
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका सचिव योगेश भट्टराईले संघ, प्रदेश र स्थानीय तहको चुनाव एकै पटक गर्ने प्रस्ताव गरेका छन्।
- भट्टराईले तीन तहको चुनाव एकै पटक गर्दा राज्यले २५/३० अर्ब रुपैयाँ बचत हुने बताएका छन्।
- निर्वाचन आयोगका पूर्वप्रमुख दिनेश थपलियाले तीन तहको चुनाव एकै पटक गर्न सकिने र सरकारले निर्णय लिनुपर्ने बताएका छन्।
११ भदौ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संघ, प्रदेश र स्थानीय तहको चुनाव एकै पटक गर्ने प्रस्ताव गरेका छन् । यसका निम्ति बहस हुन आवश्यक रहेको उनको आग्रह छ ।
नेशनल लेजिस्लेटिभ एकेडेमीले बुधबार राजधानीमा संविधान कार्यान्वयनको समीक्षात्मक कार्यक्रम राखेको थियो । जहाँ विधायिकी अभ्यास, निर्वाचन प्रणाली, अन्तर सरकार सम्बन्ध र राजनीतिक दल सम्बन्धी कानुनी व्यवस्था, अभ्यास र व्यवहारजन्य प्रवृतिका विषयमा छलफल भएको थियो ।
छलफलमा सहभागी एमाले सचिव भट्टराईले संविधान संशोधनको विषयमा बहस भइराख्दा तीन वटै तहको चुनाव एकै पटक गर्ने विषयमा पनि बहस आवश्यक रहेको बताएका हुन् ।
‘तीन तहको निर्वाचन एकैपल्ट किन नगर्ने ?’ सचिव भट्टराईले भने, ‘खर्चको हिसाबले पनि यो (तीन तहको निर्वाचन एकैपटक गर्नु) एकदमै मितव्ययी हुन्छ । यसो गरे कमसेकम पनि राज्यको २५/३० अर्ब पैसा जोगिन्छ जस्तो लाग्छ ।’
यसमा राजनीतिक दलको खर्च र व्यक्तिको खर्च जोडिएको छैन । तीन तहको एकै पटक चुनाव गर्ने हो भने राज्यको सँगै राजनीतिक दल र व्यक्ति उम्मेदवारको खर्च समेत कम हुने उनको आग्रह छ ।
निर्वाचन गर्ने अहिलेकै संयन्त्र, कर्मचारीतन्त्र र सुरक्षा निकायले तीन वटै तहको चुनाव एकै पटक गर्न सक्ने उनको बुझाई छ । प्रदेश र संघको चुनाव एकैपटक गर्दै आएको अनुभव समेत रहेको उल्लेख गर्दै उनले अब संघ, प्रदेश र स्थानीय तहको समेत एकै पटक गर्न सकिने बताएका हुन् ।
उनी भन्छन्, ‘संघ र प्रदेशको चुनाव एकै दिन गरिसकेका छौं । यसमा स्थान्ीय तहको चुनाव पनि थप्ने हो भने अहिलेको कर्मचारीको क्षमताले, सुरक्षा निकायको क्षमताले, निर्वाचन आयोगको क्षमताले सक्छ । सकेन भने केही थप्नुपर्ला, दुई/चार प्रतिशत थप्नुपर्ला त्यो बेग्लै कुरा हो ।’ अब यसतर्फ सोच्नुपर्ने उनको आग्रह छ ।
निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त दिनेश थपलिया पनि तीन तहको चुनाव एकै पटक गर्न सकिने बताउँछन् । यसका निम्ति सरकारले निर्णय लिनुपर्ने उनको आग्रह छ । तर, तीन तहको चुनाव एकै पटक गर्ने हो भने प्रत्यक्षतर्फ जुन दलको उम्मेदवारले जति मत पाएको हो त्यो मत समानुपातिक मतमा गणना हुने गरी जान सकिने उनको आग्रह छ ।
हाल निर्वाचनमा उम्मेदवारले प्रत्यक्षतर्फ प्राप्त मत जित र हारका निम्ति गणना हुन्छ । दलका लागि समानुपातिकतर्फ छुट्टै मतदान हुन्छ । संयुक्त निर्वाचन प्रणली अन्तर्गत यस्तो अभ्यास हुँदै आएको छ ।
संयुक्त निर्वाचन प्रणालीलाई अगाडि बढाउँदा समेत दलको उम्मेदवारले प्राप्त गरेको मत दलको समानुपातिक तर्फ गणना गर्ने हो भने तीन तहको निर्वाचन एकै पटक गर्दा समेत व्यवस्थापनमा सहज हुने उनको आग्रह छ ।
प्रतिक्रिया 4