Comments Add Comment

उत्तरी गोरखामा पहिरोको सास्ती, सामान ढुवानी र आउजाउमा समस्या

१८ भदौ, गोरखा । केही समयअघिको अविरल वर्षका कारण उत्तरी गोरखाको विभिन्न ठाउँमा पहिरो गएको छ । बाटो अवरुद्ध भएर आउजाउमा समस्या भएको स्थानीयले बताएका छन् ।

‘ठाउँठाउँमा पहिरो गएर कतै बाटो पुरिएको छ कतै भत्किएको छ,’ चुमनुव्री गाउँपालिका-६ चुम्चेतका सेराप गुरुङले भने, ‘बाटो हिँड्नै मुस्किल छ,’ सामान ढुवानीमा समस्या भएको होटल व्यवसायीसमेत रहेका गुरुङले बताए ।

बाटो अवरुद्ध हुने गरी धार्चे गाउँपालिका-१ हुलचुकमा गएको पहिरो अझै हटाइएको छैन । गत साउन ११ गते पहिरो खसेर करिव तीन सय मिटर बाटो पुरिएको स्थानीय सानु कान्छा गुरुङ बताउँछन् । तर गाउँपालिकाले पहिरो हटाउनका लागि चासो नदिएको उनको आरोप छ ।

‘हिँड्ने बाटो सबै पुरिएको छ, माथिबाट ढुङ्गा खसिरहन्छ,’ उनले भने, ‘त्यो बाटो पार गर्दा डराउँदै दौडिनुपर्छ,’ धार्चे गाउँपालिका-१ को हुल्चुक गाउँ र चुमनुव्री गाउँपालिकाको सातवटै वडा जानका लागि उक्त बाटोको बिकल्प नरहेको उनी बताउँछन् ।

उनका अनुसार कुटो कोदालो प्रयोग गरेर स्थानीयले केही हदसम्म बाटो खुलाउने प्रयास गरेका थिए । ‘ठुलै पहिरो गएकाले हटाउन सम्भव भएन, हामीसँग त्यति धेरै रकम पनि हुने कुरा भएन । जसोतसो मान्छे र खच्चड आउजाउ गर्न मिल्ने चै बनाएका छौ,’ उनले भने ।

तर यात्राको जोखिम भने उस्तै रहेको उनको भनाइ छ । मनास्लु पदमार्गमा पर्ने उक्त क्षेत्रमा सिँढीहरु पनि मर्मत गर्नुपर्ने उनले बताए । ‘उत्तरी क्षेत्रमा यही बाटोको प्रयोग गरेर खच्चडबाट खाद्यान्न ढुवानी गर्नुपर्छ, बाटो बिगि्रएर खच्चड हिडाउन पनि सकिन्न,’ उनले भने ।

स्टेचरमा बोकेर बिरामीलाई अस्पताल लान सक्ने अवस्था सम्म नरहेको उनको भनाइ छ । बाटो मर्मतका लागि गाउँपालिकालाई गुहारे पनि बेवास्ता गरेको उनले गुनासो गरे ।

सोही बाटो आउजाउ गर्ने क्रममा केही समयअघि एकजना मजदुरको ज्यान गएको र एक स्थानीय घाइतेसमेत भएको धार्चे गाउँपालिका-१ का वडाध्यक्ष दिलीप गुरुङले बताए ।

गाउँपालिका अध्यक्षलाइ जानकारी गराउँदा मौसम सफा भएपछि हेर्न आउने आश्वासन दिएको उनी बताउँछन् ।

बाटोकै कारण खच्चडबाट सामान ढुवानी गराउन मुस्किल भएको उत्तरी गोरखाका खच्चड व्यवसायी समितिका अध्यक्ष धनकुमार गुरुङले गुनासो गरे । ‘बाटोले गर्दा खच्चडबाट सामान लान पनि गाह्रो छ,’ उनले भने, ‘बाटो गतिलो नभएर दिनमा दुई/तीनवटा खच्चड भिरबाट खसेर मर्छ ।’

हुलचुकमा पहिरोले पुरिएको बाटोमा एक महिनाको अन्तरालमा तीनवटा खच्चड खसेर मरेको उनले बताए । सामागाउँ र छेकम्पार जाने बाटोहरु पनि ठाउँठाउँमा पहिरिएको उनले जानकारी गराए ।

धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले खच्चड र मानिस आउजाउ गरिरहेकाले हुलचुकको पहिरोले कुनै समस्या नभएको भन्दै आलटाल गरे । ‘माथिबाट खस्ने ढुङ्गालाई गाउँपालिकाले रोक्न सक्ने कुरा भएन,’ उनले भने, ‘अहिले बर्खाको समय छ, फेरि पहिरिन सक्छ, दशै तिर त्यसलाई मर्मत गर्छाै ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment