Comments Add Comment

काठमाडौंका आकाशे पुल : महानगरलाई आम्दानी, यात्रुलाई हैरानी

१६ भदौ, काठमाडौं । पुरातत्व विभागबाट माइतीघरतिर जाने बाटोमा केही समयअघिसम्म रहेको जेब्राक्रसिङ अहिले मेटाइएको छ ।

छेउछाउमा ट्राफिक संकेत दिने लाइट त छ, तर बत्ती बल्दैन । फुटपाथ र सडकलाई जोड्न भिरालो स्वरूपमा बनाइएको अपांगता भएका व्यक्ति र दृष्टिविहीनहरुले समेत बाटो पार गर्न सक्ने संरचना अहिले मासिएको छ ।

जेब्रा क्रसिङ मासेर अहिले यहाँ काठमाडौं महानगरपालिकाका तर्फबाट आकाशे पुलको संरचना ठड्याइएको छ । यहाँ अब न त जेब्राक्रसको अस्तित्व रह्यो, न अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न सक्ने आकाशे पुल नै बन्यो ।

२०७२ सालसम्म रत्नपार्कमा रहेको विद्युत् प्राधिकरणको अघिपट्टि एउटा जेब्राक्रस थियो । महानगरले यहाँ फलामको आकाशे हाल्यो । पुल बनेपछि अहिले खुल्लामञ्च र विद्युत् प्राधिकरणपट्टिको फुटपाथ बन्द भएको छ । अपांगता भएका र दृष्टिविहीनहरुलाई कष्ट सिर्जना भएको छ । जो आकाशे पुलको सकसपूर्ण उकालो चढ्न सक्दैनन्, उनीलाई यो पुलको कुनै काम देखिँदैन । तर, जेब्रा क्रसिङ पनि मेटिइसकेको छ ।

वीर अस्पताल, नेपाल वायुसेवा निगम, भद्रकालीलगायतका ठाउँमा बनेका यस्ता आकाशे पुलहरु एउटा उदाहरण हुन्, जुन पैदलयात्रीमैत्री छैनन् । ती पुलहरु फोहोर थुपार्ने अड्डासमेत बनेका छन् ।

महानगरका पूर्वाधार विभाग प्रमुख राम थापाका अनुसार आकासे पुलको भर्‍याङ २ मिटरको चौडा बनाउनैपर्छ । ‘मापदण्ड अनुसार मूल सडकको वरिपरि ३ मिटर चौडाइको फुटपाथ हुनुपर्ने हो,’ उनी भन्छन्, काठमाडौंमा रहेको करिब साढे ४ सय किलोमिटर फुटपाथमध्ये अधिकांश ठाउँमा ३ मिटरको चौडाइ छैन । त्यसैले आकाशे पुल बनाउँदा फुटपाथ छोपिने गरेको छ ।’

थापा भन्छन्, ‘माइतीघरको पुलले पैदलयात्रीलाई समस्या हुने देखेर नै स्वास्थ्य मन्त्रालय र पुरातत्व विभागसँग समन्वय गरेर पर्खाल केहीभित्र सार्ने विषयमा कुराकानी भइरहेको छ । यहाँको असुविधाप्रति हामी गम्भीर छौं ।’

महानगर ठेकदारको आम्दानीको मेलो

अहिले काठमाडौं महानगरपालिकाभित्र एक दर्जन जति आकाशे पुलका संरचनाहरु छन् । ६ वटा पुलबाट महानगरपालिकाले २२ लाख ५० हजार रुपैयाँ वार्षिक उठाउने गरेको छ ।

जमल, रत्नपार्क, नयाँ बसपार्कजस्ता ठाउँमा आकाशे पुल निर्माण गरेको इनोभेटिभ कन्सेप्ट प्रालिले महानगरसँग गरेको सम्झौताअनुसार आकाशे पुलमा विज्ञापन राखेर कमाएको पैसामध्ये सो रकम महानगरलाई बुझाउने गरेको छ ।

ती आकाशे पुल विज्ञापनमात्रै नभएर व्यापार गर्ने अड्डाको रुपमा समेत प्रयोग गरिएको छ । काठमाडौंको सहरमा आकाशे पुलको निर्माणमा आवश्यकताभन्दा पनि स्वार्थको खेती रहेको जानकारहरु बताउँछन् ।

पूर्वसचिव एवं पूर्वाधार विज्ञ किशोर थापा काठमाडौंको सहरी अवस्थिति र यहाँका मानिसको चापअनुसार आकाशे पुल आवश्यक नरहेको बताउँछन् । काठमाडौंमा जेब्राक्रसबाटै व्यवस्थापन गर्न सकिने उनको बुझाइ छ ।

आकाशे पुलले सहरलाई कुरुप बनाउने भन्दै ठूलाठूला बसपार्क जस्ता ठाउँबाहेक अन्यत्र आकाशे पुलको आवश्यकता नरहेको उनी बताउँछन् । चारैतिरको हरियाली र हिमालको दृष्य देख्न सकिने काठमाडौंमा आकाशे पुलले सुन्दरता बिगार्ने काम गरेको उनी बताउँछन् ।

काठमाडौं महानगरपालिकाकै अधिकारीहरु समेत काठमाडौंमा आकाशे पुलको प्रभावकारिता न्यून रहेको अध्ययनले देखाएको बताउँछन् ।

सहरीकरणको परिभाषा दिने क्रममा जन घनत्व, राजनीतिक पहुँच र पूर्वाधार वृद्धिलाई आधार मान्ने गरिन्छ । नगरको परिभाषा र औपचारिक व्याख्या पनि त्यहीअनुसार नै हुँदै आएको छ । तर, पूर्वाधार विज्ञहरु भने यी सबै व्याख्यालाई पूर्ण मान्दैनन् ।

सहरी पूर्वाधार र सहरी विकासको बारेमा शोधरत प्रशान्त खनालका अनुसार वास्तवमा सहरीकरण भनेको सहरमा बसोबास गर्ने सबै पक्षको सीमान्त सुविधा बढ्ने अवस्था हो । एउटाको सुविधा खोसेर अर्काेलाई सुविधायुक्त बनाउनु सहरीकरण होइन ।

११ ठाउँमा थपिँदै आकाशेपुल

काठमाडौंमा आकाशे पुलको विकास पहिलोपटक २०४० को दशकमा भएको हो । तत्कालीन नगर विकास पञ्चायतले आकर्षकद्वारसहितको दुईवटा पुल सुन्धारा र अहिलेको विद्युत् प्राधिकरण अघि बनाएको थियो ।

साँघुरो बाटोमा बनाइएको सो पुल २०५५ सालमा केशव स्थापित मेयर हुँदा बाटो विस्तारका लागि भत्काइएको थियो । पछि उनैको पालामा रत्नपार्कमा पुल निर्माण गरिएको थियो ।

महानगरपालिकाले काठमाडौंमा आकाशे पुल थप्ने तयारी भइरहेको छ । यहीअनुरुप नयाँ बानेश्वर, चाबहिल, जयवागेश्वरी र माइतीघरमा पुल निर्माणको काम चलिरहेको छ ।

महानगरपालिकाका सहरी पूर्वाधार विकास विभाग प्रमुख राम थापा भने काठमाडौंमा आकाशे पुल निर्माण गर्नुपर्ने बाध्यता रहेको बताउँछन् ।

उनका अनुसार ट्राफिक प्रहरीको अनुरोधमा कालीमाटी चोक, सोह्रखुट्टे चोक, महाराजगञ्ज, कोटेश्वर, चाबहिल चुच्चेपाटी, मित्रपार्कलगायतका ११ ठाउँमा आकाशेपुल बनाउने योजना समेत स्वीकृत भइसकेको छ ।

काठमाडौंकै नयाँ वानेश्वरमा पनि सिमेन्टेड पिलरसहितको आकाशे पुल बन्दैछ । अहिले पिलर गाढ्ने काम चलिरहेको छ ।

के भन्छन् पूर्वाधारविज्ञ ?

पूर्वाधार विज्ञहरु काठमाडौं उपत्यकामा आकाशे पुलले सहरी सुन्दरता बिगार्ने काम मात्रै गर्ने गरेको बताउँछन् । धेरै मान्छेको भिडभाड हुने र पैदलयात्रीको संख्या पनि धेरै भएको बसपार्क, रेल्वे स्टेसनजस्ता ठाउँमा बढीजसो आकाशे पुल निर्माण गरिन्छ ।

धेरैजसो ठाउँमा ओभरहेड ब्रिजबाट गाडी वारपार गर्ने र पैदलयात्रीलाई सहजै हिँड्ने बाटो बनाउने गरेको भए पनि काठमाडौंको हकमा उल्टो रहेको बताउँछन् सहरी पूर्वाधार विज्ञ किशोर थापा ।

उनी आकाशे पुलको प्रयोग उमेरदार मान्छेको लागि मात्रै उपयुक्त हुने भन्दै यसले सर्वाङ्गिण सुविधा समेट्न नसक्ने बताउँछन् । त्यसैकारणले आकाशे पुल समावेशी सहरको सिद्धान्तविरुद्ध समेत रहेको थापाको बुझाइ छ ।

‘आकाशे पुलले एउटा वर्गलाई मात्रै सुविधा दिन सक्छ । फुटपाथ पैदलयात्रीको लागि हो, तर यही फुटपाथलाई ब्लक गरेर आकाशे पुल बनाउनु कुनै पनि कोणबाट ठीक होइन,’ थापाले अनलाइन खबरसँग भने, ‘ओभरहेड ब्रिज नै बनाए पनि गाडीको लागि बनाएर मान्छे सहजै हिँड्न सक्ने वातावरण बनाउनु पर्ने हो । काठमाडौंमा ठीक उल्टो भएको छ ।’

पैदलयात्रीको चाप बढ्ने भएकाले त्यस्ता आकाशे पुलमा झनै ठाउँ फराकिलो बनाउनुपर्नेमा अधिकांश आकाशे पुलको बाटो साँघुरो हुनु उपयुक्त नरहेको उनी बताउँछन् ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment