Comments Add Comment

प्रहरीको धरपकडपछि उपत्यकामा होम डेलिभरी सेवा बन्द

११ भदौ, काठमाडौं । खाद्यान्न तथा पकाइएको खाद्य वस्तु ग्राहकको मागअनुसार डेलिभरी सेवा प्रदान गर्ने आधा दर्जन सेवा प्रदायकका सञ्चालकसहित ८० जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

फूडमाण्डू, यूजी केक, निप एक्सप्रेस, किराना अनलाइन, भोज डिलसहित लगायतका सात सेवा प्रदायकमध्ये ६ वटा कम्पनीका सञ्चालक र डेलिभरी ब्वाईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उपत्यकाको दरबारमार्ग, महाराजगञ्ज, मालीगाउँ, तीनकुने, बानेश्वर लगायतका ठाउँबाट सञ्चालकलाई र डेलिभरी ब्वाईलाई भेटेकै ठाउँबाट प्रहरीले पक्राउ गरेको हो ।

को को पक्राउ परे ?

ललितपुरको पुल्चोकबाट फूडमाण्डूका मनोहर अधिकारी, निप एक्सप्रेसका सञ्चालक संगम सिंह, यूजी केकी सञ्चालिका निकिता आचार्य तथा अर्का एक व्यवसायी आलोक योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

कार्यालयमा काम गरिरहेको समयमा दुई जान प्रहरी आएर पूर्वजानकारीविनै पक्राउ गरेर तीनकुने प्रहरी वृत पुर्‍याइएको यूजी केकी सञ्चालिका निकीता आचार्यले अनलाइनखबरलाई बताइन् ।

‘के कारणले पक्राउ गरिएको हो मलाई भनिएको छैन, पूर्वजानकारी बिनै कार्यालयबाट उठाएर ल्याइयो,’ निकीताले भनिन् ।

उपभोक्ताको माग बमोजिम  दाल, चामल र गेडागुडी डेलिभरी गर्न हिँडेको भ्यानलाई महाराजगन्ज प्रहरीले नियन्त्रणमा लिएको किराना अनलाइनका सञ्चालक सागरदेव भट्टले बताए ।

‘खाद्यन्न हामेडेलिभरी गर्न पनि नपाइने भन्ने कसरी भयो म अचम्ममा परेको छु,’ भट्टले भने । जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशअनुसार नै सेवा दिएको भए पनि त्यसलाई प्रहरीले रोकेको उनले  सुनाए ।

डेलिभरी ब्वाई होल्डिङमा

ग्राहकको अर्डरअनुसार कम्पनीबाट खाद्य वस्तु बोकेर हिडेको डेलीभरी ब्वाईलाई प्रहरीले पक्राउ गरेर हाल्डिङ सेन्टरमा राखेको होमडेली सेवा प्रदायकले जनाएका छन् ।

‘डेलिभरी ब्वाईलाइ समातेर हाम्रो नम्बर माग्दै कार्यालय र घरसम्म प्रहरी खोज्दै आएर पक्राउ गरेको रहेछ,’ एक सञ्चालकले भने ।

आधा दर्जन कम्पनीबाट खाद्य वस्तु बोकेर हिँडेका तथा फर्केका डेलीभरी ब्वाईलाई प्रहरीले होल्डिङ सेन्टरमा राखेको व्यवसायीहरुले बताए । जिल्ला प्रशासन काठमाडौंको आदेशअनुसार नै सेवा दिइएको र सुरक्षा मापदण्ड अपनाएरै काम गरिएको दावी उनीहरुको छ ।

‘निषेधाज्ञा आदेशको अपब्याख्या गरियो’

निषेधाज्ञाको समयमा होम डेलीभरी र टेक-अवे सेवा निषेध रहेकाले यसलाई रोक्न कारबाही चलाइएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । मानवीय गतिविधि रोक्न निकै प्रयास गरे पनि यस्ता सेवाका कारण शहरमा भिड बाक्लिएको र संक्रमणको जोखिम झनै बढेको परिसरका प्रमुख एसएसपी श्याम ज्ञावालीले बताए ।

‘भीड किन बढ्यो भनेर बुझ्दा लुकीछिपी यस्तो व्यवसाय गरेको पाइयो, त्यसलाई रोक्न आज अप्रेसन चलाइएको हो,’ वरिष्ठ प्रहरी उपरिक्षक ज्ञावालीले भने, ‘एक ठाउँमा हुने व्यवसायले त बरु सीमित क्षेत्रमा संक्रमण फैलिन्छ यस्तो सेवाले त झनै रोग बिस्तार हुने भो, ।

स्थानीय प्रशासन र रोग संक्रमण ऐन अन्र्तगत जिल्ला प्रशासनबाट प्रहरीले यस्ता गतिविधि रोक्न आदेश पाएको र सोहीअनुसार काम गरिएको प्रहरीको भनाइ छ ।

निषेधाज्ञा आदेशको पहिलो दिन यस्ता सेवालाई खुल्ला गरिए पनि आदेशलाई भदौ १० गते पुनः ब्याख्या गरेर यस्ता सेवा सञ्चालनमा रोक लगाइएको ज्ञावालीले दाबी गरे ।

व्यावसायका लागि भन्दा पनि जनताको जीवन बचाउने अभियानका लागि प्रहरीले काम गरेको भन्दै उनले सहयोग गर्न आग्रह गरे ।

टेक अवे र डेलिभरी एउटै डालोमा

जिल्ला प्रशासनको नयाँ सूचनापछि रेष्टुरेन्टको पकवान लगायतका वस्तु डेलिभरी छोडेर अतिआवश्याक खाद्यन्न तथा तरकारीको डेलिभरी सेवा सुरु गरेको फूडमाण्डुले दाबी गरेको छ ।

मानिसको खास आवश्यकता नै डेलिभरी गर्ने नीतिअनुसार काम गरे पनि प्रहरीले प्रशासनले दुःख दिएको फूडमाण्डुका एक अधिकारीले बताए ।

प्रहरीले दाल, चामल तरकारी, डाइपर र रेष्टुरेन्ट परिकार डेलिभरी गर्ने सबैलाई एउटै डालोमा हालेको किरानाका सञ्चालक सागरदेव भट्टको आरोप छ ।

‘अत्यावश्यक खाद्यन्न सेवा बन्द नहुने जिल्ला प्रशासनको आदेशमा स्पष्ट छ, तर ९ः१५ पछि पसल नखुल्ने आदेशअनुसार हामीलाई पूर्ण रोक लगाउनु गलत भयो,’ भट्टले भने । तरकारी र खाद्यन्न डेलिभरी र रमाईलो लागि अन्य परिकार डेेलिभरी गर्नेलाई एउटै डालमा हालियो उनले भने ।

प्रशासनको आदेशमा के छ ?

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ १० गते निषेधाज्ञाको आदेशलाई पुनः व्यख्या गरेको छ । डेलिभरी सेवा प्रदायकहरुले आदेशको ६ नम्बर बुँदालाई टेकेर अत्यावश्यक वस्तु तथा सेवा भित्रि आफ्नो व्यवसाय समेटिएको दावी गरेका छन् । औषधि खाद्यवस्तु, इन्धन तरकारी, फलफूल जस्ता सेवा सञ्चालन गर्न पूर्व अनुमति आवश्याक नपर्ने जिकीर व्यवसायीहरुको छ ।

तर, प्रहरीले आदेशको १५ नम्बर बुँदालाई टेकेर डेलिभरी सेवा निषेध नै रहेको दाबी गरेको किराना अनलाईनका सञ्चालक भट्ट बताउँछन् । समातिएको आफ्नो डेलिभरी भ्यान सम्बन्धमा राखेको जिज्ञासशामा महाराजगन्ज प्रहरीले बिहीबार दिउँसो ३ बजेदेखि सबै अनलाइन बन्द भन्ने जवाफ दिएको उनले सुनाए ।

आदेशको १५ नम्बर बुँदाअनुसार अत्यावश्यक सेवामध्ये खाद्य वस्तु, दूध, तथा दूग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु जस्ता सेवा बिहान ९:१५ बजेसम्म मात्रै सञ्चालन गर्न दिइने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment