Comments Add Comment

दुबईबाट रित्तै फर्किंदै नेपाल एयरलाइन्स, एयरपोर्टमा करिब १०० नेपाली यात्रु अलपत्र

यात्रुहरु भन्छन्– हाम्रो खर्च ईश्वर पोखरेलले व्यहोर्नुपर्छ

२ भदौ, काठमाडौं । सरकारले उद्धार उडान स्थगित गरेपछि दुबई एयरपोर्टमा करिब एक सय नेपाली यात्रुहरु अलपत्र परेका छन् । यात्रुहरुलाई लिन भनेर दुबई पुगिसकेको नेपाल एयरलाइन्सको विमान भने रित्तै फर्किँदै छ ।

दुबई एयरपोर्टमा करिब एक सय जना नेपाली यात्रुहरु छन् । घर फिर्तीको सबै प्रक्रिया पूरा गरेर एयरपोर्टमा पुगिसकेका उनीहरु प्लेन रित्तै फर्किन लागेको खबर पाएपछि आक्रोशित भएका छन् । उनीहरुले आफूहरुको सम्पूर्णको खर्च नेपाल एयरलाइन्स वा उडान रद्द गराउने सीसीएमसी र यसका प्रमुख उपप्रधानमन्त्री ईश्वर पोखरेलले व्यहोर्नुपर्ने भन्दै सामाजिक सन्जालमा आक्रोश पोखेका छन् ।

सीसीएमसीले सोमबार परराष्ट्र र पर्यटन मन्त्रालयलाई पत्राचार गर्दै उद्धार उडान रोक्न भनेको थियो । विभिन्न स्थानीय तहरुले निषेधित क्षेत्र घोषणा गर्ने क्रम बढेको र होटल क्वारेन्टिनको व्यवस्था पनि भइनसकेको भन्दै उद्धार उडान रोक्न सीसीएमसीले भनेको थियो । सीसीएमसीको सोही आग्रहअनुसार विदेशबाट हुने सम्पूर्ण उद्धार उडान एक्कासी स्थगित गरिँदा विदेशमा कयौं नेपाली यात्रुहरु अलपत्र परेका छन् ।

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले यात्रुहरुलाई लिन दुबई गएको प्लेन आज रित्तै फर्किने बताइन् । उनले भनिन्, ‘सीसीएमसीले आजबाट यात्रुलाई काठमाडौं ल्याउने अनुमती रद्द गर्यो, त्यसैले यात्रु ल्याउन सकेनौं । प्लेन रित्तै फर्कनेछ ।’

यसबाट यात्रुहरुले दुःख पाउनुका साथै नेपाल एयरलाइन्सलाई घाटा पनि लागेको उनले बताइन् । यात्रुहरुले टिकट काटेको पैसा या फिर्ता पाउने या अर्को उडान भएपछि आउने उनले बताइन् ।

नेपाल एयरलाइन्सकी प्रवक्ता खड्काका अनुसार दुबईको स्टेसन म्यानेजरले सम्भव भएसम्मका यात्रुहरुलाई राति एक बजे नै फोन गरेर उडान स्थगित भएको जानकारी दिएका थिए । स्टेसन म्यानेजरले फोन सम्पर्क हुन नसकेका करिब एक सय यात्रुहरु एयरपोर्ट आएको बताएको खड्काले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment