Comments Add Comment

टेस्ला सीईओ मस्क बने विश्वकै चौथो धनी व्यक्ति, ८ महिनामै थपियो ६० खर्ब सम्पत्ति

चर्चित कम्पनी टेस्ला तथा स्पेस एक्सका सीईओ अमेरिकी अर्बपति एलोन मस्क विश्वका सर्वाधिक धनी व्यक्तिको चौथो स्थानमा उक्लिएका छन् ।

ब्लुम्बर्गको रिपोर्टअनुसार चालू वर्ष सन् २०२० सुरु भएयता मात्रै मस्कको सम्पत्ति ५७ अर्ब डलर थपिएको छ ।

बिहीबार टेस्ला कम्पनीको शेयर मूल्यमा ११ प्रतिशतको बढोत्तरी भएसँगै एकैदिन मस्कको सम्पत्ति ७ अर्ब ८० करोड डलरले बढ्यो ।

सन् २०२० को सुरुआतमा मस्कको कुल सम्पत्ति जम्मा ३० अर्ब डलरको हाराहारीमा थियो । त्यतिबेलासम्म उनी विश्वका अर्बपतिहरुको सूचीमा टपटेनभन्दा निकै टाढा थिए । तर पछिल्लो ८ महिनामा उनको सम्पत्ति ५७ अर्ब डलर थपिएसँगै उनको सम्पत्ति ९० अर्ब डलर मात्र पुगेन उनी विश्वका अर्बपतिहरुको सूचीमा छलाङ मार्दै चौथो स्थानमा आइपुगे ।

ब्लुम्बर्ग बिलेनियर इन्डेक्सअनुसार विश्वका धनाढ्यको सूचीको पहिलो नम्बरमा अमेजन कम्पनीका सीईओ जेफ बेजोसको सम्पत्ति एक खर्ब ९२ अर्ब डलर रहेको छ । दोश्रो स्थानमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स छन्, उनको सम्पत्ति एक खर्ब २१ अर्ब डलर छ । त्यस्तै तेश्रो स्थानमा फेसबुक सीईओ मार्क जुकरबर्ग रहेका छन् । उनको कुल सम्पत्ति ९९ अर्ब ५० करोड डलर रहेको छ ।

त्यस्तै विश्वमा सन् २०२० मा सबैभन्दा धेरै सम्पत्ति थप गर्नेमा मस्क दोश्रो स्थानमा छन् । पहिलो स्थानमा विश्वका सर्वाधिक धनी व्यक्ति अमेजनका सीईओ जेफ बेजोस रहेका छन् । सन् २०२० सुरु भएयता बेजोसले आफ्नो सम्पत्तिमा ७३ अर्ब डलर थप गरेका छन् ।

सन् २०२० सुरु भएयता टेस्ला कम्पनीको शेयर मूल्यमा छलाङ आइरहेको छ र वर्षको सुरुको तुलनामा हाल कम्पनीको शेयर मूल्यमा ३ सय ५० प्रतिशतले बढोत्तरी भैसकेको छ । सन् २०२० मा मस्कले कम्पनीबाट प्रोत्साहन भत्ताबापत कम्पनीको १७ लाख कित्ता शेयर थप प्राप्त गरेका छन् । जसको मूल्य ७७ करोड ५० लाख डलर हुन आउँछ ।

पछिल्लो ७ वर्षमा टेस्ला कम्पनीले निकै सफल यात्रा गरिसकेको छ । सन् २०१२ मा बजार मूल्य जम्मा ४ अर्ब डलर रहेको टेस्ला कम्पनीको बजार मूल्य अहिले १ खर्ब डलर पार भैसकेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment