+
+
Shares
ब्लग :

प्रवासमा पत्रकार महासंघका शाखा किन ?

नेपाल पत्रकार महासंघसँगका केही देशमा वैदेशिक शाखा छन्। ती शाखामा रोजगारीसँगै पत्रकारिता गरिरहेका पत्रकारहरू समेटिएका छन्। तर, संसारका डेढ सयभन्दा बढी देशमा नेपाली समुदाय पुगिसकेको अवस्थामा केही देशमा मात्र रहेका वैदेशिक शाखा अब अपुग बनिसकेको छ।

भुपराज बस्याल भुपराज बस्याल
२०८२ असार २७ गते ६:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शोषणमा परेका व्यक्तिहरूको पहुँच काठमाडौंसँग सीधा हुँदैन र यस्ता विषय नेपाली मिडियाको प्राथमिकतामा पर्न सकेका छैनन्। यस्तोमा नेपाल पत्रकार महासंघका वैदेशिक शाखाहरूको सान्दर्भिकता अझ बढी देखिन्छ।
  • संसारका डेढ सयभन्दा बढी देशमा नेपाली समुदाय पुगिसकेको अवस्थामा केही देशमा मात्र रहेका पत्रकार महासंघका शाखा वैदेशिक शाखा अब अपुग बनिसकेको छ।
  • प्रवासमा पत्रकार महासंघका शाखा भए भिजिट भिसाको नाममा चलिरहेको मानव तस्करी, विभिन्न देशमा रहेका नेपाली दूतावासमा हुने भ्रष्टाचार, अनियमितता, संघ-संस्थाका नाममा हुने गैरकानूनी गतिविधिको भण्डाफोर गर्न सघाउ पुग्थ्यो।

तीन वर्षअघि यूएईस्थित नेपाली दूतावासको बदमासीबारे सूचना सार्वजनिक गरेका पत्रकार उमाकान्त पाण्डे ८७ दिन कारागार बस्नुपर्योा। भिजिट भिसामा यूएई आएका नेपालीलाई अबुधावीस्थित नेपाली दूतावासले नै कार्यालय सहयोगीको रूपमा राखेर कामदार बन्ने प्रक्रियालाई सघाएको आशयको स्टाटस पत्रकार पाण्डेले फेसबुकमा पोष्ट गरेका थिए।

यूएईमा अन्य पेशासँगै पत्रकारिता गरिरहेका पाण्डेलाई अबुधावीस्थित केन्द्रीय कारागारसम्म पुर्याएउने अरू कोही नभएर विदेशमा रहेका नेपालीहरूको अभिभावक बन्नुपर्ने राजदूत स्वयं थिए। त्यसबेला यूएईका लागि नेपाली राजदूत थिए, कृष्णप्रसाद ढकाल। पत्रकार पाण्डे लामो समय थुनामा परेपछि नेपाल पत्रकार महासंघका तत्कालीन केन्द्रीय अध्यक्ष विपुल पोख्रेल र महासचिव रोशन पुरीले घटनाको सत्यतथ्य जाँच गर्न नेपालबाटै महासंघको जाँच टोली यूएई पठाएका थिए।

घटना सार्वजनिक भएपछि राजदूत ढकालको आलोचना भएको थियो। र, उनीमाथि कारबाहीको माग भएको थियो। तर, उनले घटनामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएका थिए। महासंघको टोलीले अबुधावी पुगेरै अनुसन्धान गर्दा राजदूत ढकालले नै पत्रकार पाण्डेलाई थुन्न आबुधावी प्रहरीलाई पत्राचार गरेको लगायतका तथ्य खुलेको थियो। त्यसपछि पाण्डे छुटे।

भुपराज बस्याल

साढे सात वर्षअघि भिजिट भिसाको सेटिङमा एनआरएनए कुवेत शाखाका अध्यक्ष नै संलग्न छन् भन्ने समाचार सम्प्रेषण गर्दा नेपाल पत्रकार महासंघ कुवेतका तत्कालीन अध्यक्ष हरिकृष्ण न्यौपानेले कुटाइ खानुपर्यो। नेपाल पत्रकार महासंघ कुवेत शाखाका पूर्वअध्यक्ष सुजन केसीको निवासमा खाना खान बोलाइएका पत्रकार न्यौपानेलाई एनआरएनका तत्कालीन अध्यक्ष अर्जुन तामाङले कुटपिट गरेका थिए।

न्यौपानेले आफूलाई एनआरएनए कुवेतका अध्यक्षले कुटेको चोट सहितका तस्बिर सार्वजनिक गरेपछि नेपाल पत्रकार महासंघले घटनाको सत्यतथ्य छानबिन गर्न एउटा समिति बनाएको थियो।

नेपाल पत्रकार महासंघका तत्कालीन अध्यक्ष गोविन्द आचार्यले नेपाल पत्रकार महासंघ यूएई शाखाका तत्कालीन अध्यक्ष भुपराज बस्यालको नेतृत्वमा छानबिन समिति गठन गरेका थिए। छानबिन पश्चात् समितिले पत्रकार महासंघ केन्द्रलाई प्रतिवेशन बुझाएको थियो ।

यी दुई प्रतिनिधि घटना मात्र हुन्। विदेशमा रहेर खबरबाट सुसूचित गर्ने जिम्मेवारी निर्वाह गरिरहेका थुप्रै पत्रकार विभिन्न समयमा यस्ता हिंसामा पर्दै आएका छन्। नेपालभित्रकै अभिलेख पल्टाउँदा त समाचार लेखेकै कारण पत्रकारले कुटपिट व्यहोरेका घटना धेरै नै छन्। चाहे स्वदेशमा होस् या विदेशमा समाचार लेखेकै कारण कुटपिट हुनु निन्दनीय छ।

नेपालमा अख्तियारी विपरीतका काम–कारबाहीको खबरदारी गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि विभिन्न निकाय सक्रिय छन्। आधिकारिक निकाय मात्र होइन सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि कतिपय ठाउँमा गलत कामको खबरदारी गरिरहेका हुन्छन्।

तर, विदेशमा भने त्यस्तो छैन। दूतावास र केही ठूलाबडा भनिएकाहरूको विरुद्धमा कसैले बोल्नै सक्दैन। बोलिहाले पनि पाण्डे र न्यौपाने झैं बन्नुपर्छ।

नेपालको करिब आधा जनसंख्या बाहिर छ। उनीहरू विभिन्न गतिविधिमा क्रियाशील छन्। रुचि अनुसारका संगठनमा संगठित छन्। ती सबैको अभिभावक हो दूतावास। तर, दूतावास अर्थात् राजदूतले आफ्नो गल्ती कमजोरी सुन्न चाहँदैनन्। कसैले गल्ती औंल्याउने आँट गरे उनीहरू कोपभाजनमा पर्ने गरेका छन्। सास्ती बेहोर्न बाध्य छन्।

नेपाली समुदाय पुगिसकेका प्राय: सबै देशमा नेपाल पत्रकार महासंघको विदेश शाखा स्थापना गर्नेतर्फ महासंघको वर्तमान कार्यसमितिको ध्यान जान जरूरी छ।

गैरआवासीय नेपाली मात्र होइन, प्रवासमा रहेका नेपालीको हकहितको लागि थुप्रै संस्था खुलेका छन्। त्यसमा पनि अधिकांशले आफ्नो पहुँच बनाएका छन् र त्यसैको आडमा प्रवासमा रहेका नेपालीमाथि चरम शोषण गरेका छन्। यस्ता शोषणमा परेका व्यक्तिहरूको पहुँच काठमाडौंसँग सीधा हुँदैन र यस्ता विषय नेपाली मिडियाको प्राथमिकतामा पर्न सकेका छैनन्। मिडियाको प्राथमिकतामा नपरेको विषयमा राज्यको ध्यान कम जानु पनि स्वाभाविक हो।

यस्तोमा नेपाल पत्रकार महासंघका वैदेशिक शाखाहरूको सान्दर्भिकता अझ बढी देखिन्छ। किनभने, विदेशमै रहे पनि सञ्चारकर्मीहरू त्यस देशमा रहेका नेपाली समुदायसँग सबैभन्दा बढी भिजेका हुन्छन्। नेपालीले त्यहाँ भोगेका समस्याबारे सबैभन्दा बढी जानकार हुन्छन्, जसका कारण तिनलाई समस्या समाधानका निम्ति पहल तथा सत्य अन्वेषण गर्न अरूभन्दा सहज हुन्छ।

हुनत नेपाल पत्रकार महासंघसँगका केही देशमा वैदेशिक शाखा छन्। ती शाखामा रोजगारीसँगै पत्रकारिता गरिरहेका पत्रकारहरू समेटिएका छन्। तर, संसारका डेढ सयभन्दा बढी देशमा नेपाली समुदाय पुगिसकेको अवस्थामा केही देशमा मात्र रहेका वैदेशिक शाखा अब अपुग बनिसकेको छ।

यो क्रमलाई नेपाली पुगेको प्रत्येक देशमा पुर्याउन सके नेपाल र नेपाली रहेको गतिविधि, भिजिट भिसाको नाममा चलिरहेको मानव तस्करी, विभिन्न देशमा रहेका नेपाली दूतावासमा हुने भ्रष्टाचार, अनियमितता, संघ-संस्थाका नाममा हुने गैरकानूनी गतिविधिको भण्डाफोर गर्न सघाउ पुग्थ्यो।

त्यसैले नेपाली समुदाय पुगिसकेका प्राय: सबै देशमा नेपाल पत्रकार महासंघको विदेश शाखा स्थापना गर्नेतर्फ महासंघको वर्तमान कार्यसमितिको ध्यान जान जरूरी छ।

(बस्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?