Comments Add Comment

आशारामलाई कोभिड अस्पताल बनाउन खोज्दा स्थानीयको विरोध

६ भदौ, वीरगञ्ज । पानीट्यांकीस्थित आशाराम अस्पताललाई अस्थायी कोभिड अस्पताल बनाउन खोज्दा स्थानीयले विरोध गरेका छन् । बस्तीको बीचमा कोभिड अस्पताल स्थापना गर्दा संक्रमण फैलनसक्ने स्थानीयको आशंका छ ।

प्रहरी उपरीक्षक गंगा पन्त लगायतको टोली अस्पतालको स्थलगत अनुगमनका लागि गएको थियो । तर स्थानीयले निषेधाज्ञाको उल्लंघन गर्दै विरोधमा उत्रिएका कारण केहिबेर तनाव उत्पन्न भएको थियो ।

सार्वजनिक शान्ति भंग गरेको अरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । अरुलाई सम्झाएर पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजीत कुँवरले जानकारी दिए ।

वीरगञ्जमा समुदायस्तरमा संक्रमण फैलिएको छ । दुई निजी अस्पताललाई कोरोना विशेष अस्पताल बनाएपनि संक्रमितहरुले समयमा उपचार पाउन अझै सकेको छैनन् ।

सरकारले पछिल्लो पटक निजी अस्पतालहरुलाई २० प्रतिशत बेड कोभिडका लागि छुट्याउन भनेको छ । तर कोभिड र ननकोभिड विरामीलाई एकै ठाउँमा राख्दा संक्रमण थप फैलिनसक्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

निजी अस्पतालका सञ्चालकहरु पनि त्यसमा सहमत छन् र उनीहरुले आशाराम अस्पताललाई कोभिड अस्पताल बनाएर अन्य अस्पतालबाट जनरल सेवा प्रदान गर्ने तयारी गरेका छन् ।

आशाराम अस्पतालमा ८० जना संक्रमितलाई राख्न सकिने अस्पतालकी सञ्चालिका एवं एशोसियसन अफ प्राईभेट हेल्थ इन्स्टीच्यूसन अफ नेपाल (अफिन) पर्सा शाखा कोषाध्यक्ष निभा दास बताउँछिन् । ‘प्रत्येक अस्पतालले २० प्रतिशत बेड छुट्याएर संक्रमितको उपचार गर्दा संक्रमण फैलने जोखिम हुन्छ’ उनले अनलाइनखबरसँग भनिन् ‘वीरगञ्जका सबै निजी अस्पतालको सहमतिमा आशाराम अस्पतालमा कोरोना संक्रमितको उपचार गर्ने निर्णय भएको छ ।’

प्रशासनबाट अनुगमन भइसकेकाले केहिदिनमै अस्थायी कोभिड अस्पताल सञ्चालनमा आउने दासले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment