+
+
Shares

पर्यटनमन्त्रीलाई थाहै नदिई उद्धार उडान स्थगित !

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २ गते २१:२०

२ भदौ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफूसँग परामर्श नै नगरी उद्धार उडान स्थगित गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले संक्रमण बढेको र होटल क्वारेन्टिनको व्यवस्था नभएको भन्दै सोमबार उद्धार उडान स्थगित गर्ने निर्णय गरेको थियो ।

त्यही कारण चार्टर फ्लाइटका लागि दुबई पुगेको नेपाल एयरलाइन्सको विमान रित्तै फर्किएको छ ।

मंगलबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकमा पर्यटनमन्त्री भट्टराईले उद्धार उडान स्थगित गर्ने निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनले भने, ‘के आधारमा यो निर्णय गरिएको हो ? हामीसँग सरसल्लाह गर्नु पर्दैन ?’

यात्रु लिन नेपालबाट विमान उडिसकेको र यात्रुहरु विमानस्थलमा आइसकेको अवस्थामा एमसीसीले गरेको निर्णयले सरकारविरुद्ध नाराबाजी गर्ने अवस्था आएको भन्दै उनले बैठकमा भनेका थिए, ‘यहीँभित्रबाट कसले षड्यन्त्र गर्दैछ ?’

होटल क्वारेन्टिनको व्यवस्था गर्ने जिम्मा जिल्ला संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को हो । तर होटलको सूची नै सार्वजनिक नगर्दा समस्या भएको बताइएको छ । बैठकमा सीसीएमसी निर्देशक समितिका संयोजक एवं रक्षामन्त्री ईश्वर पोखरेलले भने समन्वय नहुनु कमजोरी भएको बताएका छन् ।

स्रोतकाअनुसार मंगलबारको बैठकमा पर्यटनमन्त्री भट्टराईले अहिले पनि निश्चित देशबाट नियमित उडान गरेर नेपालीहरुलाई ल्याउन सकिने बताएका छन् । पीसीआर टेष्ट गर्न सकिने देशहरु मलेसिया, यूएई, जापान, दक्षिण कोरिया जस्ता मुलुकबाट सातामा एउटा उडान गर्ने र नेपाल आएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा अनिवार्य बस्ने व्यवस्था गर्न सकिने उनले बताए ।

पीसीआर टेष्ट गर्न गाह्रो देशहरु साउदी अरब, कतार, कुवेत जस्ता देशबाट भने फिट फर ट्राभल अर्थात ज्वरो नआएका, कोरोनाका लक्षण नभएकाहरुलाई ल्याउने सकिनेछ । उनीहरुका यहाँ ल्याएर ७ दिन क्वारेन्टिन गर्ने र पीसीआर टेष्ट गरेर नेगेटिभ आएकाहरुलाई होम क्वारेन्टिनमा पठाउन सकिनेछ ।

यसका लागि दैनिक १५०० र १८०० रुपैयाँमा क्वारेन्टिन गर्न होटलहरु तयार पनि छन् । सीसीएमसी स्रोतले भन्यो, ‘यसबारे पर्यटनमन्त्रीले आफ्नो प्रस्ताव राख्नु भएको छ । भोलि मन्त्रिपरिषदमा प्रधानमन्त्रीसँग छलफल गरेपछि केही निर्णय होला ।’

सीसीएमसीको बैठकले जोखिमका आधारमा स्थानीय प्रशासनले निषेधाज्ञा गर्ने, सम्भावित संक्रमितको आंकलन गरेर निजी अस्पतालहरुलाई पनि कोरोनाको उपचारका लागि लिने, जनशक्ति थप गर्ने र एकीकृत तथा प्रभावकारी ढंगले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा लाग्ने निर्णय गरेको छ ।

साथै काठमाडौं उपत्यकाको समन्वयका लागि छुट्टै संयन्त्र बनाउने सहमति पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?