+
+
Shares

बढेन युवा संघको चुनावी गति, बिलखबन्दमा प्रतिनिधि

निर्वाचन कमिटीका सदस्य जय गुरुङका अनुसार एउटा प्रदेशका प्रतिनिधिले अर्को प्रदेशबाट भूगोलका उम्मेदवारलाई मत हाल्न नमिल्ने भएकाले त्यो छुट्याउँदा समय लागेको हो । मेसिन सेट मिलाएर सोमबार मतदानमा जाने सम्भावना नहुँदा निर्वाचन प्रक्रिया अझै लम्बिने निश्चित भएको छ ।

अमृत सुवेदी अमृत सुवेदी
२०८२ जेठ १२ गते १८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरा महाधिवेशनमा प्रतिनिधिहरूको मतदान प्रक्रिया ढिलाइका कारण निर्वाचन प्रक्रिया स्थगित भएको छ।
  • निर्वाचन प्रक्रिया अघि बढाउन नेताहरूले प्रतिनिधिहरूलाई भेटघाट र फकाउने काम गरिरहेका छन्।
  • अहिले मतदानको सम्भावना नभएको र प्रक्रिया अझै लम्बिने आशंका व्यक्त गरिएको छ।

१२ जेठ, पोखरा । मकवानपुरकी चेनकुमारी अधिकारीले युवा संघको भूगोल महिला सदस्यमा उम्मेदवारी दिएकी छन् । तर निर्वाचन प्रक्रियाले गति नलिँदा उनलाई दिक्क लागिसक्यो । मतदानबाटै नेतृत्व चुन्ने-चुनिने गरी छिटो मतदानमा गइदिइहुन्थ्यो भन्ने उनलाई लागेको छ । तर कहाँ, किन अड्किएको हो, पत्तो पाउन सकेकी छैनन् ।

महाधिवेशनबाट नेतृत्व चुन्न सल्यानबाट पोखरा आइपुगेका प्रतिनिधि धीरेन्द्र विष्ट कहिले सर्वसम्मतिको नाममा त कहिले प्रक्रिया नै ढिला गरेर भ्रम छर्ने काम भइरहेको बताउँछन् । ‘एउटाले एउटा कुरा भनेको छ, अर्कोले अर्को कुरा गरिरहेको छ । प्रतिनिधि चाहिँ अझै पनि अन्योलमा छन्,’ विष्टले भने, ‘निर्वाचनको एउटा प्रक्रिया हुन्छ तर यस्तो ढिला हुँदैन । प्रतिनिधि आफ्नो मताधिकार प्रयोग गर्न आतुर छन् ।’

प्रतिनिधिलाई यसरी बिलखबन्दमा नपार्न उनले आग्रह गरे । ‘कति धेरै काम छोडेर संगठनको महाधिवेशनका लागि भनेर आएका छौं तर यहाँ अन्योलमा राख्ने काम भइरहेको छ,’ उनले भने, ‘मतदान प्रक्रिया अगाडि बढाइदिएपछि प्रतिनिधिले आफैं नेतृत्व छान्छन्, त्यो सबैलाई स्वीकार्य हुन्छ ।’

नेताहरू सहमतिका नाममा, आफ्नो इच्छाइएका उम्मेदवारलाई जिताउन भन्दै होटल र पार्टी प्यालेसमा बसेर प्रतिनिधिलाई नगलाउन उनले आग्रह गरे ।

युवा संघ जुम्लाका अन्तरजिल्ला अध्यक्ष रमेश देवकोटाले पनि चुनावी प्रक्रिया छिटो अगाडि बढाइदिन आग्रह गरे ।

यी प्रतिनिधि त केही उदाहरण मात्रै हुन्, पोखरा सभागृहमा शुक्रबारदेखि जारी युवासंघको महाधिवेशनमा आइपुगेका अधिकांश प्रतिनिधि छिटो आफ्नो मताधिकार प्रयोग गर्न आतुर छन् । तर चुनावी प्रक्रियाले गति नलिँदा बिलखबन्दमा परेका छन् ।

पार्टी नेतृत्वले चाहेको व्यक्तिलाई सर्वसम्मत गराउने नाममा सुरुमा रोकिएको निर्वाचन प्रक्रिया सर्वसम्मतको प्रयास असफल भएपछि आइतबारदेखि अगाडि बढेको थियो । सार्वजनिक निर्वाचन तालिकाअनुसार आइतबार मनोनयन दर्ता, दाबी-विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया सकेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसक्नुपर्ने थियो भने सोमबार बिहान साढे ७ बजेबाट मतदानमा गइसक्नुपर्ने थियो ।

आज पनि मतदान हुने सम्भावना छैन । नेता र तिनका उम्मेदवारहरू होटल र पार्टी प्यालेसमा भेला गर्दै प्रतिनिधि फकाउँदै छन् ।

मनोनयन दर्ता भइसकेपछि पनि नेताहरूले सर्वसम्मतका लागि निर्णय तथा निर्देशन गर्नसक्ने, महाधिवेशनमा प्यानलै मनोनयन भएपछि कसरी अगाडि बढ्ने भनेर पार्टी नेतृत्वसँग छलफल गर्ने भन्दै प्रक्रिया लम्ब्याइएको हो । तर अहिलेसम्म पनि उम्मेदवारहरूको अन्तिम नामावली समेत प्रकाशन हुन सकेको छैन ।

कतिपय प्रतिनिधिले यसरी निर्वाचन प्रक्रिया ढिला गर्नुका पछाडि आशंका समेत व्यक्त गरेका छन् । अघिल्ला महाधिवेशनहरूमा जस्तै प्रतिनिधिलाई थकाउने र कतिपय काम विशेषले घर गइसकेपछि नेतृत्वले एउटा घोषणा वा निर्णय सुनाउने त होइनन् भन्ने आशंकासमेत कतिपयको छ ।

तर, यसपटक त्यो सम्भावना नरहने र यदि त्यस्तो भएमा संगठन, पार्टी र युवालाई पनि विभाजित गर्ने, परिणाम गलत निक्लने नेताहरूको भनाइ छ ।

अघिल्लो पटक नेपालगञ्जमा भएको महाधिवेशन पनि ८ दिनसम्म चलेको थियो । अन्तिममा क्षितिज थेबेको नेतृत्वमा सर्वसम्मत चयन भएको थियो । तर यसपटक त्यो सम्भावना नरहने अध्यक्षका आकांक्षी सुमन पुरीको भनाइ छ ।

यसपटक निवर्तमान अध्यक्ष क्षितिज र निवर्तमान महासचिव सुमनको नेतृत्वमा प्यानलै मनोनयन भएको छ । थेबेलाई एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले च्यापेको नेताहरूले बताइरहेका छन् भने सुमनलाई एमालेभित्र प्रभाव बढाउँदै गएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहले साथ दिएको नेताहरूको भनाइ छ ।

क्षितिजकै नेतृत्वमा सर्वसम्मत गर्न नेताहरूले कसरत गरेको भए पनि सुमनले अस्वीकार गरेर मतदानमार्फत नै नेतृत्व चुनिनुपर्ने अडान लिएपछि चुनावी प्रक्रिया अगाडि बढाइएको थियो ।

आज पनि मतदान नहुने

निर्वाचन कमिटीले सार्वजनिक गरेको तालिकाअनुसार बिहान साढे ७ बजेदेखि मतदानमा जाने कार्यक्रम थियो । तर आज पनि निर्वाचन हुने सम्भावना नरहेको नेताहरूले बताएका छन् ।

उम्मेदवारी फिर्ता लिने काम भने भइसकेको निर्वाचन अधिकृत चिरञ्जीवी पोखरेलले जानकारी दिए । उपाध्यक्षमा उम्मेदवारी दिएका राजन थापालगायत केहीले उम्मेदवारी फिर्ता लिएका छन् भने भूगोलबाट चुनिने केही सर्वसम्मतसमेत भएका छन् । तर घोषणा भने हुन सकेको छैन ।

अन्तिम नामावली प्रकाशन भइसकेपछि पनि मेसिनमा क्रम मिलाएर सेटिङ गर्न कम्तीमा ५/६ घन्टा लाग्ने विद्युतीय मतदानको जिम्मा लिएका प्राविधिले बताएका छन् ।

निर्वाचन कमिटीका सदस्य जय गुरुङका अनुसार एउटा प्रदेशका प्रतिनिधिले अर्को प्रदेशबाट भूगोलका उम्मेदवारलाई मत हाल्न नमिल्ने भएकाले त्यो छुट्याउँदा समय लागेको हो । मेसिन सेट मिलाएर सोमबार मतदानमा जाने सम्भावना नहुँदा निर्वाचन प्रक्रिया अझै लम्बिने निश्चित भएको छ ।

चुनावी प्रक्रियाले गति नलिँदा आफूले चाहेको उम्मेदवारलाई जिताउन नेताहरूले भने प्रतिनिधिलाई भेट्ने, फकाउने काम गरिरहेका छन् । होटल र पार्टी प्यालेसहरूमा आआफ्ना पक्षका प्रतिनिधिलाई भेला गर्दै प्रतिनिधिलाई परिचालन तथा आफ्नो पक्षमा पार्न दुवै समूह आइतबार रातिदेखि नै सक्रिय बनेका छन् ।

अघिल्ला महाधिवेशनहरूमा जस्तै प्रतिनिधिलाई थकाउने र कतिपय काम विशेषले घर गइसकेपछि नेतृत्वले एउटा घोषणा वा निर्णय सुनाउने त होइन भन्ने आशंकासमेत कतिपयको छ ।

क्षितिजको समूहले आइतबार राति नै पोखराको साइमन पार्टी प्यालेसमा भेला गरेको थियो भने सुमनको समूहले सोमबार बिहान गोल्डेन हाउस पार्टी प्यालेसमा भेला गरेका छन् । क्षितिज समूह होटल सरोबरमा बसेर निर्वाचन परिचालन तथा भेटघाट गर्ने काम गरिरहेको छ भने सुमनको समूह सीयू अगेन होटलबाट चुनावी गतिविधि बढाइरहेको छ ।

चुनावी प्रक्रिया लम्बिँदा प्रतिनिधि व्यवस्थापनको काम पनि उम्मेदवार अनुसारका समूहले नै मिलाउने नेताहरूले बताएका छन् । दुई प्यानलमा चुनाव हुँदा यसलाई ओली र भण्डारीको प्रतिष्ठालाई पनि नेता/कार्यकर्ताले जोडेर हेरेका छन् ।

महाधिवेशनमा पदाधिकारी र सदस्यमासमेत गरेर ३ सय ९९ जनाको उम्मेदवारी परेको थियो ।

पदाधिकारी ९ जनासहित १ सय ५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १ सय ६३ पदमा निर्वाचित हुनेछन् ।

लेखक
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?