Comments Add Comment

बेखर्चीको उद्धार सुरु नहुँदै चार्टर्ड उडानको ‘ब्यापार’ पनि बन्द !

२ भदौ, काठमाडौं । मलेसियाबाट फर्किन डिबी मगरले ३८० रिंगेट खर्चेर कोरोनाको पीसीआर परीक्षण गराए । दूतावासबाट फर्किनेको सूचीमा परेपछि पाँच महिनादेखि अलपत्र उनी छिट्टै घर फर्किन पाइने आशामा थिए । तर, सरकारले सोमबार एक्कासी तय भएका चार्टर्ड उडान पनि रद्ध गरेपछि उनी थप समस्या फसेका छन् ।

बेखर्ची भएका उनलाई अब अर्कोपटक खुल्दासम्म फेरि खना तथा पीससीआरको खर्च कसरी जुटाउने भन्ने परीलो छ । ‘जहाजको टिकट एयरलाइन्सले थप पैसा नलिई पछिलाई सार्ला, ऋण मागेर पीसीआर गरेको खर्च कसले ब्यहोर्ने ?’ उनी प्रश्न गर्छन् ।

रञ्जित राजबंशी कतारमा कोठाभित्रै थुनिएको ४ महिना भइसक्यो । भिसा अवधि सकिएपछि जसोतसो उनी जीविका चलाएर बसेका छन् । कम्पनीले काम दिएको छैन । घर फर्किन मंगलबारको नेपाल एयरलाइन्सको चार्टर्ड टिकट काटेका थिए । तर,  अनिश्चितकालका लागि उडान बन्द भयो भन्ने कुरा सोमबार बेलुकी पत्तो पाए ।

‘जान ठीक्क परेको दिनमा सूचना दिएर हुन्छ, यहाँ हामीलाई कम्पनीले अब झन असहयोग गर्छ,’ उनी भन्छन्,’सरकारले खेलाँची गर्दा विदेशमा श्रमिक समस्यामा पर्छन् भन्ने किन सोचिँदैन ?’

सरकारले सोमबारबाट नयाँ चरणको उद्धार उडान सुरु गरेको थियो । जसअन्तरगत दूतावासको सिफारिसमा दैनिक ३ सय र वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा दैनिक २ सय जनासम्म उद्धार गरेर ल्याउने भनिएको थियो ।

यसैअनुसार सरकारको सहमतिमा एयरलाइन्स कम्पनीहरुले उडान तय गरेका थिए । तालिका सार्वजनिक भएपछि दूतावासहरुले अलपत्र घर फर्काउन प्राथमिकतामा आधारमा सूची निकालिसकेका थिए ।

तर, सरकारले सोमबार साँझ उद्धार उडान रद्ध गरेपछि दुबई पुगेको नेपाल एयरलाइन्सको एयरलाइन्स रित्तै फर्किनुपर्‍यो । १५ दिन भित्र कुल ४३ उडानका लागि तयार भएको पाँचौं चरणको उद्धार उडान मंगलबारबाट अनिश्चितकालका लागि स्थगित भएको छ ।

सरकारले होटल क्वारिन्टिनको व्यवस्थापन नभएको कारण देखाउँदै उडान रद्ध गरेपछि नेपाल फर्किन पाइने आशामा विदेशमा प्रतिक्षा गरिरहेका करिब ८० हजार नेपाली समस्यामा परेका छन् ।

सरकारले दैनिक कोटा तोकेकोप्रति असन्तुष्ट रहेका श्रमिकहरुले उद्धार उडान नै रद्ध भएपछि सरकारप्रति सामाजिक सञ्जाल र दूतावासहरुमा तीव्र असुन्तुष्टि जाएका छन् । कतारस्थित नेपाली दूतावासका एक अधिकारीका अनुसार ठूलो संख्यामा फोनमा कामदारहरुले यसबारे सोधीखोजी गरिरहेका छन् ।

साउनको पहिलो साता नै भदौ १ (सोमबार)देखि  नियमित उडान खोल्ने निर्णय भएको थियो । ‘एक हप्ताअघि दैनिक कोटा तोकियो, भदौ १ बाटै उद्धार पनि रोक्ने निर्णय गरेपछि हामीले गाली खानु परेको छ,’ ती अधिकारी भन्छन्,’यहाँ सरकारको प्रतिनिधि हामी हौं, तर सोध्ने श्रमिकलाई के भनेर जवाफ दिने भन्ने पत्तो छैन ।’ कहिलेबाट फेरि उडान सुरु हुन्छ भन्ने पनि थाहा नदिइएकाले कामदारहरु आक्रोसित देखिएको उनको भनाइ छ ।

उद्धार सुरु भएकै दिन उडान बन्द 

सरकारले अहिलेसम्म विदेशबाट कामदारलाई आफ्नै हवाई टिकट तथा बाटो र क्वारिन्टन खर्च बेहोरेर नेपाल आउन दिइरहेको थियो । दूतावासले फ्लाइट तय भएपछि त्यसमा जाने यात्रुहरुको सूची निकाल्ने गरेको थियो ।

त्यसमध्ये खर्च बेहोर्न नसक्नेहरु विदेशमै अलपत्र थिए । टिकट काट्न सक्नेहरुमध्ये केही करिब ३ अर्ब बढीको टिकट किनरे नेपाल आइसकेका छन् ।

सोमबारदेखि आफ्नै खर्चमा आउन नसक्ने २ सय जनालाई वैदेशिक रोजगार कल्याणकारी केाषको रकम खर्चेर ल्याउन थाल्ने निर्णय भएको थियो ।

विदेश जाने कामदारले जम्मा गरेको कल्याणकारी कोषको रकम खर्च गरेर अप्ठेरोमा परेकालाई उद्धार गर्न पटक-पटक माग हुँदै आएपनि सरकारले बेवास्ता गर्दै आएको थियो ।

तर, गत असार २ गते सर्बोच्च अदालतले नै समस्यामा परेकालाई कोषको रकम खर्चेर उद्धार गर्न आदेश दिएको थियो । त्यसपछि निर्देशिका नै बनाएर मन्त्रिपरिषदले उद्धार थाल्ने निर्णय गरेको थियो । उद्धार सुरु नहुँदै उडानहरु स्थगित गरिएपछि समस्यामा परेकाहरु विदेशमै अलपत्र परेका छन् ।

वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगार कल्याणकारी कोषको ७५ करोड रुपियाँ रकम उद्धारका लागि छुट्याएको छ । दूतावासहरुले कोरोनाका कारण समस्यामा परेका नेपाली श्रमिकसँग यथार्थ विवरणसहित आवेदन लिन थालेका थिए ।

सरकाकरो उडान बन्द गर्ने निर्णयपछि उनीहरु दूतावासमा अत्तालिँदै फोन गर्न थालेको मलेसियास्थित दूतावासका एक अधिकारी पनि बताउँछन् ।

मलेसियामा ६ महिनादेखि अलपत्र परेका वैष्णवकुमार अधिकारी सरकारले साँच्चिकै उद्धार थाल्ने भनेकै दिनबाट उडान बन्द हुँदा देशमा श्रमिकको हितमा काम गर्ने सरकार नभएको प्रष्ट भएको बताउँछन् । स्वदेश फर्किने विषय पनि सपना जस्तो बनाइएको भन्दै सरकारको गैरजिम्मेवारीपूर्ण निर्णय तत्काल सच्चिनुपर्ने उनले स्बताए ।

‘यहाँ मजस्ता थुप्रै साथीहरु महिनौंदेखि बेखर्ची भएर फर्किन पाएनौं, टिकट लिनसक्नेहरु मात्रै गए, उद्धारको लागि दूतावासमा आवदेन दिन नपाउँदै उडान नै बन्द भयो,’ अधिकारी भन्छन्,’उद्धार गर्न त यर्सै पनि चासो थिएन, अब सरकारलाई ब्यापार गर्न पुगेको हो कि ?’

‘होटल खाली, सामुदायिक क्वारिन्टिन छैन’

उडान बन्द गराउन कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले परराष्ट्र र पर्यटन मन्त्रालयका नाममा पत्र काट्दै भनेको छ, ‘स्थानीय तहहरुले निषेधाज्ञा जारी गरेको र काठमाडौंमा क्वारिन्टनमा रुपमा होटेलको व्यवस्थापन हुन सकेन ।’

सीसीएमसीले उडान रोक्न निर्देशन दिएपछि वायुसेवा कम्पनीले यसअघि निर्धारण गरेको उडान तालिका स्थगित गरेका छन् । यसले विदेशमा अलपत्र करिब ८० हजार नेपाली घर फर्कन पाउने छैनन् ।

यसरी एक दिनमै उडान रोक्नुको पछाडि सीसीएमसीले होटेलको व्यवस्थापन हुन नसकेको उल्लेख छ ।

तर, काठमाडौंमा भने व्यवसायीले होटेल क्वारेन्टिन बनाउन सीसीएमसीलाई ३५ सय वटा कोठाको सूची नै बुझाएका छन् । होटेल संघ नेपाल (हान)का सदस्य युवराज श्रेष्ठका अनुसार हानले सीसीएसीलाई पटक पटक गरी कुल ३५ सय कोठाको सूची होटेल क्वारेन्टिन बनाउन सकिने गी बुझाइसकेको छ ।

यसका लागि होटेल तयार पनि छन् । तर होटेल व्यवस्थापन हुन नसकेको भन्दै उडान रद्द गरिएकोमा भने व्यवसायी अचम्म परेको उनले प्रतिक्रिया दिए ।

‘दैनिक ५ सयलाई ल्याउने भनिएको छ, हामीसँग अहिले नै ३५ सय कोठाको सूची तयार छ,’ उनले भने, ‘होटेलकै कारण उडान रोकिएको भन्न त मिल्दैन ।’

पर्यटन मन्त्रालय स्रोतका अनुसार होटेल व्यवस्थापन मूख्य कारण बताइएपनि विदेशबाट फर्कनेमध्ये धेरैजसो व्यक्ति सरकारले बनाएको क्वारेन्टिनमा बस्न चाहन्छन् । किनकी धेरै नेपाली अहिले विदेशमा बेखर्ची भएर बसेका छन् ।

सरकारले काठमाडौंमा सामुदायिक क्वारेन्टिन बनाउन नसक्दा समस्या भएको बताएको छ ।  सोहीकारण  जबर्जस्ती होटेलमा बस भन्न सक्ने अवस्था नभएपछि सरकार उडान नै रोक्ने निष्कर्षमा पुगेको मन्त्रालयका एक अधिकारी बताउँछन् ।

‘स्थानीय तहले जान दिन्नन्, काठमाडौंमा क्वारेन्टिन नै छैनन, होटेलमा बस्न मान्दैनन्, अनि ल्याएर मात्र के गर्ने ’ उनी भन्छन् ।

यसअघि सरकारले होटेलमा बस्नेलाई स्वेच्छिक र अन्यलाई सरकारी क्वारेन्टिनमा राख्ने गरी नेपाल फर्काइरहेको थियो । तर, १ भदौबाट भने सबैलाई काठमाडौंमा होटेलमै बस्ने गरी नयाँ निर्णय गर्‍यो ।

विदेशमा बेखर्ची बनेका धेरैजसो नेपालीले जबरजस्ती होटेलमा बस्न नसक्ने बताएपछि सरकार नेपालीलाई घरै नर्फकाउने निर्णयमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment