
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतीक मञ्जुल बराइलीले तीन वर्ष भारतको राजस्थान र चार वर्ष जापानमा मूर्तिकला सिकेर नेपालमै कला बचाउने लक्ष्य राखेका छन्।
- उनले पहिलो मूर्ति गणेशको बनाएका थिए र निरन्तर अभ्यासले सफलता हासिल गरेका छन्।
- प्रतीकको भर्खरै तयार भएको शिव मूर्ति डेढ महिनामा बनेको छ र यसको मूल्य आठ देखि साढे आठ लाख रुपैयाँसम्म पर्छ।
ढुंगा केवल ढुंगा मात्र होइन, जीवनको रूप पाउन सक्ने माध्यम पनि हो । यही, विश्वासका साथ मूर्तिकला क्षेत्रमा सक्रिय छन् प्रतीक मञ्जुल बराइली । उनका लागि मूर्तिकला केवल पेशा होइन, जीवनको अभिन्न अंश बनेको छ । मूर्तिकला रोज्नुको मूल कारण उनको परिवार हो । मूर्तिकार परिवारमै जन्मिएका प्रतीकलाई कलाको प्रेरणा उनका बाबुबाट मिल्यो । बाबु हाल जापानमा एक विशाल मूर्ति निर्माणमा ७ वर्षदेखि व्यस्त छन्।
उनले राष्ट्रलाई हजार मूर्ति अर्पण गर्ने सपना बोकेका छन् । यही सपना प्रतीकका लागि मार्गदर्शक बनेको छ । ‘बाल्यकालदेखि बाबुलाई मूर्ति बनाउँदै गरेको देख्दा मेरो मनमा पनि यही कला सिक्ने चाहना जाग्थ्यो’ प्रतीक भन्छन्, ‘ढुंगालाई आफैंले आकार दिन पाए कस्तो होला भन्ने उत्सुकताले मलाई यसतर्फ तान्यो।’ औपचारिक ज्ञानको खोजीमा उनी भारतको राजस्थान पुगे । त्यहाँ उनले ३ वर्ष मूर्तिकला सिके।
त्यसपछि जापान पुगेर ४ वर्ष सीपलाई निखारे । अन्ततः उनी स्वदेश फर्किए। किनकि उनको चाहना थियो-नेपालमै बसेर कला बचाउने, सम्भावनाको खोज गर्ने र आफ्नै मातृभूमिलाई योगदान दिने। उनले पहिलोपटक बनाएको मूर्ति गणेशको थियो । सुरूमा धेरै बिग्रियो, असफलता हातलाग्यो । तर हार मानेनन्। निरन्तर अभ्यासले उनी अघि बढे।
अहिले जब उनले खोला किनारको सामान्य ढुंगालाई कुँदेर सुन्दर मूर्तिमा परिणत गर्छन्, उनलाई लाग्छ-मैले उसलाई जीवन दिएको छु । तर यो यात्रा सजिलो छैन । ढुंगा संकलनदेखि मेसिन प्रयोग, मजदुरलाई पारिश्रमिक-सबैमा खर्च बढी हुन्छ । नाफा ठूलो हुँदैन । घाटा पनि नहुनु नै ठूलो मान्नुपर्ने हुन्छ । प्रतीकका लागि यो पेशा पैसाभन्दा धेरै माथि मनको सन्तोष र कलाको सम्मान हो ।
उनको भर्खरै तयार भएको शिव मूर्ति यसको उदाहरण हो । तीन जनाको टोलीले डेढ महिना लगाएर बनाएको उक्त मूर्तिको मूल्य आठ देखि साढे आठ लाख रुपैयाँसम्म पर्छ ।
प्रतीकलाई विश्वास छ-नेपालमै मूर्तिकला क्षेत्रमा प्रशस्त सम्भावना छ । विदेशिनु मात्रै विकल्प होइन । आफ्नै देशमा बसेर सीपलाई जोगाउँदै, परिवारसँगै रहँदै, कलाबाट जीवनलाई अर्थ दिन सकिन्छ । आज मूर्तिकला प्रतीकका लागि केवल व्यवसाय होइन, उनको पहिचान, जीवनको खुसी र गर्व बनेको छ।
प्रतिक्रिया 4