Comments Add Comment

‘पाँचथरीका बैंक चाहिन्छ कि चाहिँदैन भन्ने बहस हुनुपर्‍यो’

'एनएमबी र एनआईसी एसिया मर्जरको सम्भावना छैन'

५ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा एउटा पुरानो रोग छ, सञ्चालक र व्यवस्थापकबीचको अन्तरद्वन्द्व । एकाध बैंकलाई होइन कि यो रोगले समग्र बैंकिङ क्षेत्रलाई नै सताएको छ ।

बैंकिङ क्षेत्रका जानकारहरु प्रायः सञ्चालकले अनावश्यक ‘टार्गेट’ दिँदा सीईओ दवावमा पर्ने र समस्या पैदा हुने बताउँछन् । कतिपय अवस्थामा भने सीईओको मनपरीका कारण पनि सञ्चालक रुष्ट हुने गरेका उदाहरणहरु छन् ।

सञ्चालक र सीईओबीच मनमुटाव हुँदा धेरै बैंकरहरुले पुरा कार्यकाल बैंकमा काम गर्न पाएका छैनन् । तर एनएमबि बैंकमा भने अवस्था अलि फरक छ । यसमा सञ्चालक र सीईओको लफडा सुनिएको छैन ।

यस बैंकका अध्यक्ष चर्चित उद्योगी पवन गोल्यान हुन् । बैंक तथा वित्तीय संस्थाहरुका सञ्चालकहरुको संगठन नेपाल बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष समेत रहेका गोल्यानले बैंकको नेतृत्व गरिरहदा कार्यकारी जिम्मेवारी भने सुनिल केसीले निभाइरहेका छन् ।

एनएमबि बैंकको प्रधान कार्यालय बबरमहलमा हामीले अध्यक्ष गोल्यान र सीईओ सुनिल केसी दुबैलाई एकसाथ भेट्यौं । दुबैजना सँगै बसेर अन्तरवार्ता दिन तयार भए । अध्यक्ष गोल्यानलाई केही नीतिगत प्रश्नहरु राखियो भने बैंकका सीईओ केसीसँग समग्र बैंकिङ क्षेत्रको अवस्था र एनएमबि बैंकका विषयमा पनि जिज्ञासाहरु राख्यौं ।

पछिल्लो समय एनआईसी एसिया र एनएमबि बैंक मर्जरमा जाने विषयमा चलिरहेको हल्ला सत्य नभएको उनीहरुले बताए । प्रस्तुत छ, अध्यक्ष र सीईओसँग अनलाइनखबरकर्मी रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंशः

चालु आर्थिक वर्षका लागि आएको मौद्रिक नीतिको सर्वत्र चर्चा भयो । तपाईंले पनि स्वागतयोग्य भन्नुभएको थियो । तर अहिले बैंकलाई मात्रै प्रेसर भयो भन्ने कुरा आएको छ । त्यस्तो हो र ?

अध्यक्षः यस आर्थिक वर्षका लागि आएको मौद्रिक नीति राम्रो हो । मैले पनि एकदमै मुक्तकन्ठले प्रशंसा गरेकै हो । हाम्रा ग्राहकहरुका लागि मौदि्रक नीति राम्रै आएको हो । तर विस्तारै हेर्दै जाँदा यसको सबै भार बैंकहरुलाई मात्रै लगाएको पाइयो । सर्वसाधारणलाई सुविधा दिँदा सरकार, राष्ट्र बैंकको पनि योगदान हुनु पर्नेमा सबै बैंकहरुको काँधमा मात्रै हालिएको छ ।

भनाइको आशय, तपाईहरुका ग्राहकलाई दिएको सुविधाको केही हिस्सा राष्ट्र बैंकले पनि खेप्नुपर्ने थियो ?

अध्यक्षः एकदमै । पुनःकर्जाको विषय बाहेक हरेक कुरा बैंकहरुकै टाउकोमा आएको छ । पुनकर्जामा पनि लागतभन्दा कम मार्जिनमा हामीले लगानी गर्नु परेको छ । यसले पनि बैंकहरुलाई थोरै गाह्रो पार्ला कि जस्तो लाग्छ ।

कर्जा तिर्नका लागि ऋणीलाई म्याद थप गरिएको छ । ग्राहकहरुलाई २ वर्षसम्म समय दिएकोमा मेरो आपत्ति होइन । अहिले बैंकहरुको नाफा समग्रमा घटेको रिपोर्टहरु सञ्चार माध्यममा आइरहेका छन् । जति नाफा देखिएको छ त्योभन्दा धेरै कम वितरणयोग्य नाफा छ । अझ भनौ आधा पनि छैन । सबै बैंकको उठ्नुपर्ने पैसा उठ्न बाँकी छ ।

त्यसको लागि ९० दिनको समय दिएपनि पुस मसान्तसम्मको समय दिए पनि पर्खन गाह्रो छ । त्यो बेलासम्म त पैसा माग्न पनि मिल्दैन । माग्यो कि राष्ट्र बैंकको घुर्की लगाउँछन् । अनि कसरी हुन्छ ?

मौद्रिक नीतिको अर्को प्राथमकितामा ठूला बैंकहरुको मर्जर (बिग मर्जर) पनि रहेको देखिन्छ । पछिल्लो समय फोर्स मर्जरको चर्चा पनि छ । यस विषयमा परिसंघको धारणा के हो ?

अध्यक्षः बिग मर्जरको विषयमा हामी छलफलमै छौं । हाम्रो भनाइ पनि बैंकको संख्या कम हुनुपर्छ भन्ने नै हो । तर बैंकको संख्या घटाउनका लागि जुन नीति आउनुपर्ने थियो, त्यो आएन । राष्ट्र बैंकले दिने सुविधा पुगेन ।

स्प्रेड दर १ प्रतिशत बढी दिने भनेको थिएन । मर्जरमा जाँदा कति धेरै खर्च हुन्छ । त्यो खर्च पनि नउठ्ने गरी निर्देशन आएको छ । स्प्रेडदर १ प्रतिशत छुट दिने भनेको पनि पछि हटाइएको छ । ४.४ बनाइएको छ ।

अहिले गणना विधि पनि परिवर्तन गरिएको छ । ‘क’ वर्गका बैंकहरुमा नयाँ बैंकहरुको खर्च ३ प्रतिशतभन्दा बढी छ । ३ प्रतिशत भन्दा बढी खर्च अनि १ प्रतिशत प्रोभिजनिङ गर्दाखेरी बैंकहरु नाफामा आउन धेरै वर्ष लाग्ने भयो । यसले पनि एक किसिमको गाह्रो अवस्था देखिएको छ । यि सबै कामहरु राष्ट्र बैंकले मर्जरकै लागि गरेको जस्तो लाग्छ ।

मर्जरका लागि अरु कस्ता सुविधा आवश्यक छन् ?

अध्यक्षः मर्जर गराउनका लागि केही न केही सुविधा त दिनै पर्छ । अहिलेकोले पुग्दैन । अब फोर्स मर्जर गराउने कुरा त अर्को हो । बैंकहरुमा फोर्स होइन स्वैच्छिक मर्जर हुँदा राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।

मर्जरका लागि राष्ट्र बैंकले ‘क्रस होल्डिङ’ मा भएका बैंकलाई प्राथमिकता राख्ने बताएसँगै एनएमबि बैंक र एनआईसी एशिया मर्ज हुन्छन् भन्ने चर्चा छ । के साँच्चिकै मर्जरमा जाने हो ?

अध्यक्षः यो कुरा धेरै आएको छ । म एनएमबिको चेयरम्यान हुँ, मलाई नै थाहा नभई हुन्छ र ? यो त हास्यास्पद कुरा भयो । यहाँ त्यस्तो धेरै क्रसहोल्डिङ पनि छैन । एनएमबिको तर्फबाट हेर्ने हो भने ५ प्रतिशत पनि पुग्दैन ।

म एनएमबिको चेयरम्यान भएको नाताले भन्नुपर्ने कुरा के छ भने ९५ प्रतिशत सेयरहोल्डर फरक छन् । मेरो त एनआईसी एशियामा लगानी छैन । मेरो छुट्टसिकेको परिवारको जोड्दा पनि ५ प्रतिशतमात्रै पुग्छ । यो हिसाबले हेर्ने हो भने एनएमबि र एनआईशी एशियाबीच मर्जर हुन सक्दैन ।

यि दुई बैंकहरु एकदमै फरक प्रकृतिका बैंकहरु हुन् । बैंकहरुमा फरक-फरक कल्चर हुन्छ । मैले यो राम्रो, त्यो नराम्रो भन्न खोजेको छैन । कल्चर नै फरक भएकाले यस्तो मर्जर भए पनि सफल हुँदैन ।

भनेपछि सम्भावना नै छैन ?

अध्यक्षः म त सम्भावना देख्दिन । फोर्स नै गरायो भने अलग कुरा हो । तर राम्रोसँग चलिरहेका बैंकहरुलाई फोर्स गर्छ होला भन्ने मलाई लाग्दैन ।

एनएमबिले निकै बलियो विकास बैंकलाईर् पनि गाभिसकेको छ । तर अहिले राष्ट्र बैंकको फोकस वाणिज्य बैंकमात्रै हो । अन्य वाणिज्य बैंकसँग मर्जरमा जाने सम्भावना के छ ?

अध्यक्षः एनएमबि बैंकमा हामी मात्रै होइन, अन्य पार्टनरहरु धेरै छन् । एफएमओ डेभलपमेन्ट बैंक पार्टनर छ । कर्मचारी सञ्चय कोषदेखि मलेसियाको एक कम्पनी पनि पार्टनर छ । उनीहरु सबैकेा सेयर जोड्ने हो भने ३५ देखि ४० प्रतिशत हुन आउछ । करिब ४० प्रतिशत त उनीहरुले होल्ड गर्छन् । व्यक्तिगत हेर्ने हो भने त १०, १२ प्रतिशत भन्दा धेरै छैन । यो भनेको मेरो वा अरुको भन्दा पनि मेजर सरोकारवालाको कुरा हुन्छ ।

उहाँहरुको कुरा अहिले त्यसरी जानु हुँदैन भन्ने छ । सुदुरपश्चिमको बलियो विकास बैंक कञ्चन डेभलपमेन्ट बैंकसँग आगामी आइतबारदेखि एकीकृत कारोबार सुरु गर्दर्छौ । अहिलेसम्म हामी ५/६ वटा डेभलपमेन्ट बैंकसँग मर्ज गराइसकेका छौं । मलाई अहिले एनएमबि बैंक मर्जरमा जानु उचित जस्तो लाग्दैन ।

पछिल्लो समय ‘क’ वर्गका बैंकले गर्ने काम ‘ख’ र ‘ग’ वर्गले पनि गर्न थालेका छन् । ‘क’ वर्गका बैंकले पनि उनीहरुले गर्ने काम गर्न थालेका छन् । तपाई त ‘क’, ‘ख’ र ‘ग’ सबैको नेतृत्व गरिरहनु भएको छ, यी संस्थाहरुमा केही भिन्नता हुनु पर्दैन ?

अध्यक्षः यसमा बहस नै चलाउनु पर्छ । पाँचथरीका बैंक चाहिन्छ कि चाहिदैन भन्ने कुरामा बहस हुनुपर्यो । हामी -परिसंघ) ले पनि सबै क्षेत्रका विज्ञलाई राखेर बहस चलाउने कि भन्ने सोचिरहेका छौं । अहिले मौदि्रक नीतिले ‘ख’ वर्गको बैंकले १५ प्रतिशत कर्जा १ करोड- भन्दा घटिको लगानी गर्नुपर्छ भन्ने कुरा राखेको छ । यस्तो हुने हो भने त ‘ख’ र ‘ग’ वर्गको औचित्य नै हराएर गए जस्तो मलाई लाग्छ । ‘ख’ र ‘ग’ को काम क ले गरेपछि खर्च पनि बढ्छ ।

अर्को कुरा पहुँच पनि पुग्दैन । ‘क’ वर्गका बैंकको सबै ठाउँमा शाखा छैनन् । फेरी घुमिफिरी काठमाडौंमै वा जहाँ बढी शाखा छन् त्यहिँ मात्रै जानसक्छ । यसले बढी पैसाको प्रवाह बढ्ने, खर्चमा मात्रै बढी पैसा जाने सम्भावना हुनसक्छ । यसले विकृति पनि बढाउने सम्भावना म देख्छु । राष्ट्र बैंकले यसमा थप अध्ययन गर्नु पर्ने आवश्यकता छ । यि सबै बैंकहरु आवश्यकता छन् कि छैनन ?

सहुलियत पूर्ण कर्जा देशको आवश्यकता हो । यो गर्नुपर्छ भनेर म आफैं पनि लागेको थिएँ । सबै किसिमका बैंकले यसमा प्राथमिकता दिनुपर्छ । वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई यो सुविधाहरु दिनु पर्छ । तर अरु कर्जामा भने यस्तो हुनु हुँदैन । परिसंघ भनेको ‘क’ वर्गको मात्रै होइन ‘क’, ‘ख’ र ‘ग’ का सबै छौं । हाम्रो दायित्व तीनै किसिमको बैंकमा छ । विन-विनको विधिअनुसार अघि बढ्नु पर्‍यो । कि यो-यो किसिमको बैंक आवश्यकता छैन, यो-यो मात्रै चाहिन्छ भन्नु परो ।

सबै वर्गका बैंक तथा वित्तीय संस्थाहरुबीच डिमार्केसन हुनुपर्छ । ‘क’ को लागि यो, ‘ख’ का लागि यो अनि ‘ग’का लागि यो भन्ने हुनुपर्छ ।

आगामी दिनका लागि प्लेटर्फम बनेको छः सीईओ केसी

गत आर्थिक वर्ष एनएमबि बैंकका लागि कस्तो रहृयो ?

सीईओः समग्रमा सोचेको जस्तो परफरमेन्स हासिल गर्न सकेनौं । कोभिडको असर पर्यो । राष्ट्र बैंकले भनेको भन्दा पनि बढी हामीले प्रोभिजनिङ गरेका छौं । हाम्रो नाफामा निकै असर परेको छ । हाम्रोमा मात्रै होइन । संसारभर नै यसको असर परेको छ ।

भारतमै पनि बैंकहरुको नाफामा गिरावट आएको छ । अहिले प्रोभिजन गर्दा पछि राम्रो हुन्छ भनेर हामीले प्रोभिजन गरिराखेका छौं । नाफाबाहेक अन्य सूचकहरु हेर्ने हो भने सबै सबल अवस्थामा छन् । हाम्रो तरलताका हिसाबले वा अन्य कुनै पनि हिसाबले हामी राम्रो अवस्थामा छौं ।

अब विजनेस राम्रो हिसाबले अघि बढ्ने हो भने आगामी दिनमा निकै राम्रो हुने प्लेटर्फम बनिसकेको छ । राष्ट्र बैंकले दिएको छुटका कारण धेरै ब्याजहरु पनि उठ्न नसकेको अवस्था छ । उठ्न बाँकी ब्याजहरु धेरै छन् । बाहिरका बैंकहरुसँग तुलना गर्ने हो भने पनि यस्तै छ । यत्तिको नतिजा ठिकै हो भन्ने मलाई लाग्छ ।

गत वर्षको वित्तीय विवरणबाट बैंकका सेयरधनी कत्तिको खुसी हुनुहुन्छ ?

सीईओः सबै सेयर होल्डरहरुको पनि अपेक्षा यस्तै थियो होला जस्तो लाग्छ । अहिले विश्वव्यापी नै मुनाफा घटिरहेको अवस्था हो । नेपालको बैंकिङ क्षेत्रले निकै राम्रो गर्छ भन्ने अपेक्षा उहाँहरुको थिएन होला ।

अहिले हाम्रो १ अर्ब ४२ करोड रुपैयाँ वितरणयोग्य मूनाफा छ । ब्याज उठ्न गाह्रो परेको अवस्थामा पनि उठाएर यत्तिको बनाएका छौं । यो समय अनुसारको ‘एपि्रसियट’ नै गर्नुपर्छ होला ।

कोभिडको असरले बैंकिङ क्षेत्रको भविष्य कतातिर लैजाला ?

सीईओः बैंकिङ क्षेत्रको भविष्यको कुरा गर्दा सबैभन्दा पहिला एनएमबि बैंककै कुरा गरौँ । अहिले हाम्रो १९ अर्बभन्दा बढीको कोर क्यापिटल छ । अन्य सूचकहरु बलिया नै छन् । केही समस्या लिएर आए पनि समाधान गरेर अघि बढ्न सक्ने अवस्थामा छौं ।

हामीले २०१५ मा पनि समस्या झेल्यौँ । अहिले समग्र रुपमा बलियै देखिएका कारण समस्या आए समाधान गर्न सक्छौं । समग्र बैंकिङ क्षेत्रकै कुरा गर्नुपर्दा पनि अहिले पुँजीका हिसाबले बैंक वलिया भएर बसेका छन् । सबै नै एउटा किसिमले अहिलको परिस्थितिलाई अगाडि बढाएर लिएर जान सक्ने क्षमताका छन् ।

तर अहिले तरलता निकै छ । कर्जा लगानी नभएर समस्या भएको छ । यो समस्या बैंकिङ क्षेत्रले अझै कति लामो समय झेल्नु पर्ला ?

सीईओः अहिलेको अन्योलको अवस्था छ । नयाँ लगानीहरु आउन सकेको छैन । हामी आंशिक लकडाउनमै छौँ । क्राइसिसको बेला केन्द्रीय बैंकले नीतिगत वा मौदि्रक नीतिको हिसाबले बढाउने नै काम भएको छ ।

अहिले जुन किसिमले माग हुनुपर्ने थियो त्यो भएको छैन । तर अब अगाडि बढ्दाखेरी विस्तारै कर्जाको माग बढ्दै जान्छ । कहिलेकाही तरलता अभाव पनि हुन्छ । कहिले धेरै हुन्छ । यो साइकल हो ।

दशैंसम्ममा यो समस्या सकिएला त ?

सीईओः अहिले समग्रमा ७२ प्रतिशत सीसीडी रेसियो छ । अहिले बढाएर ८५ प्रतिशतसम्म पुर्‍याएकाले लगानीका लागि प्रशस्त फन्ड छ । दशैं आउन २ महिनामात्रै भएकाले यो समयमै समधान नहोला । तर विस्तारै यसले एउटा बाटो लिन्छ ।

भ्याक्सिन बनेपछि बिजनेश बढ्छ । अर्को रेमिट्यान्सको पनि कुरा छ । यो वर्ष सोचेभन्दा राम्रै भयो । रेमिट्यान्समा त्यति ठूलो गिरावट आएन भने त्यति धेरै समस्या पनि हुँदैन होला ।

बैंकिङ क्षेत्रमा सञ्चालक र सीईओबीचमा टकराव आइरहन्छन् । एनएमबि बैंकमा चाहिँ यस्तो समस्या कत्तिको छ ?

अध्यक्षः एनएमबि बैंक २५ वर्षको हुन लाग्यो । बोर्ड र म्यानेजमेन्टको नङ र मासुको सम्बन्ध छ । यो नयाँ कुरा पनि होइन । मैले नै सुरुवात गरेको पनि होइन । ठाकुरनाथ पन्तले नै शुरुवात गर्नु भएको हो । हिजोको राम्रो अहिले पनि जस्ताको तस्तै छ । म्यानेजमेन्टको काम बैंक चलाउने हो ।

सीईओ: बैंकिङ क्षेत्रको कुरा गर्दा सम्भवतः सबैभन्दा ‘इम्पावर्ड’ सीईओ नै  होला । म्यानेजमेन्टको काम भनेको बोर्डको भिजनलाई कसरी कार्यान्वयन गर्दै जाने भन्ने हो । अहिलेको अवस्थामा हामीलाई धेरै स्वतन्त्रता छ ।

उहाँहरुबाट हामीले बेलाबेलामा गाइडेन्स खोज्ने हो । ९० प्रतिशतसम्म बिजनेश क्रेडिट स्वीकृति व्यवस्थापन तहबाटै गर्छौ । बोर्डमा हामी कम काम मात्रै लैजान्छोैं । हाम्रो गुड गभर्नेन्सकै कारण पछिल्लो ४, ५ वर्षमा हामीले यो अवस्था हासिल गरेका छौं ।

कर्जा स्वीकृतिदेखि लिएर विभिन्न काममा बोर्डको दवाव सीईओले खेप्नु पर्छ भन्ने कुरा आउछ ? अलिअलि दवाव त होला नि ?

अध्यक्षः बोर्डबाट दवाव छैन । उहाँलाई नै सोध्नु भए हुन्छ । बरु हामीले उहाँलाई बाहिरबाट पनि दवाव नआओस् भन्ने चाहेका छौं । उहाँले बोर्डको नाम लिएर पनि पन्छिन पाउनु हुनेछ ।

सीईओः नीतिगत हिसाबले अप्ठेरो परेको छ कि छैन भन्ने कुरा परफरमेन्सले नै देखाउँछ । हामी जुन ग्राफमा अघि बढिरहेका थियौं, कोभिडले अलिकति हामीलाई रोक्यो । २ वर्षको हेर्दा, हामी २ पटक ‘बैंक अफ दि इयर’ भयौ । ३ वटा बैैंकहरु हामीले लगातार मर्ज गरायौँ । ७/ ८ वटा बैंकलाई हामीले मर्जर गराइसक्यौँ । ९० प्रतिशतभन्दा बढी निर्णय व्यवस्थापन तहबाट गछौंर्ं । यसकारण दवाव भन्ने छैन ।

तपाईसँग हामीले एक वर्षअघि कुरा गर्दा मर्जर हुँदा सिनर्जी आउने किसिमको मर्जर हुनुपर्छ भन्नु हुन्थ्यो । धेरै संस्था मर्जर गराउनु भएको छ, के-कस्तो सिनर्जी पाउनुभयो त ?

सीईओः मर्जर जहिले पनि चुनौतीपूर्ण हुन्छ । मर्जर केका लागि भन्ने पनि ध्यान दिनु पर्छ । हामीले भर्खर राष्ट्रिय स्तरको विकास बैंक मर्ज गरायौँ ।

हाम्रो ४ नम्बर प्रदेशमा राम्रो उपस्थिति थिएन । ओम डेभलपमेन्ट बैंक मर्ज गराएपछि फरक अवस्था भयो । पर्यटन, कृषि, जलविद्युत्का हिसाबले त्यो क्षेत्र हाम्रो बैंकको फोकस थियो । हामी आफै शाखा विस्तार गर्नुभन्दा त्यहाँ राम्रो चलिरहेको संस्था मर्ज गराउँदा राम्रो हुन्छ भन्ने हामीले सोचेका थियौँ । मर्ज भइसकेपछि हाम्रा योजना कार्यान्वयनको चरणमा छौं ।

अर्को हप्तादेखि हामीले सुदुरपश्चिम प्रदेशको बलियो कन्चन डेभलपमेन्ट बैंकसँग एकीकृत कारोबार गर्दछौं । जुन बैंक त्यो प्रदेशको सबैभन्दा ठूलो बैंक हो । मर्जर हुँदा पुँजी बढ्ने भन्दा पनि हाम्रो उद्देश्य के हो भन्नेतिर ध्यान दिनुपर्‍यो । हाम्रो उद्देश्य पुँजी बढाउने मात्रै नभएर अलि फरक किसिमले बैंीकङ सेवा विस्तार गरौँ भने हो । नेपालमा हामी मूलधार भन्दा अलि फरक किसिमले बैंकिङ गरेर आइरहेका छौं ।

हामीले गरेको बैंकिङले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नु पर्छ भन्ने हो । हामी नाफाका लागि मात्रै बैंकिङ गर्दैनौं । त्यस्तै किसिमका संस्था पायौं भने हामी मर्जरमा जाने सम्भावना हुन्छ ।

हामी फरक छौं भन्नुभयो, एनएमबि बैंक र अन्य बैंकहरुबीचको फरक चाहिँ के-के हो ?

अध्यक्षःमूख्य फरक भनेकेा सीईओसापले भनेको नै हो । हामी देशको नीति अनुसार नै जान्छौं । कृषि, उर्जा र पर्यटन सरकारको पनि प्राथमिकतामा छ । हामीले यसपालीदेखि होइन केषि वर्ष अघिदेखि नै यसलाई प्राथमिकतामा राखेका छौं । यसका सँगसँगै साना तथा मझौलालाई पनि प्राथमिकतामा राख्ने भन्ने सोचेका छौं ।

कर्पोरेटलाई मात्रै ध्यान दिएर भएन । कर्पोरेटले मात्रै आर्थिक उन्नती हुँदैन भन्ने हामीले सोचेका छौं । हामीले यसमा जोड गरेका छौं । हामीले प्रविधिमा पनि ध्यान दिएका छौं । कोभिडले डिजिटलाइजेनको आवश्यकता र मूल्य झन् धेरै बढाएको छ ।

हामी शाखा खोल्नेदेखि लिएर हरेक काम डिजिटल प्रविधिबाट गराउने गरी काम गरिरहेका छौं । बैंकका सर्वसाधारणको पहुँच बढोस् । शाखामा आउनै पर्ने बाध्यतालाई कम गर्ने हाम्रो योजना हो । अन्य बैंकहरुले पनि यो गरिरहनु भएको छ । तर अन्य बैंकभन्दा हामी अगाडि छौं ।

कहिलेसम्म शाखामा आउनैपर्ने बाध्यता हट्ला त ?

सीईओः केहि समय त लाग्ला नै । तर धेरै लगानी गरेर हामी निकै अगाडि बढिसकेको अवस्था छ । हामीले नेपालमै पहिलो पटक फेसवुक मेसेन्जरबाट खाता खोल्न सकिने बनाएका छौं । यसबाट राम्रो रेस्पोन्स आइरहेको छ । भाइबरबाट पनि हामीले गर्दर्छौ । अहिले धेरै सम्भावनाहरु छन् । कोभिडका कारण हाम्रा ग्राहकमा पनि यसको चेतना बढिरहेको छ । अहिले समय राम्रो भएको छ यसका लागि  ।

प्रविधिका नयाँ प्रोडक्टहरुमा हामीले काम गरिरहेका छौं । क्रमशः हामी घोषणा गर्दै जानेछौं । हामीले पब्लिक भेइकलमा भाडा तिर्नका लागि पि्रपेड कार्डको काम पनि गरिरहेका छौं । सोलार, हाइड्रोपावर लगायतका क्षेत्रमा पनि काम गरिरहेका छों । कोभिड-१९कै बिचमा पनि २४, २५ मेगावाटको प्रोजेक्टमा पनि काम गरेका छौं ।

कोभिड पछाडि बैंकहरुको प्राथमिकतामा पर्नसक्ने क्षेत्र कुन-कुन हुन् ?

अध्यक्षः अब बैंकले लगानी गर्ने भनेको उत्पादनमूलक क्षेत्रमा नै हो । जुन क्षेत्रमा लगानी गरिन्छ त्यसले आयात प्रतिस्थापवन गर्न मद्दत गर्नुपर्छ । त्यसको लागि साना तथा मझौला उद्योगहरुको पनि विकास गर्नु पर्छ । ठूला उद्योगहरु पनि आफ्ना ठाउँमा छन् । मौलिक उत्पादनहरुको विकास गर्नेतर्फ हामीले ध्यान दिनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment