Comments Add Comment

क्रिकेटरको तलब १० हजार बढेर आउने, यस्तो छ सम्भावित ग्रेड

७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका क्रिकेट खेलाडीले सन् २०१९ मा पाउने तलबमा १० हजार रुपैयाँ बढेर आउने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहँदा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नै  राष्ट्रिय टिमका खेलाडीहरुले तलब दिने गरेको थियो । तर उनीरूले २०१९ देखि तलब पाएका छैनन् ।

निम्लम्बन फुकुवा भएपछि क्यानले २०१९ मा खेलाडीले पाउने तलबमा १० हजारका दरले बढाएर पठाउन प्रस्ताव गरेको थियो ।

अब ग्रेडिङमा रहेका हरेक तलहका खेलाडीको १० हजारका दरले बढेर तलब आउने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए ।  ‘क्यान आइसकेपछि पहिलाको ग्रेडिङको तह अनुसार १०-१० हजार थप्न सिफारिस गरेको हो’ सचिव प्याकुरेलले अनलाइनखबरसँग भने, ‘त्यो बमोजिम हामीले सबै प्रकिया पूरा गरेर पठाइसकेका छौँ । हाम्रो प्रस्ताव स्वीकृत भएको छ र प्रत्येक तहमा १० हजार बढेर तलब आउँछ ।’

यसअघि ए ग्रेडमा रहेका खेलाडीले ३५ हजार, बी ग्रेडमा रहेकाले २५ हजार र सी ग्रेडमा रहेकाले १५ हजार पाउँदै आएका थिए ।

अब ए ग्रेडमा पर्नेले ४५ हजार, बी ग्रेडमा पर्नेले ३५ हजार र सी ग्रेडमा पर्नेले २५ हजार तलब पाउनेछन् ।

यसअघि खेलाडी २०१९ फेब्रुअरीमा २०१७ र २०१८ को एकमुष्ट तलब पाएका थिए । त्यतिबेला ए, बी र सी तीनवटै ग्रेडमा ७-७ खेलाडी थिए । त्यो बेला ग्रेडिङमा रहेका केही खेलाडीले २०१९ मा कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता नखेलेकाले उनीहरुले २०१९ को लागि तलब दिने ग्रेडिङमा नपर्ने सम्भावना छ ।

क्यानले भने २०१९ मा कुन ग्रेडमा को-को खेलाडी परेका छन् भनेर सार्वजनिक गरेको छैन ।

२०१७ मा आईसीसीले नै ग्रेडिङ गरेर तलब दिएको थियो । २०१९ मा भने नेपालले अन्तर्राष्ट्रिय स्तरमा जनाएको सहभागिता, बेलायतको एमसीसी टोलीसंग टीयू मैदानमा खेलेको सिरिजको आधारमा ग्रेडिङ गरिएको छ ।

‘आईसीसीले नै अन्तर्राष्ट्रिय सहभागिता र  एमसीसीसँग भएको खेलका आधारमा एउटा ग्रेडिङ गरेको थियो’ प्याकुरेलले भने, ‘२०१९ को धेरै समय क्यान छँदै थिएन । अक्टोबर-नोभेम्बरपछि मात्रै क्यान शशर्त फुकूवा भाको हो । आइसीसीसँग भएको सल्लाहअनुसार उहाँहरू नै बनाएको ग्रेडिङ लिस्ट फरवार्ड गरेका हौँ ।’

२०२० पछि भने क्यान आफैंले ग्रेडिङ गर्ने उनले बताए ।

कुन क्रिकेटर कुन ग्रेडमा  पर्लान् ?

पछिल्लो पटक खेलाडीले २०१९ फेब्रुअरीमा तलब पाउँदा तीन वटा ग्रेडमा ७-७ जना थिए । ए ग्रेडमा तात्कालीन कप्तान पारस खड्का र अहिलेका कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी सोमपाल कामी,सन्दीप लमिछाने र दीपेन्द्र सिंह ऐरी थिए ।

बी ग्रेडमा शक्ति गौचन, ललित भण्डारी, आरिफ शेखि रोहित पौडेलि करण केसी, अनिलकुमार शाह र ललित राजवंशी थिए । यस्तै सी ग्रेडमा सुबास खकुरेल, सागर पुन, दिलिप नाथ, सुनिल धमला, सुशन भारी, प्रदिप भरी र विनोद भण्डारी थिए ।

२०१९ को नयाँ ग्रेडिङमा यो लिस्टबाट केही खेलाडी बाहिरिने पक्का छ । २०१९ मा नेपालले खेल्नेको अन्तर्राष्ट्रिय खेलहरुमा सहभागिता जनाएका नयाँ खेलाडीहरु ग्रेडिङमा पर्नेछन् ।

पुरानो ग्रेडिङमा रहेका मध्ये बी ग्रेडमा रहेका शक्ति गौचनले सन्यास लिइसकेका छन् । यस्तै अनिलकुमार शाह र ललित भण्डारीले २०१९ मा अन्तर्राष्ट्रिय खेल खेलेनन् । ग्रेड सी मा रहेका सागर, दिलिप र सुनिलले पनि २०१९ मा खेलेका छैन । सुबास खकुरेलले पनि २०१९ मा खेलेका थिएनन् । उनले २०२० मा नेपालमै भएको आइसीसी विश्वकप लिग २ ट्राइ सिरिजमा ब्याकअप खेलाडीको रुपमा खेलेका थिए ।

२०१९ मा नखलेका खेलाडी ग्रेडिङमा पर्ने छैनन् ।

२०१९ मा अरु नयाँ युवा खेलाडीहरुले खेलेका थिए । अभिनाश बोहरा, पवन सर्राफ सन्दिप जोरा, इशान पाण्डे, कुशल भुर्तेल, रसिद खान जस्ता खेलाडीले २०१९ देखि खेल्दै आएका छन् ।

स्रोतका अनुसार २०१९ को अपडेट गरिएको ग्रेडिङमा करण केसी र विनोद भण्डारी ए ग्रेडमा पर्ने सम्भावना छ । त्यसो भएमा ए ग्रेडमा ९ जना खेलाडी पर्नेछन् ।

यस्तै सुशन भारी बी ग्रेडमा बढुवा हुनेछन् । बी ग्रेडमा यसअघि रहेका रोहित आरिफ र ललित राजवंशीले निरन्तरता पाउनेछन् भने पवन सर्राफ, अभिनाश बोहरा र सन्दीप जोराले इन्ट्री मार्ने सम्भावना छ ।

यस्तै सी ग्रेडमा प्रदिप ऐरी यथावत रहनेछन् भने राजु रिजालले पुनरागमन गर्नेछन् । राजु २०१६ मा पहिलो पटक क्यानले ग्रेडिङ गर्दा ग्रेडमा परेका खेलाडी हुन् । यस बाहेक सी ग्रेडमा कुशल भुर्तेल, रसिद खान इशान पाण्डे र कुशल मल्ल पर्ने सम्भावना छ ।

नयाँ ग्रेडिङ अनुसार २२ जना खेलाडीले आइसीसीबाट २०१९ को तलब पाउनेछन् । यस्तै टेक्निकल एनालिस्ट रमन शिवाकोटीले पनि तलब पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment