+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

केयूमा १५ प्रतिशत विद्यार्थी बढे, १२ प्रतिशत विदेशी विद्यार्थी दीक्षित

केयूमा स्वदेशी विद्यार्थीको समेत आकर्षण बढेको छ । ३० वर्षमा १२ प्रतिशत विदेशी विद्यार्थी दीक्षित भएका छन् ।

दिनेश गौतम दिनेश गौतम
२०८२ मंसिर १८ गते १६:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं विश्वविद्यालयमा शैक्षिक सत्र २०८२/०८३ मा विद्यार्थी संख्या १५.५ प्रतिशतले वृद्धि भएको छ।
  • विदेशी विद्यार्थीको आकर्षण बढेर विद्यावारिधी तहमा १८ जना भर्ना भएका छन् र दीक्षान्त समारोहमा ८.५ प्रतिशत विदेशी विद्यार्थी सहभागी हुनेछन्।
  • केयूले विदेशी प्राध्यापकलाई ५० प्रतिशत बढी भत्ता दिने नीति लागू गरी ४५० भन्दा बढी आवेदन प्राप्त गरेको छ।

१८ मंसिर, काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)मा १५.५ प्रतिशतले विद्यार्थीको संख्या बढेको छ ।

केयूका अनुसार शैक्षिक सत्र २०८१/०८२ को अनुपातमा २०८२/०८३ मा केयूको सबै स्कुलमा विद्यार्थीको संख्या बढेको हो । कोरोना महामारीमा विद्यार्थीको संख्या घटेको थियो । तर, अहिले विद्यार्थीको संख्या बढीरहेको केयूका प्रवक्ता उद्धव प्याकुरेलले बताए ।

‘कोभिड–१९ को महामारीले विश्वभर उच्च शिक्षालाई जटिल मोडमा पुर्‍यायो । नेपाल पनि यो संकटबाट अछुतो थिएन । तर पछिल्लो शैक्षिक सत्रमा विद्यार्थीको संख्यामा वृद्धि भएको छ,’ उनले भने ।

नेपाली विद्यार्थीको विदेशतिरको आकर्षण र प्राविधिक शिक्षा प्राप्त गर्न निजी क्षेत्रको विस्तारले विश्वविद्यालयलाई चुनौती थियो । तर, पछिल्लो वर्षमा विद्यार्थीको संख्या उकालो लागेको छ ।

केयूको स्कुल अफ इन्जिनियरिङ, एजुकेशन, आर्ट्स र विज्ञान संकायमा विद्यार्थीको भर्नादर बढेको छ । यद्यपि, स्कुल अनुसार विद्यार्थीको संख्या फरक छ ।

स्कुल अफ इन्जिनियरिङमा भर्ना ५६२ बाट ७२२ पुगेको छ । ‘विश्वविद्यालयले इन्जिनियरिङ काउन्सिलबाट सिट थप गराइ भर्ना लिएको हो,’ प्याकुरेलले भने ।

कम्प्युटर इन्जिनियरिङ, आर्टिफिसियल इन्टेलिजेन्स, मेकानिकल इन्जिनियरिङ र आर्किटेक्चरमा पनि भर्ना बढेको छ । ‘श्रम बजारले खोजिरहेका क्षेत्रमा कोर्स विस्तार भयो ।  अर्कोतिर सीप र रोजगारीसँग प्रत्यक्ष जोडिने प्राविधिक कार्यक्रमहरूमा विद्यार्थीको विश्वास बढ्न थालेको देखिन्छ,’ उनले भने ।

सिभिल इन्जिनियरिङ (हाइड्रोपावर स्पेसलाइजेसन) मा ५७ जनाको वृद्धि भएको छ । ‘नेपालमा हाइड्रोपावर परियोजना विस्तारसँगै विद्यार्थीको आकर्षण बढेको हो,’ उनले भने ।

आर्किटेक्चरमा १८ जना, कम्प्युटर इन्जिनियरिङमा १३२ जना, एआईमा ६८ जना विद्यार्थी बढेको केयूले जनाएको छ ।

केमिकल इन्जिनियरिङमा ११ र मेकानिकल (अटोमोबाइल) इन्जिनियरिङमा ९७ जनाको वृद्धि भएको छ । प्रवक्ता प्याकुरेलका अनुसार इन्जिनियरिङ काउन्सिलले विश्वविद्यालयलाई उपलब्ध कम्युटर इन्जिनियरिङमा रहेको कोटा संख्या १२० बाट बढाएर १९२, आर्किटेक्चर इञ्जिनियनिरङमा ३५ बाट बढाएर ४८ पुर्‍याउन अनुमति दिएकाले विद्यार्थीको संख्या बढेको हो ।

स्कुल अफ एजुकेशनमा दुई वर्षमा निरन्तर विद्यार्थीको संख्या बढेको छ । २०८१/८२ मा ७०३ विद्यार्थी भर्ना हुँदा २०८२/८३ मा यो संख्या ८०४ पुगेको छ ।

‘शिक्षक–तयारी, समावेशी शिक्षा, स्टिम, भाषा शिक्षण, नेतृत्व तथा विद्यालय परिवर्तनका कार्यक्रमप्रति बढ्दो रुचिको परिणाम पनि हो,’ प्याकुरेलले भने, ‘शिक्षक पेशामा व्यावसायिकताको माग वृद्धि भएको, निजी तथा सामुदायिक विद्यालयले प्रशिक्षित शिक्षक खोज्न थालेकाले स्कुल अफ एजुकेशनले आफ्नो प्रभाव विस्तार गरेको हो ।’

स्कुल अफ एजुकेशनमा वृद्धि भएका कार्यक्रमहरूको सूची अनुसार एक–वर्षे मास्टर कार्यक्रममध्ये प्रशिक्षण तथा विकास, नेतृत्व तथा व्यवस्थापन र स्कुल काउन्सेलिङमा विद्यार्थीको भर्ना बढेको छ ।

दिगो विकास, टीभीईटी र गणितमा पनि विद्यार्थीको संख्या वृद्धि भएको छ । लेखन तथा साक्षरता अध्ययन, स्कुल काउन्सेलिङ र अंग्रेजी भाषा शिक्षामा पनि विद्यार्थीको भर्ना बढेको केयूले जनाएको छ ।

कोरोना महामारीपछि स्कुलहरूको पुनर्संरचना, नयाँ कार्यक्रम थप, सीट क्षमता बढाएकाले र विदेशी प्राध्यापकलाई आकर्षित गरेका कारण विद्यार्थीको संख्या बढेको निष्कर्ष केयूको छ । केयूमा सबै गरेर २२ हजार विद्यार्थी अध्ययनरत छन् । एक शैक्षिक सत्रमा केयूमा ६ हजार विद्याथीे भर्ना हुने गरेका छन् ।

विदेशी विद्यार्थीको आकर्षण, १२ प्रतिशत दीक्षित

केयूमा विदेशी विद्यार्थीको आकर्षण बढेको छ । विद्यावारिधी तहमा मात्र यो वर्ष १८ विदेशी विद्यार्थी भर्ना भएका छन् । स्कुल अफ एजुकेसनमा १० जना, साइन्स र इन्जिनियरिङमा १–१ जना भर्ना भएका छन् ।

स्कुल अफ आर्ट्समा शहरी अध्ययन स्नातकोत्तर तहमा २ विदेशी विद्यार्थी अध्ययनरत छन् । ब्याचलर इन कम्युनिटी डेभलपमन्ट (स्नातक) तहमा पनि चिनियाँ र ब्राजिल गरी दुई देशका विद्यार्थी अध्ययनरत छन् ।

स्कुल अफ आर्ट्सको अर्थशास्त्र र मनोविज्ञान पढ्ने विद्यार्थीको संख्या पनि बढेको छ ।

‘समाजशास्त्रीय र मनोवैज्ञानिक अध्ययनप्रति नयाँ पुस्ताको रुचि विस्तारै बढिरहेको संकेत गर्छ । स्नातकोत्तरमा पनि यस्तै सकारात्मक परिवर्तन देखिन्छ । संगीत, अनुवाद तथा फिलोलोजी र अर्थशास्त्रमा उल्लेख्य वृद्दि भएका छन्,’ प्याकुरेलले भने । केयूमा  विद्यावारिधि गर्ने विद्यार्थीको संख्या २६ जनाले बढेको छ । स्कुल अफ आर्ट्समा पीएचडीमा भर्ना संख्या ९ बाट ३५ पुगेको छ ।

विगत ३० वर्षमा केयूमा दीक्षित हुने विद्यार्थीमध्ये करिब १२ प्रतिशत विदेशी विद्यार्थी छन् । ३० वर्षको अवधिमा केयूमा ५० हजार ४० जना विद्यार्थी दीक्षित भएकोमा ५९ देशका ५ हजार ८६५ विदेशी विद्यार्थी दीक्षित भएका छन् ।

मुख्यगरी अमेरिका, क्यानाडा, बेलायत, जर्मनी, नर्वे, रुस, भारत, श्रीलंका, पाकिस्तान, माल्दिभ्स, बंगलादेश, जाम्बिया, दक्षिण अफ्रिकाका विद्यार्थीसमेत उच्च शिक्षाका लागि केयूमा आएका छन् । ‘विश्वविद्यालयलाई नेपालकै सीमित दायराबाट बाहिर निकालेर ग्लोबल एजुकेसन हबको रूपमा उभ्याउन खोजिएको हो,’ प्याकुरेलले भने ।

अन्तर्राष्ट्रिय प्राध्यापक केयूमा

काठमाडौं विश्वविद्यालयमा विदेशी प्राध्यापक, शोधकर्ता र विद्यार्थीको रुचि बढेको पाइएको छ । ‘टिच इन प्रोग्राम’ अन्तर्गत विश्वविद्यालयले विदेशी प्राध्यापकलाई केयुभन्दा ५० प्रतिशत बढी भत्ता दिने नीति बनाएपछि विदेशीको रुचि बढेको हो । केयूले यो नीति सन् २०२५ बाट सुरु गरेको हो । जसअर्न्तगत विभिन्न देशबाट ४५० भन्दा बढी प्राध्यापकले आवेदन दिएका थिए ।

‘यही कार्यक्रमअन्तर्गत विदेशी प्राध्यापक भित्त्र्याउने काम अघि बढाएको र केही स्कुलहरूले सफलता हासिल गरेका छन्,’ प्याकुरेलले भने ।

अहिलेसम्म अन्तर्राष्ट्रिय दुई प्राध्यापक, तीन सह–प्राध्यापक र तीन सहायक प्राध्यापक तहमा करार सम्झौता भइसकेको छ । प्रवक्ता प्याकुरेलका अनुसार अरू तीन जनासँगको सम्झौता अन्तिम चरणमा पुगेको छ ।

ब्राजिल, अमेरिका, बेलायत, दक्षिण कोरिया, जर्मनी र चीनका प्राध्यापक नेपाल आएर अध्यापन सुरु गरिसकेकामा छन् । स्कुल अफ एजुकेसनमा ताइवान, भारत, नर्डिक मुलुक र अमेरिका गरी चार देशका विदेशी प्राध्यापक शिक्षणमा संलग्न छन् ।

केयूले ४१ देशका २८४ अन्तर्राष्ट्रिय शैक्षिक तथा अनुसन्धान संस्थासँग सहकार्यमा काम गरिरहेको छ । केयूले नेपालका विद्यार्थी विदेशीनबाट रोक्ने लक्ष्य लिएको छ ।

‘काठमाडौँ विश्वविद्यालयले देखाएको नवीनता, अन्तर्राष्ट्रिय उपस्थिति र कार्यक्रम विविधताले नेपाली उच्च शिक्षालाई नयाँ दिशामा लैजाँदै छ,’ प्याकुरेलले भने, ‘दक्षिण एसियाकै शिक्षाको केन्द्र बन्नसक्ने सम्भावना छ ।’

२३ मंसिरमा दीक्षान्त

काठमाडौं विश्वविद्यालयको यो वर्षको दीक्षान्त समारोह आगामी २३ मंसिरमा हुँदैछ । प्रवक्ता प्याकुरेलका अनुसार यो वर्ष २ हजार ३ सय विद्यार्थी दीक्षित हुँदै छन् । जसमा साढे ८ प्रतिशत विदेशी विद्यार्थी छन् । यसअघि २२ मंसिरमा केयूको सिनेट बस्नेछ ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?