Comments Add Comment

छिमेकीलाई कोरोना लागेपछि….

‘बिरामीलाई कोभिड अस्पताल पुर्‍याउँदा युद्ध जितेजस्तो भयो’

विराटनगर–१२, सगरमाथा टोल बस्ने देवी गुरुङलाई ६/७ दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरोका साथै पखाला लाग्ने, खोकी लाग्ने भएपछि जँचाउन गइयो । रिपोर्ट आउँदा कोभिड पोजेटिभ देखियो ।

रिपोर्ट गत साउन २४ गते बिहान ११ बजे आएको हो । त्यसपछि उहाँलाई घरमा राख्ने स्थिति भएन । उहाँको परिवारमा ४ जना थिए– छोरा, छोरी र छोरीका छोरा ७ वर्षका ।

उहाँहरु डेरामा बस्ने । ट्वाइलेट एउटै प्रयोग गर्ने । देवी गुरुङलाई सुगर र प्रेसर पनि थियो । खोकी लाग्ने र डायरिया पनि भयो त्यहीबेला । कोभिड पोजेटिभ देखिएपछि उहाँको परिवार आतंकित भयो ।

म छिमेकमा बस्ने, मैले सुरुमा वडाअध्यक्षलाई फोन गरेँ । घटना सुनाएँ । व्यस्त भएर होला, धेरैपटक फोन गरेँ, समय दिन सक्नुभएन । व्यस्तताकै काराणले होला भनौं न । अरु धेरै कुरा खोतल्न मैले चाहिनँ ।

म एकदम टेन्सनमा परेँ के गर्ने भनेर । म प्रदेश सभा सदस्य । मैले विभागीय मन्त्री सामाजिक विकास मन्त्रीलाई फोन गरेँ । उहाँले त्यो महानगरभित्रको हो, स्थानीय सरकारले गर्छ भन्नुभयो । बिरामीको अवस्था सुनाएपछि उहाँले ‘आइसोलेसन प्याक छ, घरैमा राख्ने’ भन्नुभयो ।

‘घर होइन डेरा हो, ट्वाइलेट एउटै छ, सात वर्षको बच्चा छ । प्रेसर र सुगर छ । देवी गुरुङको अवस्था गम्भीर छ, घरमा राख्ने स्थिति छैन’ मैले भनेँ । मन्त्रीले सिरियसली लिएको मैले अनुभूत गरिनँ ।

त्यसपछि अलि बढी दिल दुख्यो । उहाँले अरु धेरै कुरा भन्नुभयो । म सत्तापक्षकी सांसद, मैले उठाउने ठाउँ छँदैछ, हाउसमा बोली नै हाल्छु पछि । अहिले चाहिँ उहाँ (सामाजिक विकास मन्त्री) ले भनेका अरु कुरा नभनौं ।

त्यसपछि मन्त्रीसँग कुरा गर्न आवश्यक ठानिनँ । झन तनाव भयो । जहाँबाट जे आशा गरेकी थिएँ, त्यो नभएपछि कहाँ भनौं जस्तो भयो ।

फेरि वडाअध्यक्षलाई नै फोन गरेँ । पटक–पटक गरेँ । व्यस्तताले होला, बल्ल–बल्ल फोन उठाउनुभयो ‘एउटा नम्बर दिन्छु, कसैले फोन गर्छ’ भन्नुभयो ।

एकछिनपछि फोन आयो– महानगर प्रहरी प्रमुख डीएसपीको । डीएसपीले ‘बैजनाथपुरमा होल्डिङ छ । त्यहाँ लाने कि ?’ भन्नुभयो । ‘होल्डिङमा राख्ने स्थिति छैन, सामान्य बिरामी होइन’ भनेँ ।

सामान्य लक्षण देखिएको बस्ने ठाउँ हो होल्डिङ, अरुले बस्ने होइन । बिरामीको प्रकृति यस्तो–यस्तो छ, भनेर होल्डिङमा लाने स्थिति नरहेको जानकारी गराएँ । आइसोलेसनमा लाने बिरामी हो भनेँ ।

प्रहरीले त के गर्नु, सुरक्षा दिने न हो । उहाँ सकारात्मक हुनुभयो र ध्यान दिन्छु भन्नुभयो । मलाई त्यो निष्कर्ष चित्त बुझेन ।

त्यसपछि महानगरपालिकाका प्रमुख मेयर भीम पराजुलीलाई फोन गरेँ । धेरैपटक गरेँ, उठेन ।

मेयरको फोन नउठेपछि महानगरको स्वास्थ्य विभागको प्रमुखसँग कुरा गरेँ । त्यहाँबाट पनि समाधान भएन ।

स्थानीय सरकारले आइसोलेसन तयार गरेको थिएन । आइसोलेसन नभएकाले प्रदेश सरकारसँगै समन्वय गर्ने हो भन्ने कुरा भयो ।

कोशी अस्पतालको प्रशासनमा नवराज लुईंटेल हुनुहुन्छ । उहाँलाई फोन गरेर ‘लौन बिरामीको अवस्था गम्भीर छ, के गरौं’ भनेँ । उहाँले साथ दिनुभयो । तर, उहाँले नै फोन गर्दा पनि कोभिड अस्पतालको फोन उठेन ।

एसपीलाई फोन गरेँ । उहाँले म समन्वय गर्छु भन्नुभयो । उहाँले कहाँ–कहाँ, कता–कता के–के कुरा गर्नुभयो ।

अर्को जिम्मेवार ठाउँमा फोन गरेँ । जिम्मेवार ठाउँका मान्छेले ‘आइसोलेसनमा बेड छैन । घरैमा राख्नु, हजुरहरुले त समस्या बुझिहाल्नुहुन्छ’ भन्नुभयो ।

मैले जे अपेक्षा गरेर फोन गरिरहेँ, अपेक्षाअनुसारको कतैबाट समाधान आएन । खाली, घरैमा राख्ने भन्ने आयो । घरमा राख्ने स्थिति थिएन । बिरामी घरैमा मर्ने हो कि भन्ने स्थितिमा पुगेँ । अलि निराश भएँ ।

अब कसलाई …भन्ने भयो । अहिले त्यो दिन नसम्झौंजस्तो लाग्छ । बिरामीलाई स्लाइन दिनु पर्ला, के दिनुपर्ला, त्यो घरमा हुने भएन ।

प्रमुख जिल्ला अधिकारीसँग कुरा गर्छु भन्ने लाग्यो । पहिलेको सिडियो होला भनेर फोन गरेँ, नयाँ सिडिओ कोशहरी निरौला आउनुभएको रहेछ । उहाँलाई ‘प्रदेश सरकारबाट सकिनँ, मलाई असहयोग भयो, अब केन्द्रीय सरकार गुहारेँ है’ भनेँ । सबै घटना र बिरामीको स्थिति बताएँ । ‘आइसोलेसनमा बेड छैन्, होल्डिङमा लैजा भन्छन्’ भनेर उहाँलाई सुनाएँ । ‘फलानो, फलानोलाई फोन गरेँ, अब प्रधानमन्त्रीलाई मात्रै भन्न बाँकी छ’ भनेँ ।

सीडीओयोले सिरियसली लिनुभयो । ‘हजुर म लागि नै हाल्छु’ भन्नुभयो । त्यतिबेला बेलुकीको ७ बजेको थियो होला ।

एकछिन पछाडि फोन आयो– बिरामीलाई आधा घण्टापछि प्रदेशको कोभिड अस्पतालमा पठाइदिनु भनेर ।

फोन गर्ने ज्ञानबहादुर बस्नेत हुनुहुन्थ्यो, कोभिड अस्पतालका सम्बन्धित व्यक्ति । उहाँले ‘देवी गुरुङका लागि एउटा सिट जसरी पनि निकाल्ने अवस्था बन्यो, एउटा सिट निकालेको छु’ भन्नुभयो ।

केमा पठाउनु, त्यहाँबाट लिन आउँछ ? भन्दा आउँदैन । त्यताबाटै पठाइदिनु भन्नुभयो । मैले रिस्क मोलेर मोटरसाइकलमा पठाइदिन्छु उसो भए भनेँ । उहाँले हुँदैन भन्नुभयो ।

पदम श्रेष्ठ हुनुहुन्छ, जिल्ला बसपार्क व्यवस्थापन संघका अध्यक्ष । अगाडि कुरा हुँदा उहाँले सिट भेटियो भने गाडी खोज्छु भन्नुभएको थियो । सिट भेटिएपछि उहाँले एम्बुलेन्सको व्यवस्था गरिदिनुभयो र बिरामीलाई लागियो ।

कोभिड अस्पताल पुग्दा बेलुकी साढे ९ बजेको थियो । गेटमा ताला लागिसकेको रहेछ । सीडीओलाई फोन गरेँ, ज्ञानबहादुर सरलाई फोन गरेँ । गेट खोलियो र बिरामीलाई कोभिड अस्पतालमा भर्ना भयो ।

त्यो दिन त्यसरी नै बित्यो, साउन २४ गते । मैले उहाँलाई अस्पतालमा भर्ना गराउनका लागि जे पनि गर्नुपर्ने स्थिति थियो । राति १० बजेसम्म लगाएर भए पनि गराएँ ।

अहिले त्यो दिन सम्झँदा दुख्छ । चहर्‍याउँछ ।

युद्ध नै जितेजस्तो महसुस भयो । अस्पताल भर्ना भएपछि राम्रो हेरचाह भयो । म नियमित सम्पर्कमा रहेँ । खोकी र डायरिया भइरह्यो । एकपटक एकदम कमजोर पनि हुनुभयो । डर लागेको थियो । उहाँलाई औषधि र स्लाइन दिन लगाइयो । भिटामिनसहितको पानी दिन लगाइयो । सुधार हुँदै गयो ।

पुनः स्वाब परीक्षण भयो । भदौ ३ गते पीसीआर रिर्पोट नेगेटिभ आयो । ४ गते नै बिरामीलाई घर ल्याइयो । अहिले घरमै हुनुहुन्छ ।

अहिले धेरै खुसी लागेको छ ।

(अनलाइनखबरसँग कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment