Comments Add Comment

१३ वर्षपछि समातिए पत्रकार साहका हत्या आरोपी पटेल

२५ भदौ, वीरगञ्ज । बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न चौथो आरोपी बिहीबार पक्राउ परेका छन् । बाराको महागढीमाई नगरपालिका–२ तेलकुवाका ४५ वर्षीय हरेराम पटेललाई प्रहरीले पक्राउ गरेको हो ।

कोल्हवी नगरपालिका–४ सपही टोलबाट पटेललाई बिहीबार दिउँसो साढे २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

पत्रकार साहको हत्या आरोपमा  यसअघि तीन जना पक्राउ परिसकेका थिए । ‘चौथो अभियुक्त हरेरराम पटेललाई पनि पक्राउ गर्न सफल भएका छौं । आवश्यक कारबाहीका लागि अदालत पठाउँछौं’ पंगेनीले भने ।

१८ असोज २०६४ मा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताको अपहरणमा परेका पत्रकार वीरेन्द्र साहको डुमरवानास्थित जंगलमा खाल्डो खनेर गाडेको अवस्थामा शव भेटिएको थियो ।

पत्रकार साहलाई हरेराम पटेल, कुन्दन फौजदार भन्ने नरेन्द्रकुमार फौजदार, राम एकवाल सहनी र मनेजर गिरी समेतका ५ जनाले अपरहण गरी हत्या गरेको आरोप लागेको थियो । उनीहरुले गोली प्रहार गरेर हत्या गरेपछि पत्रकार साहको शव जंगलमा खाल्डो खनेर गाडेको प्रहरीको निश्कर्ष थियो ।

पक्राउ परेकालाई के कारबाही भयो ?

पत्रकार साहको हत्याको आरोपमा तत्कालिन इनर्वासिरा गाविस–९ का मनेजर गिरीलाई २०६५ असोज १९ गते र बाराकै खोपवा गाविस–८ बस्ने राम एकवाल सहनीलाई २०६५ पुस २१ गते पक्राउ परेका थिए । उनीहरु दुवै जनालाई अदालतले जन्मकैदको फैसला सुनाइसकेको छ ।

त्यस्तै साविकको बारा गडहल–५ बस्ने कुन्दन फौजदार भन्ने नरेन्द्र फौजदार २०७६ फागुन २५ गते पक्राउ परी हाल पूर्पक्षका लागि कारागार चलान गरिएको छ ।

यो पनि पढ्नुहोस पत्रकार वीरेन्द्र साह हत्या प्रकरण : १२ वर्षपछि खोलो फर्कियो

बारा जिल्ला अदालतको २०६८ जेठ १६, पुनरावेदन अदालत हेटौंडाको २०६९ साउन १६ र सर्वोच्च अदालतको २०७३ पुस २० गतेको फैसला आदेशले अभियुक्त हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मीको हकमा फरार करार गरी मुद्दा मुल्तबीमा राखिएको थियो ।

तर बारा प्रहरीले बिहीबार लुकीछिपी बसेको छ भन्ने सूचनाको आधारमा पक्राउ गरेको छ । आवश्यक प्रक्रिया पुर्‍याई बारा जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ । साहको हत्याका आरोपी लालबहादुर चौधरी धामी अझै पक्राउ परेका छैनन् ।

त्यसबेला साह एभिन्यूज टेलिभिजन, दृष्टि साप्ताहिक र नेपाल एफएममा आवद्ध थिए । उनी तत्कालिन नेकपा (एमाले) निकटका पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत थिए ।

नेपाल पत्रकार महासंघले घटनाबारे अध्ययन गर्न गठन गरेको टोलीले ०६४ साल २३ असोजमा काठमाडौंमा पत्रकार सम्मेलन गरेर साहको अपहरण तत्कालिन नेकपा (माओवादी) ले गरेको निश्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment