Comments Add Comment

डाक्टरको घरमा कोरोना संक्रमितको ब्यानर !

३०, साउन, चितवन । साउन २८ गते पूर्वी चितवनको रत्ननगर बकुलहर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ड डा. विश्ववन्धु बगाले र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भयो । १२ वर्षका छोरासहित भरतपुर महानगरपालिका- ४ मा आफ्नै घरमा बस्दै आएका डा. बगालेले शुक्रबार बिहान निकै नमिठो दृश्य आफ्नो घर अगाडि देखे ।

बिहान करिव ८ बजेतिर टोल सुधार समितिकी सुशीला ढकालको नेतृत्वमा टोलसुधार समितिका केही मान्छे जम्मा भएर घर अगाडि ‘कोरोना संक्रमितको घर’ भन्ने ब्यानर टाँस्न लागे ।

डा. बगालेले केको ब्यानर टाँस्न लाग्नुभएको भनेर सोधे । उनीहरूले एकमुख भएर भने, ‘कोरोना संक्रमितको घर हो, सबै सावधानी हुनुहोला भनेर सचेतना फैलाउन टाँस्न लागेको ।’

उनीहरुको भनाइ बगाले परिवारले निकै नमीठो माने । ठूलै अपराध गरेजस्तो गरी मानिसहरू भेला भएर सहानभूतिभन्दा पनि एक्ल्याउने, सामाजिक बहिष्कार गर्ने र मनोबल घटाउने काममा उद्दत्त रहेजस्तो लाग्यो ।

डा. बगालेले उनीहरुसँग आफू चिकित्सक भएको र विशेष सावधानी अपनाएर घरमा नै बसिरहेकाले समाजप्रति सचेत र जिम्मेवार रहेको बताए । तर, उनीहरुले डा. बगालेको भनाइ सुनेनन् र ब्यानर टाँस्न खोजे । त्यसपछि डा. बगालेले ‘घरको भित्तैभरि टाँस’ भन्दै प्रतिवाद गरे ।

गाउँलेहरु त्यसपछि भने ब्यानर नटाँसी फर्किए ।

डा. बगालेले वडाध्यक्ष हरि आचार्यको निर्देशनमा टोल सुधार समितिका मान्छे ब्यानर टाँस्न आएको आरोप लगाएका छन् ।

बिहीबार वडाध्यक्ष आचार्यले डा. बगालेका बारेमा जानकारी पनि लिएका थिए ।

‘संक्रमण पुष्टि भएपछि घर बाहिर गएका छैनौं, कसैसँग पनि कुनै सम्बन्ध सम्पर्क बढाएको छैन, तर एकाएक स्थानीय जनप्रतिनिधि र टोल सुधार समितिको नाममा यस्तो नमिठो ब्यवहार भोग्नुपर्‍यो’ अनलाइनखबरसँग डा. बगालेले भने, ‘कोरोनाका बारेमा त कम्तिमा पनि उहाँहरुले भन्दा दुई/चार कुरा मैंले बढी जानेको हुँला नि ।’

वडाध्यक्ष आचार्यले ब्यानर टाँस्न आफू नगएको र टाँस्दैमा बिग्रिहाल्ने कुरा पनि नभएको प्रतिक्रिया दिए । ‘कयौं ठाउँमा संक्रमित क्षेत्र भनेर सिल पनि गरिएका छन्, त्यति गर्दामा उहाँलाई समाजबाट बहिस्कार गरेको अर्थमा बुझ्न भएन,’ वडाध्यक्ष आचार्यले भने ।

डा. बगालेले कोरोना संक्रमण भएदेखि नै घरको गेटमा भित्रबाट चाबी लगाएका छन् । आवश्यक सामग्री आफन्त तथा साथीहरुलाई फोन गरी घर बाहिरसम्म ल्याउन लगाएका छन् ।

डा. बगालेका श्रीमान-श्रीमतीमा संक्रमण पुष्टि भए पनि छोरामा भने संक्रमण देखिएको छैन । घरमा तीनजना मात्रै बस्ने भएकाले डा. बगाले आफैंले खाना पकाउँछन् र श्रीमती, छोरालाईसमेत खुवाउँछन् । अहिलेसम्म डा. दम्पतिमा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन ।

अवस्था सामान्य रहेको डा. बगालेले बताए । आफूलाई कसरी कोरोना संक्रमण भयो भन्नेमा अझैंसम्म निधो नपाएको डा. बगालेले बताए ।

‘म आफ्नै गाडीमा हिँड्छु, सेनिटाइजर धसेको धस्यै हुन्छु, मास्क, ग्लोब्स आइसिल्ड लगाउँछु, बिरामीलाई पनि निश्चित दूरी राखेर चेकजाँच गर्छु’ बालरोग विषेशज्ञसमेत रहेका डा. बगालेले भने ‘तर पनि कसरी संक्रमण भयो भयो ।’

उनले कोरोना संक्रमित भएर घरमा बसे पनि आराम भने पाएका छैनन् ।

वडाध्यक्ष र गाउँलेको ब्यवहारबाट आफू दुःखी बनेको अस्पतालका मेसु डा. बगाले बताउँछन् ।

डा. बगालेले जस्तै दुर्व्यवहार रत्ननगर बकुलहर अस्पतालमा काम गर्ने अन्य स्वास्थ्यकर्मीले समेत भोग्न थालेका छन् ।

अस्पतालको आकस्मिक कक्षमा काम गर्ने अहेब दीपक बास्तोलालाई पनि छिमेकीहरुले यस्तै व्यवहार गरे ।

रत्ननगर १३ घर भएका बास्तोलालाई केही छिमेकीले सोधी खोजी गरेर र फोन गरेर हैरान पारे । यसबाट अनावश्यक तनाव भएको उनको भनाइ छ । उनले कोरोना परीक्षणका लागि स्वाब दिए पनि रिपोर्ट भने आएको छैन । हाल उनी घरमा नै आइसोलेसनमा छन् ।

रत्ननगर नगरपालिका-१३ घर भएका बास्तोलालाई धेरै सोधी खोजी गर्ने, फोन गरेर धम्की दिने काम छिमेकीहरुले नै गरेको उनी बताउँछन् । उनले कोरोना परीक्षणका लागि स्वाब दिए पनि रिपोर्ट आएको छैन । हाल उनी घरमै आइसोलेसनमा छन् ।

लायन्स क्लबलगायतका विभिन्न सामाजिक संघसंस्थामा बसेर कामसमेत गरेका बाँस्तोलालाई विगतमा आफूले लगाएको गुनसमेत बिर्सिएर हेयको दृष्टिकोणबाट लिने गरेकोमा चित्त दुखेको छ ।

‘मेरो त आफ्नै घर छ, विगतमा दिनमा यही समाजका लागि कति सहयोग गरेको छु तर आज सबै बिर्सिएर सामाजिक बहिष्कारको तहमा समाज उत्रिएको देख्दा दुःख लाग्यो’ अहेब बास्तोलाले भने, ‘अझै अरुको घरमा भाडामा बस्ने स्वास्थ्यकर्मीहरुको हालत के होला, बेलैमा नसोचे अवस्था निकै जटिल मोडमा पुग्छ ।’

स्थानीय तह, प्रहरी प्रशासन र सञ्चार जगतले यस्ता विषयमा बेलैमा सर्तक बनाउनुपर्ने बास्तोला बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment