
९ असोज, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी पुनःगठनको अपिल गरेका छन् । भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले जेनजी विद्रोहपछि बदलिएको अवस्थालाई मनन् गरी पार्टी पुनर्गठनको अभियानमा साथ दिन अपिल गरेका छन्।
‘इतिहासका हरेक संकटका हरेक घुम्ती र मोडहरुमा हामी पुनर्गठित भएको सत्यलाई पनि हामीले मनन् गर्नु जरुरी छ । त्यही स्वीकारोक्ति सहितको अभियानका लागि अपिल समेत गर्दछु,’ उनले भनेका छन्, ‘आत्मभर्त्सना बन्द गरौं, आत्मसमीक्षा डटेर गरौं ।’
संकटका बेला आन्दोलन र पार्टी पुनर्गठन भएका थुप्रै उदाहरण रहेको पनि भट्टराईले उल्लेख गरेका छन् । जस क्रममा १९ माघको घटनापछि एमालेकै पुनर्गठन भएको सन्दर्भ समेत उनले राखेका छन्।
‘१९ माघ २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले संविधान र लोकतान्त्रिक प्रणालीमाथि ‘कू’ गर्दा पनि समाज र पार्टीमा आजको जत्तिकै सन्नटा छाएको थियो । त्यसबेला पार्टीकै युवा पुस्ताले अग्रसता लिएर पार्टी पुनर्गठनको बहस चलायो,’ उनले भनेका छन्, ‘अन्ततः नेकपा एमालेको नवौं महाधिवेशनले पार्टी पुनर्गठनको एजेन्डा स्वीकार गर्यो । पार्टीको आन्तरिक लोकतन्त्रलाई प्रणालीगत रूपमा स्थापित गर्यो । पार्टी बच्यो, आन्दोलन सफल भयो ।’
पार्टी पुनर्गठनले नेतृत्वको समेत सम्मान भएको प्रसंग भट्टराईले सम्झेका छन् । तर कमजोरीलाई नस्वीकार्दा अरूलाई लाभ पुग्ने पनि उनले बताएका छन्।
‘लेनिनले भन्नु भएको छ- क्रान्तिकारी आन्दोलनले आफ्ना कमजोरीलाई स्वीकार नगरेसम्म सुधार र प्रगति सम्भव हुँदैन । कमजोरी लुकाउनु भनेको दुश्मनलाई बलियो बनाउन सहयोग गर्नु हो,’ भट्टराईले भनेका छन् ।
हेर्नुहोस् भट्टराईको अपिल :
आदरणीय जनसमुदाय
प्रिय कमरेडहरू,
-जेनजी प्रदर्शनमा ज्यान गुमाउनु हुने सबैमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
-भदौ २३ गतेको जेनजी आन्दोलन र भदौ २४ गतेको विध्वंसपछि तपाईं–हामी विस्तारै आफ्नो दैनिकीमा फर्किरहेका छौं । तर यसले छोडेको असर भने युगौंसम्म रहनेछ । भदौ २३ गतेको आन्दोलनले हाम्रो राजनीतिक सत्ता र संरचनामा असाधरण बदलाब ल्याएको छ ।
-भदौ २४ को अकल्पनीय विध्वंसले हाम्रो आर्थिक संरचना भताभुंग बनाएको छ, हाम्रो सामाजिक मानसपटलमा गहिरो दर्दहरू छोडी गएको छ, हामीले आजसम्म बचाएर ल्याएको सांस्कृतिक मूल्यहरूमा घाउचोट लागेको छ । मुलुकलाई अनिश्चयको अँध्यारो सुरुङ्गतिर लैजाने चिन्ताहरू पनि उत्तिकै छ । मलाई लाग्छ- ती निराशा र अनिश्चय सम्बोधनको पहिलो शर्त हो, भदौ २३ ले दिएको सन्देश ग्रहण गर्नु र त्यसमा अभिव्यक्त भावनाको वस्तुगत सम्मान गर्दै राज्य, समाज र पार्टी संरचनामा बहुआयमिक रुपान्तरण गर्नु अनिवार्य र पहिलो शर्त हो ।
-भदौ २३ मा सामाजिक सञ्जाल बन्दको बिरोध र सुशासनको माग राखेर सडकमा उत्रिएका जेनजीमाथि तीव्र दमन भयो । यो दमनको न्यायिक छानबिन हुनुपर्छ । एकातिर आफ्नो माग र भावनाहरूप्रतिको अपमान/बेवस्ता गरिएको निष्कर्ष अर्कातिर आफ्ना निहत्था साथीहरूमाथि भएको बर्बर दमनप्रतिको आक्रोश । त्यही मौका छोपेर फरक-फरक स्वार्थ बोकेका गलत समूहबाट भदौ २४ मा जेनजी आन्दोलन दूरुपयोग भयो । आन्दोलनमा श्रृंखलाबद्ध र संगठित घुसपैठ गरियो । आपराधिक गतिविधि भयो । हाम्रा राष्ट्रिय सम्पदा र सम्पतिहरूमा आगो झोसियो । निजी तथा व्यावसायिक संरचनाहरूमाथि आगजनी र तोडफोड गरियो । हाम्रा इतिहास र गौरव जोडिएका संरचनाहरू खण्ड भए । आफ्नो समयमा परिर्वतन र रुपान्तरणमा महत्त्वपूर्ण योगदान गर्नु भएका हाम्रा नेताहरूमाथि आक्रमण भयो, घर जलाइयो । यसले भदौ २३ गते जेनजीहरूले पवित्र माग राखेर गरेको व्रिदोहलाई बदनाम र विद्रुप बनायो । विश्वसामु लज्जाबोधको अवस्था आयो। भदौ २४ गतेको अकल्पनीय विध्वंस देश र जेनजीहरूको भावना र आर्दश विरुद्धमा थियो । यसको सत्य-तथ्य छानबिन हुनुपर्छ ।
-नेपालको पछिल्लो घटनाका बारेमा भूराजनीति र अन्तर्राष्ट्रिय शक्ति केन्द्रको भूमिको पनि चर्चा हुने गरेको छ । आज म त्यतातिर धेरै चर्चा गर्न चाहन्न । भोलिका दिनमा सबै कुरा उद्घाटित हुँदै जानेछन् । एउटा भनाइ छ- अर्कालाई दोष लगाउनु पूर्व आफ्नौ थैली बलियो गरी कस्नु । छिमेकी मित्र राष्ट्रहरू तथा अन्य मित्र राष्ट्रहरूलाई म भन्न चहान्छु- तपाईंहरूले नेपालको लोकतन्त्रिक प्रक्रिया र नेपालीहरूको विकासको चाहनालाई गर्दै आउनु भएको सहयोगप्रति धन्यवाद छ । तर आजको अस्थिर र अनिश्चयमा नेपाललाई प्रयोगशाला बनाउने प्रयास हुनेछैन भन्ने मेरो गहिरो विश्वास छ । संविधानको रक्षा र लोकतान्त्रिक प्रक्रियाको पुनर्जीवनका लागि तपाईंहरूको सकरात्मक सद्भाव भने अपेक्षित छ ।
एमालेका प्रिय कमरेडहरू,
-हो, हाम्रा सामु एकातिर पीडाहरू छन्, हतासा छ, निराशाहरू छन्, अर्कातिर सिंगो एउटा पुस्ताको आक्रोश पनि । यो सँगसँगै आशा र अपेक्षाहरू पनि छन् । सबैभन्दा बढी प्रश्नहरू छन् । तपाईहरूले आक्रोश र आशाको नजरले हामीलाई सोधिरहनु भएको छ- अब तिमिहरूले हिंड्ने बाटो कुन हो ?’ बदलिन्छौं की उस्तै बस्छौं ।
मैले सामाजिक सञ्जाल हेरिरहेको छु, सञ्चार माध्यमहरू पढिरहेको छु । तपाईंहरूले हामीलाई सोधिरहनु भएको छु- ‘तिमीहरूसँग आत्मालोचना र स्वीकारोक्ति छैन ?’ आफ्ना कमजोरीहरूप्रति माफी माग्दैनौं ? यसअघि पनि मैले भदौ २४, २५ र २८ गते सामाजिक सञ्जालमार्फत केही कुरा राखेको थिएँ । हो, असल प्रयास र प्रयत्नहरू जारी थिए । अनेक सीमा, अवरोध र अप्ठ्याराहरूको विचमा पनि प्रयासहरू प्रयत्नहरू जारी थिए भन्ने लाग्छ । तर सब ठिकठाक थिएनन् भन्ने पुष्टि २३ भदौले गरीसकेको छ । यो सत्यलाई हामीले स्वीकार गर्नुपर्छ । र हामीले भन्नुपर्ने हुन्छ, ‘बदलिएका आवश्यकता र अपेक्षाहरू पुरा गर्न सफल नभएकोमा हामी माफी चहान्छौं ।’
-यो बेला ‘नियन्त्रित अस्थितरता’का चिन्ताहरू पनि प्रकट भएका छन् । सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमान रक्षाको गहिरो चासो प्रकट भएका छन् । कतिपयले व्यवस्थामाथि प्रश्न पनि नउठाएका होइनन् । फेरि पनि त्यसका लागि संविधानको रक्षा पहिलो शर्त हो । हामीले जुन व्यवस्था अपनाएका छौं, राजनीतिक दलहरू नै यसको समाधान हुन् । नयाँ पुस्ताको भावना र माग सम्बोधन सहित निर्वाचन मार्फत संविधानलाई ‘ट्रयाक’ मा ल्याउनु हाम्रो पहिलो काम हो । केही परिमार्जन आवश्यक रहेछ भने पनि संविधानले देखाएको बाटो बाटै परिमार्जन गर्न सकिन्छ । तर आज अत्याधिक सोधिएको प्रश्न हो, ‘यही राजनीतिक नेतृत्व, संरचना र मनोविज्ञानबाट सम्भव छ ?’ हामीप्रति आशाले हेरिरहनु भएका अधिकांश बुद्धिजीवी, नेत तथा कार्यकर्ता, शुभेच्छुकहरूको भनाइ छ, ‘अब पुनर्गठन विना सम्भव छैन । मार्क्सवादले भन्छ, ‘अवस्था बदलिएपछि चेतना पनि बदलिन्छ ।’ अवस्थामा बदलाब आएपछि मानिसको सोच, विचार, चेतना पनि उसैगरी बदलिन्छ । चेतना अवस्थासँगै विकसित हुन्छ र वर्ग संघर्षले यसलाई नयाँ स्तरमा पुर्याउँछ । अवस्था अभूतपूर्व रूपमा बदलिएको छ । भदौ २२ र आज उस्तै हुँदै होइन । आज हामी विलकुल नयाँ चेतनामाथि उभिएका छौं । दार्शनिक एन्टोनियम ग्राम्सी भन्छन्, ‘संकटको समयमा पुराना विचारहरू मर्छन् तर नयाँ जन्मिन हिच्किचाउँछन् यतिखेर आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्छ ।’
-कमरेडहरू, ग्राम्सीले भने जस्तै अब नेकपा (एमाले) लाई, कम्युनिस्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्नेछ । फेरि पार्टी र आन्दोलनको पुनर्गठन गरिरहदा हामीले इतिहासको वेवस्ता र अपमान कदापी गर्नु हुन्न । पार्टीका नेताहरू, जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाईं–हामी पनि उहाँहरूसँगै थियौं । यो जस–अपजसको भागीदार हामी पनि हौं । त्यसैले म यो बेला भन्छु- ‘उहाँहरूको सम्मान सहित पुनर्गठन ।’ फेरि यहाँनिर पुनर्गठन र रुपान्तरणको बहस गरिरहँदा वर्तमान मुल नेतृत्वप्रतिको प्रहारको रूपमा जबरजस्ती कही कतैबाट उत्तेजनापूर्ण व्याख्या गरिएको पनि सुनिन्छ । म तपाईंहरूलाई भन्न चहान्छु, ‘कमरेडहरू, यो आन्दोलनको वैभव, संगठनको साम्राज्य र अजेय विचार रह्यो भने न उहाँहरूको सम्मान रहन्छ । इतिहास रहन्छ ।’ सम्झिनुहोस् त, दुनियाँको इतिहास । लेनिनका, मार्क्सका शालिकहरू ढालिएका इतिहास तपाई हामीले पढेका छौं । हाम्रो नेताहरूको इतिहासको रक्षा र सम्मान त्यति बेला मात्रै हुन्छ, जतिबेला हाम्रो आन्दोलन रहन्छ । इतिहासको सम्मान वर्तमानप्रतिको सचेत निर्णय र भविष्य निर्माणको आधार पनि हो । पुनर्गठन र रूपान्तरणको आवाजलाई हाम्रो आदरणीय नेताहरूमाथिको प्रश्न अथवा अपमानको रूपमा अर्थ लगाउनु सर्बथा गलत हो । वस्तुतः यो व्याख्या गर्नेहरू नै हाम्रो नेतृत्वको सम्मानका बाधक हुन् ।
-हामीलाई थाहा छ, जब १९९१ मा सोभियत ढल्यो । सोभियत पतनले अन्तर्राष्ट्रिय स्तरमा कम्युनिस्ट आन्दोलन ठुलो संकट आयो । सोभियतको पतन कम्युनिष्ट आन्दोलनको अवस्थाको धेरै ठुलो परिर्वतन थियो । स्वभाविक रुपमा चेतनाहरू पनि बदलिए । आन्दोलन रक्षात्मक भयो । त्यही बदलाबपछि जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गर्नुभयो । नयाँ चेतनाको निर्माण भयो । र नेपाली कम्युनिस्ट आन्दोलन यहाँसम्म आइपुगेको हो । २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले संविधान र लोकतान्त्रिक प्रणालीमाथि ‘कू’ गर्दा पनि समाज र पार्टीमा आजको जत्तिकै सन्नटा छाएको थियो । त्यसबेला पार्टीकै युवा पुस्ताले अग्रसता लिएर पार्टी पुनर्गठनको बहस चलायो । अन्ततः नेकपा (एमाले) को नवौं महाधिवेशनले पार्टी पुनर्गठनको एजेन्डा स्वीकार गर्यो । पार्टीको आन्तरिक लोकतन्त्रलाई प्रणालीगत रुपमा स्थापित गर्यो । पार्टी बच्यो, आन्दोलन सफल भयो । नेतृत्वको सम्मान पुनस्थापित भयो । पार्टीमा नयाँ पुस्ताको प्रभावशाली प्रवेश भयो । हामी सबैले त्यो क्षणलाई पुनः स्मरण गरौं ।
-त्यसैले कमरेडहरू, अहिले हामीले संविधानको रक्षा गर्नुछ, हाम्रो सार्वभौमिकता राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्नुछ । त्यसका लागि हामी सम्हालिएर नेकपा (एमाले) र कम्युनिस्ट आन्दोलनको रक्षा गर्नुछ । आवेग वा आरोप, प्रतिशोध वा प्रतिरक्षामा होइन, वस्तुगत अवस्थालाई स्वीकार गर्ने साहस गर्नुपर्छ ।
–हाम्रो पार्टी, आन्दोलनलाई असाधरण योगदान गर्नु हुने तमाम नेता, कार्यकर्ता, बुद्धिजीवीहरू, आन्दोलनका सक्रिय समर्थक तथा शुभचिन्तकहरू, हामीलाई आशाका नजरले हेरिरहनु भएका आम जनसमुदाय सबैलाई म भन्न चहान्छु- गल्ती र कमजोरीहरूबाट हामी सिक्नेछौं । पार्टी र आन्दोलनलाई पुनर्गठन गर्नेछौं ।
मार्क्सले भन्नु भएको छ- इतिहासमा कुनै पनि अवस्था स्थायी हुँदैन । निराशाको गर्भमै परिवर्तनको सम्भावना लुकेको हुन्छ।
यो निराशा र संकटको अवस्था स्थायी होइन । इतिहासमा हामीले ठुल्ठूला संकट र आँधीबेहरी पार गरेरै यहाँसम्म आएका हौं । तर इतिहासका हरेक संकटका हरेक घुम्ती र मोडहरूमा हामी पुनर्गठित भएको सत्यलाई पनि हामीले मनन् गर्नु जरुरी छ । त्यही स्वीकारोक्ति सहितको अभियानको लागि अपिल समेत गर्दछु । आत्मभर्त्सना बन्द गरौं, आत्मसमीक्षा ढटेर गरौं । भनिन्छ नि कमजोरहरूले कमजोरी स्वीकार गर्न सक्दैनन् । लेनिनले भन्नु भएको छ- क्रान्तिकारी आन्दोलनले आफ्ना कमजोरीलाई स्वीकार नगरेसम्म सुधार र प्रगति सम्भव हुँदैन । कमजोरी लुकाउनु भनेको दुश्मनलाई बलियो बनाउन सहयोग गर्नु हो । हामी एक्ला एक्लै होइन, सँगै बसेर सामूहिक ढंगले समस्याको हल खोजौं, खुला खुलस्त हौं । सबैको अस्तित्व र भूमिकालाई स्वीकार गरौं । हामी हाम्रो पार्टी र आन्दोलनको सहयोगी बन्ने समय हो यो, न कि लेनिनले भने जस्तै अरु कसैको ।
योगेश भट्टराई
सचिव, नेकपा (एमाले)
मिति ९ असोज २०८२
धन्यवाद ।
प्रतिक्रिया 4