Comments Add Comment

मध्यपुरमा १० दिनमा थपिए ७१ संक्रमित

९ भदौ, काठमाडौं । मध्यपुर थिमि नगरपालिकामा कोरोना संक्रमितको संख्या ११४ पुगेको छ । गत ३१ साउनसम्म जम्मा ४३ जना संक्रमित रहेको नगरपालिकामा पछिल्लो दश दिनमा मात्र ७१ जना संक्रमित थपिएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत भागिरथ अधिकारीले जानकारी दिए ।

संक्रमितमध्ये १३ जना निको भइसकेको नगरपालिकाकाले जनाएको छ । अधिकांश संक्रमितले आफ्नै पहलमा पीसीआर परीक्षण गरेका थिए । संक्रमितको ट्रेसिङमार्फत २०० जनाको पीसीआर परीक्षण गरेको भागिरथले जानकारी दिए । ट्रेसिङमार्फत भएको परीक्षणमा भने जम्मा छ जनामा संक्रमण देखिएको पनि उनले बताए ।

संक्रमित हुनेमा स्वास्थ्यकर्मीसँगै बैङ्कर पनि
कोरोना संक्रमण देखिएपछि नेपाल कोरिया मैत्री र इवामोरा अस्पताल सिल गरिएको थियो । उक्त अस्पताल अहिलेसम्म पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । अहिलेसम्म थिमिका छ जना स्वास्थ्यकर्मीमा संक्रमण देखा परेको अधिकृत भागिरथले बताए । जसमध्ये २ जना डाक्टर, तीन जना नर्स र एक जना हेल्थ असिस्टेन्ट रहेका छन् ।

त्यस्तै, तीन जना बैङ्क र एक जना फाइनान्सका कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मध्यपुर ४ मा पहिलो पटक ३ असारमा कोरोना संक्रमित भेटिएका थिए । त्यसपछि लगातार संक्रमितको संख्या बढ्न थालेपछि गत ३२ साउनदेखि नै मध्यपुर थिमि नगरपालिका नै सिल गरिएको थियो । जुन अहिले पनि कायम छ । स्थानीयलाई दिनको ११ देखि एक बजेसम्म मात्र किनमेल गर्ने अनुमति दिइएको छ । जुन अहिले पनि कायम छ ।

त्यस्तै, संक्रमितको घरसमेत सिल गरिएको छ । मध्यपुरका ८५ प्रतिशतभन्दा बढी संक्रमित होम आइसोलेसनमा छन् । संक्रमित हुनासाथ वडा कार्यालयले संक्रमितको घर सिल गर्न पुग्ने गरेको नगरपालिकाले जनाएको छ । अहिले संक्रमितको पाँच घरमा डोरी टाँगेर सिल गरिएको पनि अधिकृत भागिरथले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment