+
+
Shares

स्वास्थ्य मन्त्रालयले प्रदेश २ मा पठायो २२ जना विशेषज्ञ चिकित्सक

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १० गते १८:१२

१० भदौ, काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेको प्रदेश २ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जना विशेषज्ञ चिकित्सकलाई पठाउने तयारी गरेको छ ।

मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टकाअनुसार मंगलबार नारायणी अस्पताल वीरगन्जमा काम गर्ने गरी ९ जना चिकित्सक पुगिसकेका छन् ।

त्यसैगरी १३ जना चिकित्सक भने धनुषाको जनकपुर प्रादेशिक अस्पताल र रौतहटको गौर अस्पतालमा बिहीबार जाने तयारीमा छन् । उनीहरुमध्ये ६ जना चिकित्सक गौर अस्पताल र ६ जना जनकपुर प्रादेशिक अस्पताल जानेछन् । १ जनाको भने यी दुईमध्ये कुन अस्पतालमा जाने भन्ने टुंगो लागिसकेको छैन ।

सरकारी छात्रवृत्तिमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत विशेषज्ञ पढेका चिकित्सकहरुलाई प्रदेश २ मा पठाइएको हो । उनीहरुले त्यहाँ गएर कोरोना संक्रमितको उपचार र महामारी नियन्त्रणमा खटिनेछन् । विष्टले भने, ‘कोरोना संक्रमण बढंदै गएको अन्य जिल्लामा पनि चिकित्सक पठाउने तयारी भइरहेको छ।’

मन्त्रालयले यसअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा विशेषज्ञता अध्ययनरत चिकित्सकलाई सुदूरपश्चिम र प्रदेश नं. ५ पठाएको थियो ।

अहिले भने एमडी/एमएस उतीर्ण भएका विशेषज्ञ चिकित्सकलाई खटाइएको हो । त्यसैगरी अन्य २०  भन्दा बढी चिकित्सकलाई कोभिड अस्पतालमा पठाउन तयारी अवस्थामा राखिएको विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?