Comments Add Comment

भुल्के मोडल सिकाउने मन्त्री विराटनगरमा निरीह !

कोरोना कहर : प्रदेश १ मा पूर्वतयारी शून्य

५ भदौ, विराटनगर । साउन ६ मा सरकारले लकडाउन अन्त्य गर्दा प्रदेश १ मा संक्रमण दर न्यून थियो । ८३५ कोरोना संक्रमितमध्ये निको भएर ७१३ घर फर्किसकेका थिए ।

संक्रमितको संख्या कम भयो भन्दै कोसी अस्पतालको कोभिड-१९ उपचार केन्द्रको माथिल्लो तला सरसफाइ गरी बन्द गरेर प्रदेश सरकार चुपचाप बस्यो । मुख्यमन्त्री शेरधन राई काठमाडौंतिर लागे ।

स्वास्थ्यकर्मीले लकडाउन खुलेसँगै संक्रमण बढ्छ भनिरहेका थिए, तर, न प्रदेश सरकारले पत्यायो, न सर्वसाधारणले । परिणाम, लकडाउन अन्त्य भएको दुईसाता बित्न नपाउँदै विराटनगरमा संक्रमित राख्ने आइसोलेसनको अभाव भयो । भेन्टिलेटर नपाएर संक्रमितले ज्यान गुमाए ।

‘हामीले पूर्वतयारी गर्न झक्झक्याइरह्यौं’, कोरोना संक्रमण नियन्त्रणमा खटिएका एक चिकित्सक भन्छन्, ‘तर सरकारले हेलचेक्र्याइँ गर्‍यो । जनताले पनि लकडाउन खुल्दा के–के नै हुन्छ भनेझैं बजारमा भिडभाड बढाए ।’

उनका अनुसार लकडाउन भनेको संक्रमण नियन्त्रणका लागि आवश्यक पर्ने पूर्वतयारी गर्न किनिएको समय हो । तर केन्द्र सरकारले जस्तै प्रदेश सरकारले लकडाउनको सदुपयोग गर्न चुकेको उनी बताउँछन् । भन्छन्, ‘पूर्वतयारीमा ध्यान नदिँदा विराटनगरमा कोरोना संक्रमण भुसको आगोसरी फैलँदैछ ।’

शुक्रबारसम्म विराटनगरभित्र ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । यो संख्या दैनिक बढ्दो छ । तर कोरोना रोकथाम र नियन्त्रणमा उदयपुरको ‘भुल्के मोडल’ सिकाइरहेका प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरे आफ्नै गृहनगर र प्रदेश राजधानी विराटनगरमा भने निरीह देखिएका छन् ।

भुल्के मोडल

५ वैशाखमा उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको नुरी मस्जिदमा बस्ने १२ भारतीय जमातीमा संक्रमण देखियो । थप परीक्षण गर्दा मस्जिद आसपासमा बस्नेहरुमा पनि संक्रमण देखियो, तर वस्ती बाहिर जान दिइएन ।

यसमा प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेको पनि प्रशंसा हुन्छ । उनले भुल्केको संक्रमण नियन्त्रणमा थ्री टी (टेस्टिङ, ट्र्याकिङ एण्ड ट्रिटमेन्ट) को नीति लिएका थिए ।

त्यसअनुसार, भुल्के (वडा नम्बर ३) लाई निषेधित क्षेत्र घोषणा गरी बाहिरको आउजाउ बन्द गरेर कोरोना जाँचलाई प्राथमिकता दिइयो । २६० भन्दा बढी मानिस बसोबास रहेको नुरी मस्जिद आसपासका वासिन्दाको दुई पटक कोरोना जाँच भयो । र, संक्रमितलाई विराटनगर लगेर उपचार गरियो ।

त्यसरी उच्च सतर्कता अपनाएर बस्ती बाहिर संक्रमण फैलिन दिइएन । भुल्केमा कोरोना नियन्त्रण भएपछि मन्त्री घिमिरेले ‘भुल्के मोडल’ को वकालत खुब गरे । हरेक मञ्चमा उनी ‘थ्री टी’ मोडलको व्याख्या गर्थे ।

विराटनगरमा फेल ‘थ्री टी’ !

भुल्केमा सफल मानिएको टेस्टिङ, ट्र्याकिङ र ट्रिटमेन्ट मोडल विराटनगरमा भने असफल भएको छ । त्यहाँ समुदमय स्तरमा संक्रमण पुगिसकेको छ ।

किन यस्तो भयो त ? एक चिकित्सक भन्छन्, हामी प्रिभेन्टिभ पार्टमा चुक्यौं ।’ उनकाअनुसार विराटनगरमा कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी रुपमा हुन सकेन ।

कोही संक्रमित भेटियो भने उसको परिवारको सदस्यहरुलाई परीक्षण गर्ने र संक्रमण छैन भनेर बस्ने काम भयो । जबकी स्वाब संकलन गरेको दुई दिन अगाडिदेखि उसले ककसलाई भेटेको छ ? भेटेको छ उनीहरुबीच भौतिक दुरी कायम थियो कि थिएन ? मास्क लगाइएको थियो कि थिएन ? सबै पत्ता लगाएर परीक्षण गर्नुपर्ने हो । जब परिवारका सदस्यहरुको मात्र परीक्षण गरिन्छ, सम्भावित संक्रमित सहजै छुट्न सक्छन् ।

साउन ६ मा लकडाउन अन्त्य भएको घोषणा गरेपछि भन भद्रगोल सुरु भयो । सीमा नाका बन्द भनिएपनि अवैध रुपमा मानिसहरुको आउजाउ रोकिएन । छिमेकी देश भारतको संक्रमणग्रस्त क्षेत्रहरुबाट पनि मानिसहरु आए । विराटनगरका उद्योगहरुले पनि भारतबाट मजदुर ल्याए । ‘हाम्रा यस्तै गल्तीहरुका कारण भाइरसको चेन ब्रेक गर्न सकिएन र संक्रमण समुदाय स्तरमा पुग्यो’ एक चिकित्सक भन्छन् ।

अधिकारवादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल कोरोना नियन्त्रणमा प्रदेश सरकारले काम गर्न नसकेको देख्छन् । सरकारका मन्त्रीहरूले काम कम भाषण बढी गर्दा विकराल अवस्था आएको उनको भनाइ छ ।

संक्रमितको व्यवस्थापन र उपचारमा प्रदेश सरकार नराम्ररी चुकेको उनी बताउँछन् । यही कारण कोराना संक्रमण नियन्त्रण बाहिर जाने खतरा देखिएको बताउँदै ढुंगेल भन्छन्, ‘जिम्मेवारीअनुसार काम नगर्दा प्रदेश सरकारको भूमिका देखिएन । बरु स्थानीय तहहरुले जसोतसो धानिरहेका छन् ।’

मन्त्री घिमिरे भन्छन् : नाकामा कमजोरी भयो

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे विराटनगर– १० का बासिन्दा हुन् । उनी विराटनगरमा ‘थ्री टी’ मोडल फेल भएको मान्न तयार छैनन् ।

तर सीमा नाकामा कमजोरी भएको स्वीकार गर्छन् । ‘भुल्केको परिवेश बेग्लै थियो, विराटनगरको बेग्लै छ’ उनले अनलाइनखबरसँग भने, ‘भारतसँग खुला सीमा भएका कारण विराटनगरमा संक्रमण फैलिएको हो ।’

केहीदिन अघिसम्म घिमिरे विराटनगरमा समुदायमा संक्रमण पुगेको मान्न तयार थिएनन् ।

संक्रमण स्रोत नदेखिएका मानिसहरूमा कोरोना पोजेटिभ देखिन थालेपछि उनी यसलाई स्वीकार गर्न थालेका छन् । ‘लकडाउनका बेला घर गएका भारतीय मजदुरहरू लकडाउन खुलेपछि फर्किए’, उनी भन्छन्, ‘नाका सिल भए पनि चोरबाटोबाट फर्किएकाको रेकर्ड राख्न सकिएन ।’

विराटनगरमा आकलन गरिएभन्दा तीब्र गतिमा संक्रमण फैलिएपछि प्रदेश सरकार रनभुल्लमा परेको छ ।

कोरोना पोजेटिभ भएपछि उपचारको विराटनगरमा लेभल १ को अस्पताल छैन । चैत तेस्रो साता उद्घाटन भएको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा पाँच महिनामा आईसीयू र भेन्टिलेटर जडान नै नभई बन्द भयो । तर यस विषयमा पनि मन्त्रीको जवाफ भने तयार नै छ ।

‘हिजो लक्षण देखिएका बिरामी नहुँदा विराटनगरमा आईसीयू र भेन्टिलेटर प्राथमिकतामा परेन’, समाजिक विकासमन्त्री घिमिरे भन्छन् ‘धरानले चाप धान्छ भन्ने हाम्रो विश्लेषण थियो तर नधान्ने भएपछि विराटनगरमा १० आईसीयू र ५ बेड भेन्टिलेटर जडान गर्न लागेका छौं ।’

विराटनगरमा लक्षित वर्गभन्दा बाहिरमा बढी परीक्षण भएको उनको भनाइ छ । ‘हाम्रो प्राथमिकता भनेको संक्रमितको कन्ट्याक्टमा आएका र जोखिम उच्च भएकाहरू हुन्’, उनले भने, ‘अहिले समीक्षा गर्दा लक्षित वर्गभन्दा बाहिर बढी परीक्षणमा भएको निष्कर्ष निकाल्यौं ।’

कोरोना नियन्त्रणमा सचेत हुन सबैलाई आग्रह गर्दै मन्त्री घिमिरेले भने, ‘आफैँ सचेत नभएसम्म कोरोना नियन्त्रणमा आउँदैन तर विराटनगरमा मानिसहरू हिँडेको देख्दा जनचेतना कम भए जस्तो लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment