Comments Add Comment

होम आइसोलेसनमा थिए, एम्बुलेन्स बोलाउँदा बोलाउँदै बिते

५ भदौ, विराटनगर । मोरङको विराटनगर महानगरपालिका–६ सरोचियाका ४५ वर्षीय पुरुषलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको बुधबार पुष्टि भयो ।

एक त मधुमेहका रोगी, त्यसमाथि हालै मात्र ११ दिन आईसीयूमा बसेर फर्किएको एक महिना पनि भएको थिएन । त्यसैले परिवारका सदस्यहरुले उनलाई कोरोना अस्पतालमा लैजान चाहे । अस्पतालमा बेड नभएको जवाफ पाए ।

वडाध्यक्ष विजय कामतले पनि उनलाई घरमै बस्न सुझाव दिए । तर उनी होम आइसोलसनमा राख्न मिल्ने संक्रमित हुन् कि अस्पतालमा भर्ना गर्नुपर्ने हो भन्ने सोधीखोजी भएन ।

बिहीबार राति एक्कासी स्वास्थ्यमा समस्या आयो । आफन्तले एम्बुलेन्स बोलाए, तर आइनपुग्दै उनको मृत्यु भयो ।

परिवारका सदस्यहरुका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई सोमबार कोशी अस्पताल लगिएको थियो । समुदायमा संक्रमण फैलिसकेको बेला कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाब लिइयो तर घर पठाएको थियो ।

बुधबार रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि अस्पताल लैजान कसैले चासो नदिएको उनका छोरीले बताइन् । ‘हिजो राति गाह्रो भएपछि एम्बुलेन्स बोलायौं तर, एम्बुलेन्स नआउँदै बित्नुभयो, एम्बुलेन्स रित्तै फर्कियो’ उनले भनिन् ।

३२५ जना होम आइसोलेसनमा

शुक्रबार साँझसम्म विराटनगर महानगरपालिकामा मात्र कोरोनाबाट संक्रमित हुनेको संख्या ७६२ पुगिसकेको छ । उनीहरुमध्ये ३२५ जना होम आइसोलेसनमा छन् ।

तर उनीहरुले नियमित अनुगमन गर्ने संयन्त्र छैन । होम आइसोसलनमा बस्ने कुनै बिरामीको अवस्था बिग्रिए कहाँ सम्पर्क गर्ने ? कुन निकायले तत्काल अस्पताल पुर्‍याउने थाहा छैन । एक चिकित्सक भन्छन्, ‘सुरुमा हामी प्रिभेन्टिभ पार्ट (समुदायमा संक्रमण पुग्न नदिन गर्नुपर्ने कामहरु) मा चुक्यौं । अब क्युरेटिभ केयरमा चुक्दैछौं । सरोचियाका ४५ वर्षीय पुरुषको मृत्यु त्यसको प्रमाण हो ।’

महानगरका स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार होम आइसोलेसनमा बस्नेहरुको निगरानी गर्ने दिलिप यादवको नेतृत्वमा टोली बनाइएको छ । तर यो समितिले संक्रमितको परिवारलाई एक पटक पनि सम्पर्क नगरेको पाइएको छ ।

सम्पर्क गरिहालेको अवस्थामा पनि अस्पतालसम्म पुर्‍याउने गतिलो संयन्त्र बनेको छैन ।

अहिलेसम्म प्रदेश १ भरमा कोभिडका बिरामीका लागि लेभल –१ को हब अस्पताल छैन ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ आईसीयू र १० भेल्टिलेटरसहितको वेड छ । एक त त्यहाँ चाहिएको बेला आईसीयू बेड पाउन गाह्रो छ भने कतिपयको बिराटनगरबाट धरान लैजाने क्रममा बाटैमै मृत्यु हुने गरेको छ ।

बिहीबार बल्ल आएर प्रदेश सरकारले कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा १० वटा आईसीयू बेड र पाँच वटा भेण्टिलेटर जडान गरेको बताएको छ ।

तर त्यसका लागि चाहिने दक्ष जनशक्तिको अभाव छ । विराटनगरका एक चिकित्सक भन्छन्, ‘आईसीयूका लागि मात्र कम्तीमा १८ देखि २४ जनाको टिम हुनुपर्छ । त्यो अहिलेसम्म तयार भएको छैन । अहिले भएकै जनशक्तिले धान्न सक्दैन ।’

क्युरेटिभ केयरमा ध्यान नदिने हो भने संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्यकर्मीहरुले समेत यस्तै हो भनेर छाड्ने अवस्था आउने सक्ने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment