Comments Add Comment

वडाध्यक्षकी आमालाई तेहोरो भत्ता !

२३, भदौ, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका– १ का वडाध्यक्ष शिवप्रसाद खनालकी आमाले तीनवटा वडाबाट अलग अलग सामाजिक सुरक्षा भत्ता बुझ्दै आएको पाइएको छ ।

७२ बर्षकी बेदमाया खनालले वडा नम्बर १, ३ र ७ बाट अलग अलग ज्येष्ठ नागरिक र एकल महिला भत्ता लिँदै आएको खुलेको हो । वडा नम्बर ३ बाट एकल महिला भत्ता र अरु दुई वडाबाट ज्येष्ठ नागरिक भत्ता लिएको पाइएको छ ।

तीनवटै वडाबाट सामाजिक सुरक्षा भत्ता बुझेको सूचीमा उल्लेखित खनालको नाम र नागरिकता नम्बर मिलेको छ । उनले मनहरीमा रहेको मुक्तिनाथ विकास बैंकको एउटा बैंक खाताबाट २४ हजार रुपैयाँ र अर्को खातामा ८ हजार रुपैयाँ बुझेको पाइएको छ ।

गत आर्थिक बर्ष २०७६/७७ को अन्तिम चौमासिक र चालु बर्ष २०७७/७८ को प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता तीनवटै वडाबाट एउटै व्यक्तिको खातामा भुक्तानी भएपछि बैंकले गाउँपालिकालाई खबर गरेपछि घटना बाहिरिएको हो ।

वडाध्यक्षको आमाले तेहोरो सामाजिक सुरक्षा भत्ता बुझेको पाइएपछि स्थानीयले गाउँपालिका कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । । ‘मनहरीका सचेत युवाहरु’ को नामबाट दिइएको उजुरीमा वडाध्यक्ष खनालले पदको दुरुपयोग गरी आमालाई तेहोरो भत्ता दिलाएको भनी कारबाही गर्न माग गरिएको छ ।

‘मनहरी गाउँपालिका वढा नम्बर १ का वडाध्यक्ष शिवप्रसाद खनालकी आमा रहनुभएकी वृद्धाले यसरी तीनवटै वडाबाट एकसाथ भत्ता लिने कुरा प्रशासनिक ढंगले मिलाउन सक्नुहुन्न भन्ने हामीले बुझेका छौं । यो काममा उनका छोरा एवं वडाध्यक्ष शिवप्रसाद खनालको भूमिका रहेको स्पष्ट बुझिन्छ’ उजुरीमा भनिएको छ ।

एकै व्यक्तिलाई फरक फरक शीर्षकमा भत्ता दिन सहयोग गरेको भन्दै वडा नं १, ३ र ७ का वडा अध्यक्ष र सचिवलाई कारवाही गर्न माग गरिएको छ ।

वडाअध्यक्ष खनालले आफूलाई फसाउनका लागि यस्तो गरिएको दावी गरे । ‘मेरो कम्जोरी नपाएपछि आमाको नाउमा फसाउन खोजिएको हो’ उनले भने, ‘मैले मेरो वडाको सिफारिस गर्ने हो अन्य वडाको सिफारिस गर्ने काम कसरी हुन्छ ।’

वडा नम्बर ७ का अध्यक्ष ठाकुर तितुङले आफ्नो वडा बाट नभई तत्कालिन हाँडीखोला गाविस—७ हुँदैमा सिफारिस भएको हुनसक्ने बताए ।

बैंकले जानकारी गराएपछि दोस्रो पटक लाभग्राहीको खातामा गएको रकम भने गाउँपालिकाले रोक्का गरेको छ । ‘पालिकाबाट पनि कमजोरी भएको छ, कसैले गलत गर्न खोजेपनि रोक्नुपर्ने, तथ्याङ्क नहुँदा समस्या भयो’ गाउँपालिकाका प्रशासकीय अधिकृत देवराज चौलागाईले भने । उनले यस्ता कमजोरी सुधार गर्दै जाने पनि बताए ।

मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले सामाजिक सुरक्षा भत्ता भुक्तानीमा देखिएको समस्या समाधान भइसकेको तर स्थानीय युवाले चासो देखाएपछि अध्ययन गर्न ३ सदस्यीय छानबिन समिति बनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment