूएई, कतार जस्ता देशमा गइरहेका छन् । ती देशबाट फर्किने पनि उत्तिकै हुन्छन् । मानिसको ठूलो आवत-जावतबाट एक देशमा देखिएको र फैलिएको संक्रमण अर्को देशमा पुग्न सक्ने सम्भावना उत्तिकै रहन्छ ।
रोजगारीको सिलसिलामा पुगेकाहरुको भेटघाट पनि बाक्लो हुने वा एकै कोठामा धेरै जना रहने हुँदा मंकीपक्स संक्रमण एकअर्कामा सर्न सक्ने जोखिम उच्च हुन्छ । विशेषगरी एमपक्स संक्रमण पहिचान हुन ढिलो भएमा धेरै मानिस एकै ठाउँमा काम गर्दा वा सँगै बस्दा सर्ने सम्भावना बढी हुन्छ ।
चिकित्सकका अनुसार मंकीपक्स भएका केही सामान्य लक्षण मात्रै देखिन सक्छ । जसका कारण नेपाल फर्केका व्यक्तिहरू सिधै अस्पताल नजाने सम्भावना रहन्छ । यसले नेपालमा रोग भित्रिएर भित्रभित्र फैलिने सम्भावनालाई एकदम खुला बनाएको छ ।
उनका अनुसार यस्ता जोखियुक्त क्षेत्रमा गएर यौनसम्पर्क गरेका व्यक्तिबाट कोठामा बस्ने अन्य साथीलाई संक्रमण सर्ने जोखिम रहन्छ ।
कोठामा सँगै बस्दा थुकको छिटा, प्रयोग गरेको वस्तु र सामग्री हुँदा, खाने र भाँडाकुँडा साझा गर्दा र संक्रमित व्यक्तिको ओछ्यान, तौलिया वा लुगा प्रयोग गर्दा संक्रमण सर्ने जोखिम रहन्छ ।
डा. पुनले जिका भाइरसको जस्तै मंकीपक्स पनि वीर्यबाट सर्ने सम्भावना रहेको बताए । उनका अनुसार उपचारपछि पनि ३ महिनासम्म असुरक्षित यौन सम्पर्क नगर्न सल्लाह दिइन्छ ।
सरकारलाई यस विषयमा गम्भीर रूपमा सोचेर मंकीपक्स जोखिम ठाउँमा जाने व्यक्तिलाई कम्तीमा केही समयको ओरिएन्टेसन कक्षा दिनुपर्ने डा. पुनको सुझाव छ ।
‘केही विकसित देशले आउट ब्रेक भएका देशका लागि ट्राभल एडभाइजरी जारी गर्छन् । नेपालले पनि जोखिम क्षेत्रमा जाने नेपालीलाई जानकारी दिनुपर्छ । यसले गर्दा उनीहरू संक्रमणबाट जोगिने सम्भावना न्युन हुन्छ,’ डा. पुन भन्छन् ।
विदेशी रोजगारीमा जाने नेपालीको सुरक्षाका लागि व्यापक रणनीति आवश्यक रहेको विज्ञ बताउँछन् ।
‘यसरी संक्रमण देखा पर्नुले आउट ब्रेक हुने संकेत गर्छ । मंकीपक्स नियन्त्रणका लागि सरकारले गम्भीर भएर रणनीति बनाउन आवश्यक छ,’ डा. पुनले भने ।
मंकीपक्स पुष्टि भए समाजमा आफूलाई हेर्ने नजर नकारात्मक होला भनेर परीक्षणको लागि आउने सम्भावना पनि न्यून भएकाले यौन क्रियाकलापमा संलग्न हुनेलाई मात्र हुन्छ भन्ने भ्रम पनि चिर्नुपर्ने डा. पुन बताउँछन् ।
१० संक्रमितमध्ये एकको मृत्यु
चिकित्सकका अनुसार एमपक्स मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । एमपक्स मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्ने गर्छ ।
यो पोक्सभिरिडे परिवारको अर्थोपक्स भाइरस जिनस अन्तर्गत पर्ने डबल स्ट्रन्डेड डीएनए भाइरस हो । मंकीपक्सका लक्षण बिफरसँग मिल्दाजुल्दा हुन्छन् । यद्यपि, बिफरको तुलनामा मंकिपक्स कम गम्भीर र विरलै घातक हुन्छ ।
विश्वव्यापी बिफर खोपको अन्त्यपछि मंकीपक्स मध्य, पूर्वी र पश्चिम अफ्रिकामा निरन्तर रूपमा देखा परिरहेको छ । मंकीपक्सले २०२२–२०२३ मा विश्वव्यापी प्रकोपको रूप लिएको छ । तर यो भाइरसको प्राकृतिक भण्डार अज्ञात छ । विभिन्न साना स्तनपायी जनावर लोखर्के, बाँदरबाट भाइरस सर्ने गर्छ ।
मंकीपक्सका लक्षण सामान्यतया २ देखि ४ हप्तामा हराएर जान्छन् । बच्चामा भने गम्भीर समस्या देखा पर्न सक्छ । रोगको गम्भीरता भाइरस संक्रमणको मात्रा, बिरामीको स्वास्थ्य स्थिति र जटिलताको प्रकृतिसँग सम्बन्धित हुन्छ । यसले कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसमा गम्भीर समस्या निम्त्याउन सक्छ ।
चिकित्सकका अनुसार संक्रमण भएको ५ देखि २१ दिनसम्ममा ‘मंकीपक्स’ को लक्षण देखिने गर्छ । ज्वरो आउनु, टाउको र जीउ दुख्नु, जाडो लाग्नु, लिम्फ ग्रन्थीहरू सुन्निनु यसका प्रारम्भिक लक्षण हन् । यस्तो लक्षण देखिएको १ देखि ३ दिनसम्ममा अनुहार तथा शरीरका अन्य भागमा बिमिराहरू देखिन थाल्छन् र चिलाउँछन् । पछि पानी फोका हुँदै, फुट्दै, सुक्दै जान्छन्, तर दाग बसिरहन सक्छ ।
मंकीपक्सका गम्भीर बिरामीमा सेकेन्डरी इन्फेक्सन, ब्रोन्कोनिमोनिया, सेप्सिस, इन्सेफलाइटिस र कर्नियाको संक्रमणले दृष्टि गुम्ने समेत हुनसक्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार यो रोगको मृत्युदर ११ प्रतिशतसम्म पनि पुग्छ । साना बालबालिकामा मृत्युदर उच्च रहेको छ । हालको समयमा मृत्युदर लगभग ३।६ प्रतिशत छ । झन्डै १० संक्रमितमध्ये एकको भने जटिलताको कारणले मृत्यु हुने देखिएको संक्रामक रोग विशेषज्ञहरू बताउँछन् ।
एमपक्स शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्ने तथा पूर्ण रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ ।
सामान्यतया यो आफैं ठिक भएर जाने भाइरल रोग भएकाले विशेष उपचार छैन । बिरामीलाई पर्याप्त पोषण स्थिति कायम राख्न तरल पदार्थ र पौष्टिक खाना खुवाउने तथा माध्यमिक ब्याक्टेरिया संक्रमण (सेकेन्डरी ब्याक्टेरिया संक्रमण) संकेत अनुसार उपचार गरिन्छ ।
प्रतिक्रिया 4