+
+
Shares

जेनजी आन्दोलनपछि प्रवासी नेपालीको आशा : देश बने घर फर्किन्छौं

देशभित्रै मात्र होइन, परदेशमा रहेका नेपालीमा पनि यो आन्दोलनको प्रभाव गहिरो गरी परेको छ ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८२ असोज ४ गते २०:०५

४ असोज, काठमाडौंं । २३ र २४ भदौको जेनजी आन्दोलनले मुलुक नै हल्लाइदिएको छ । भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध विरुद्ध सुरु भएको आन्दोलनले दुई दिनमै केपी शर्मा ओलीको सरकार ढालेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनायो ।

आगामी २१ फागुनमा निर्वाचन मिति घोषणा भइसकेको छ । तर, आन्दोलन क्रममा ७४ जनाले ज्यान गुमाउनु र सयौं घाइते हुनुका साथै सिंहदरबार, संसद् भवनदेखि अदालत र सरकारी कार्यालयहरूमा आगजनी तथा तोडफोड हुनु मुलुककै इतिहासकै ठूलो घटना बन्यो ।

देशभित्रै मात्र होइन, परदेशमा रहेका नेपालीमा पनि यो आन्दोलनको प्रभाव गहिरो गरी परेको छ । विभिन्न देशमा रहेका नेपाली संघसंस्थाले विज्ञप्ति जारी गर्दै आफ्नो प्रतिक्रिया दिएका छन् ।

विदेशमा बस्ने नेपालीको धारणा मिश्रित देखिएको छ । कतिपयले यसलाई ऐतिहासिक र सकारात्मक मोडका रूपमा लिएका छन् भने कतिपयले हिंसात्मक घटनाप्रति चिन्ता र असन्तोष व्यक्त गरेका छन् ।

अस्ट्रेलियामा बस्ने लक्ष्मी श्रेष्ठले यो आन्दोलनलाई जेनजीको साहसिक कदम भनेकी छिन् । ‘भ्रष्टाचार र अन्याय विरुद्ध युवाहरू सडकमा उत्रिनु साहसिक कदम हो । तर, सार्वजनिक सम्पत्ति जलाउनु, प्रहरीलाई आक्रमण गर्नु डरलाग्दो कुरा हो,’ उनले भनिन् ।

सार्वजनिक संरचनामाथि तोडफोड, आगजनी तथा हिंसात्मक घटनाले एकदम डरलाग्दो अवस्था सिर्जना गरेको उनको तर्क छ । भोलिका दिनमा समेत यस्ता खालका घटना भए झन् समस्या निम्तिने उनको भनाइ छ ।

अस्ट्रेलियामा रहेका नेपालीले दीप प्रज्ज्वलन गरेर आन्दोलनमा ज्यान गुमाएका युवा सम्झेको बताइन् । अब सुधारको ‘टर्निङ प्वाइन्ट’ आउँछ कि भन्नेमा उनी आशावादी छिन् ।

विदेश बस्ने नेपालीलाई समेत मताधिकारो कुरा उठिरहेको छ । यो एकदमै राम्रो विषय भएको उनको भनाइ छ । यसका लागि नेपालमै निर्वाचनलाई व्यवस्थित गर्न नसकिरहेका बेला विदेशमा रहेका नेपालीलाई मतदान गर्न दिने विषयको व्यवस्थापन गाह्रो भएको उनले बताइन् ।

समय र अवस्था अनुसार आगामी चुनावमा आफू मतदान गर्न  नेपाल आउन तयार रहेको बताइन् । विगतमा समेत मतदानका लागि नेपाल आएको स्मरण गराउँदै उनले स्वास्थ्य अवस्था र समय मिलेको खण्डमा गएर युवाको हातमा देश सुम्पिन तयार रहेको बताइन् ।

देशभित्रको असमानता, भ्रष्टाचार र निराशाका भारी दबाबले जेनजी आन्दोलन जन्मिएको थियो । विदेशमा रहेका नेपाली परिवर्तनप्रति आशावादी छन्, तर उनीहरू आन्दोलन क्रममा भएको हिंसात्मक घटना तथा आगजनीप्रति चिन्तित छन्

साउदी अरबमा रहेका झापाका बिपुल हुमागाईंले आन्दोलनलाई सकारात्मक लिएका छन् । ‘न नेताले सोचेको, न जनताले, तर २ दिनमै सत्ता ढल्यो । पुराना अनुहार फर्किए भने आन्दोलनको अर्थ रहँदैन । संविधान संशोधन गरेर प्रत्यक्ष प्रधानमन्त्री छान्न पाए अझ राम्रो हुन्थ्यो,’ उनले भने ।

अबको चुनावमा समेत पुरानै दल, पुरानै नेताहरू आए देश पुरानै अवस्थामा हुनेतर्फ उनको चिन्ता छ ।

‘६ महिनापछि हुने चुनावमा पुरानै अनुहार, त्यही दल, त्यही नेता आए भने जेनजी आन्दोलनको कुनै अर्थ रहँदैन,’ हुमागाईंले भने, ‘संविधान संशोधन गरेर प्रत्यक्ष प्रधानमन्त्री चुनियो भने राम्रो हुन्छ । देशमा राम्रो भयो भने हामी पनि फर्किने हो ।’

मलेसियामा रहेका डडेल्धुराका गणेश अवस्थी भने निराश देखिन्छन् । ‘जनताले केही पाएनन्, फर्कने त पुरानै दलका नेता हुन् । आन्दोलनले २० वर्ष पछाडि धकेल्यो,’ उनको टिप्पणी छ ।

आफू अझै २४ वर्ष विदेशमै रहने बताउँदै उनले देश बनेको खण्डमा जतिबेला पनि फर्किन तयार रहेको उनको भनाइ छ ।

कुवेतमा रहेका सीताराम चौलागाईंले आन्दोलनका कारण रेमिट्यान्समै असर परेको अनुभव सुनाए । ‘हामीले पैसा पठाउनै सकेनौं, बैंक प्रणाली डाउन भयो । विकास नभएको होइन, तर भ्रष्टाचार रोक्न सकिएको छैन । आन्दोलनले देखाएका गतिविधि अराजक छन्,’ उनले भने ।

उनले सिंहदरबार, बालुवाटार, अदालत जलाएर परिवर्तन नआउने बताउँदै त्यसका लागि व्याप्त भ्रष्टाचार अन्त्य हुनुपर्ने बताए । जेनजी आन्दोलनले भ्रष्टाचार अन्त्यका लागि राम्रो सन्देश दिएको बताउँदै त्यो रोक्न कडा कदम चाले मात्रै हुने बताए ।

यूएईमा रहेका विशाल गुप्ताले आन्दोलनलाई परिवर्तनको सुरुवात मानेका छन् । ‘तोडफोड नराम्रो भए पनि देशमा सुधार ल्याउने आशा छ । भ्रष्टाचार अन्त्य भए हामी परदेशबाट फर्कन तयार छौं,’ उनको भनाइ छ ।

यूएईमै काम गर्ने तबरेज आलम भन्छन्, ‘हामी शान्ति र भ्रष्टाचारविहीन नेपाल चाहन्छौं । रोजगारीको वातावरण बने हामी आजै फर्किन्छौं ।’

त्यस्तै यूएईमै कार्यरत अर्मान अन्सारीले अब नयाँ नेपाल बन्ने आशा पलाएको बताए । पुरानो जस्तै अवस्था नहोस् भन्ने उनको चाहना छ ।

यूएईमै रहेका विष्णु थारुले आन्दोलनकै असर भोग्नुपरेको गुनासो गरे । ‘भिसा बन्द हुँदा फर्किनुपर्ने स्थिति आएको छ । परिवर्तनको आशा त पलाएको छ, तर तत्काल प्रवासीलाई समस्या थपिएको छ,’ उनले भने ।

गैरआवासीय मधेस संघ यूएई अध्यक्ष सदाम अन्सारीले आन्दोलनलाई खुलेर समर्थन गर्दै भने, ‘देशलाई तीन–चार नेताले कब्जा गरेका थिए । युवाले देशलाई नयाँ दिशा दिने संकेत गरेका छन् । अब रोजगार र पारदर्शिता चाहिन्छ ।’

यस्तै प्रवास नेपाली एकता समाज यूएईका सचिव रामप्रसाद ढकालले आन्दोलनलाई सकारात्मक सन्देशका रूपमा लिएका छन् । ‘युवाहरू गैरजिम्मेवार छैनन् भन्ने प्रमाणित भयो । भ्रष्टाचार विरुद्ध लड्न सक्ने देखियो । अब नेताहरू अनुशासनमा बस्न बाध्य हुनेछन्,’ उनले भने ।

दुई दशकदेखि यूएईमै काम गर्दै आएका ढकालले देशको विकास भएको खण्डमा चाँडै घर फर्किने बताए । पुराना नेता तथा दलहरूबाट आजित भइसकेको बताउँदै अब नयाँ दल तथा युवाको हातमा देश गएपछि विकास हुनेमा आशावादी रहेको बताए ।

देशभित्रको असमानता, भ्रष्टाचार र निराशाका भारी दबाबले जेनजी आन्दोलन जन्मिएको थियो । विदेशमा रहेका नेपाली परिवर्तनप्रति आशावादी छन्, तर उनीहरू आन्दोलन क्रममा भएको हिंसात्मक घटना तथा आगजनीप्रति चिन्तित छन् ।

उनीहरूको साझा आवाज ‘नेपालले अब सत्य र सुशासनतर्फ मोड लिनुपर्छ, तबमात्र परदेशिएका लाखौं नेपाली घर फर्किन पाउने छौं ।’

लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?